coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उखु उत्पादनमा कमी

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ किसान आकर्षित भएपछि उत्पादनमा कमी आएको हो ।

पाँच वर्ष अघिसम्म वार्षिक रूपमा ३० लाख क्वीन्टल उखु उत्पादन हुने  पश्चिम नवलपरासीमा क्रमशः उत्पादनमा कमी हुँदै आएको हो । गत वर्ष करिब २० लाख क्वीन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यो वर्ष १५ लाख क्वीन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक समितिले जनाएको छ । नवलपरासी पश्चिममा चार वटा चिनी उद्योग छन् । तीमध्ये मोहिनी सुगर मिलबाहेक अन्य सबै सञ्चालनमा छन् । सञ्चालनमा रहेका लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग र इन्दिरा चिनी मिलका लागि आवश्यक पर्ने उखु यो अत्यन्त कम हो ।

समयमै उखुको उचित मूल्य निर्धारण नहुनु र चिनी उद्योगलाई सस्तो मूल्यमा उधारो उखु दिन बाध्य भएपछि किसान उखु खेती छाडी अन्य पेशातर्फ आकर्षित बन्न बाध्य भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । किसानले उखु खेतीमा गरेको लगानीअनुसार आम्दानी हुन नसकेको भन्दै पछिल्लो समयमा किसान तरकारी खेतीलगायत अन्य पेशातर्फ आकर्षित हुन थालेका छन् । उखुको मौसम कात्तिकबाट शुरु भई चैत महिनामा सकिने गरिन्छ ।

जिल्लाको कुल उखु खेती योग्य क्षेत्रफलमध्ये सात हजार १४९ हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आएको छ । तीमध्ये ६८ प्रतिशत समतलमा तथा ३२ प्रतिशत पाखो खेतमा उखु उत्पादन गरिँदै आएको छ ।

जिल्लाको परासी र नवलपुर क्षेत्रका अधिकांश स्थानमा उखु खेती गरिन्छ । नवलपुर क्षेत्रका कोल्हुवा, प्रसौनी, नारायणी तथा परासी क्षेत्रका बैदौली, भुजहवा, देवगाउँ, ठूलोखरेटवा, गुठीप्रसौनी, कुडिया, प्रतापुर, माकर, सुनबल, मनरी, सनई, गेरमी, पाल्ही, प्रतापुर, सराबल, बंजरीया, सुक्रौली, सनई, स्वाठी, बन्जरीया, त्रिवेणी सुस्ता, नर्सही र रामग्राम लगायत क्षेत्रमा उखु खेती गरिँदै आएको हो ।

जिल्लामा उखु उत्पादनका लागि सबैभन्दा उपयुक्त जग्गा २४ हजार बिगाहा रहेको छ भने समग्रमा ५५ हजार बिगाहा क्षेत्रफलमा उखु खेती गर्दै आएको छ ।

 

प्रकाशित: २३ पुस २०७४ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App