coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुन्तला उत्पादन २० प्रतिशतले घट्यो

खोटाङ – खोटाङमा २० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष ०७३÷७४ मा आठ हजार दुई सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर सात हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादनशील क्षेत्र घटेको, फुलेको समयमा बढी हावाहुरी चलेको र चिचिला अवस्थामा असिना पानीले क्षती पु¥याएका कारण यस वर्ष सुन्तला उत्पादनमा कमी आएको कृषि विकास कार्यालयका बागवानी अधिकृत कौशलकुमार यादवले बताए ।

गत वर्ष एक हजार एक सय ६० हेक्टरमा सुन्तला लगाइएकोमा सात सय ५० हेक्टर उत्पादनशील क्षेत्रमा आठ हजार दुई सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष एक हजार १५ हेक्टर जग्गामध्ये ६ सय १५ हेक्टर उत्पादनशील क्षेत्रबाट सात हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । गत वर्ष १४ प्रतिशतले सुन्तला उत्पादन भएपनि यस वर्ष २० प्रतिशतले घटेको हो । ‘सुन्तलाका लागि मौसम प्रतिकूल बन्यो,’ अधिकृत यादवले भने, ‘अर्कातर्फ उत्पादनशील क्षेत्र पनि घटेका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।’

सुन्तला उत्पादनमा कमी आएका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानी लगायत हाटबजारमा अपेक्षाभन्दा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् । याम्खा, टेम्मा, चिसापानीको भोर्ले लगायत कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सीधै ठेकेदारमार्फत तराईतिर निर्यात भएको स्थानीयको भनाइ छ । फागुन, चैतसम्म रहने सुन्तलाको बोट अहिल्यै रित्तिसकेका छन् ।

दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानी लगायत बजारमा अहिले प्रतिदाना पाँच रुपैयाँ तथा प्रतिकेजी कम्तीमा सयको हाराहारीमा सुन्तला खरिद बिक्री भइरहेको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी उदयपुरको बेल्टार हुँदै इटहरी, धरान, विराटनगर लगायत तराईका विभिन्न सहरमा पुग्ने गरेको छ । जिल्लामा उत्पादित सुन्तलामध्ये ४५ प्रतिशत मात्र बजारसम्म पुग्ने गरेको कृषि कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित: २३ पुस २०७४ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App