coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जैतुन जोगाउन सरकार उदासीन

संरक्षण अभावमा रहेको कोल्टीस्थित जैतुन खेती क्षेत्र ।

बाजुरा – कोल्टीलाई जैतुन विकास जोनका रुपमा विकास गर्ने भनिएपनि नारामा सीमित बनाउन खोजिएको छ । आएको रकम कर्मचारी अनुकूलका कार्यक्रम बनाएर बिल भरपाई मिलाउने बाहेक कुनै उपलब्धि नदेखिएकोमा गुनासो बढ्न थालेको छ ।

कोल्टीमा नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग फलफूल विकास निर्देशनालय एवं इटाली सरकार तथा इटालीको तुसिया विश्वविद्यालयको संयुक्त सहकार्यमा जैतुन प्रवद्र्धनका लागि लगानी हुँदै आएको छ । दुई वर्षदेखि जैतुन जोन कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जैतुन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ ।
जैतुनको सफल परीक्षण र प्रशोधन केन्द्र जिल्लामा स्थापना गरिएपनि त्यसको निरन्तरता र दिगोपनाका लागि राज्यले बेवास्ता गरेको छ । कोल्टीस्थित जनप्रकाश माविमा रहेको जैतुन नर्सरीको सफल परीक्षण भई सन् २०१४ देखि परियोजना सकिएको छ ।

सन् २००६ देखि नेपालमा जैतुन उत्पादन एवं उपभोग प्रवद्र्धन आयोजना सञ्चालन गरिएको थियो । तर त्यसको संरक्षण र प्रवद्र्धनमा राज्य मौन छ । विद्यालय परिसरभित्र आठ सयभन्दा बढी फल दिने बोट छन् भने आठ हजारभन्दा बढी जैतुन नर्सरीका बोट छन् । पानी अभावमा दैनिकजसो बोट नष्ट हुन लाग्दा पनि राज्य मौन बसेको जैतुन अभियान्ता जनेश भण्डारीले बताए ।

नर्सरीभित्र उत्पादन गरेका आठ हजार बिरुवा खरिद नगरी भारतको राजस्थानबाट १७ हजार बोट खरिद गरेर करोडौं रकम विदेश पठाएको भण्डारीको आरोप छ । सरकारले उन्नत जातको जैतुन भन्दै करिब तीन करोड बढी मूल्यमा १७ हजार एक बोट भारतको राजस्थानबाट खरिद गरेर ल्याएको छ ।

खरिद गरिएका मध्ये पनि सरकारले सिफारिस नै नगरिएका फ्रान्टाइयो, पिकुयल, पिकुलाइन, कोरोनेयिकी, बार्निय र कोराटिना जातका कटिङबाट उत्पादित बोट छन् । जो जिल्लाको हावापानी र मौसम अनुकूल नभएको जैतुनबारे जानकार भण्डारीले बताए ।

स्थानीय जातको बोटबाट उत्पादनको मात्रा घट्ने प्राविधिक सल्लाह अनुसार नै भारतबाट जैतुनका बोट ल्याई जैतुन प्रवद्र्धन कार्यक्रम सुदूर र मध्य पश्चिमका जिल्लामा वितरण गरिएको कृषि मन्त्रालय फलफूल विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत केशवराज काफ्लेले बताए ।

जैतुन प्रवद्र्धन कार्यक्रमका लागि यो वर्ष मात्र दुई करोड २० लाख रुपैयाँभन्दा बढी रकम आएको छ । तर उपसचिव तहको कर्मचारी सहितको व्यवस्था भएपनि नायब सुब्बा प्रेम गिरीले कार्यालय सञ्चालन गरिरहेका छन् । कार्यक्रम कागजमा मात्र हुने गरेको आरोप स्थानीयको छ । प्राप्त रकम पनि कार्यालय समान खरिददेखि भ्रमण र तालिममा बढी रकम छुट्याइएको छ ।

गत वर्ष कार्यालय भवन निर्माणका लागि आएको ८० लाख रुपैयाँ फिर्ता गएको थियो भने लाखौंको बजेट बिल मिलाएर खाएको गुनासो छ । आफू अनुकूलका कार्यक्रम गर्ने र पैसा मात्र खर्च गर्ने गरेको स्थानीयको आरोप छ । तर यो आरोप गलत भएको फलफूल विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत काफ्लेको भनाइ छ ।
‘कर्मचारी दरबन्दी कमीले काम गर्न नसकिएको हो । भवन निर्माणका लागि गएको जेठमा अख्तियारी आएकाले एकै महिनामा काम गर्न नसकेर रकम फिर्ता गएको हो, भवन यो वर्ष निर्माण हुन्छ, अरु विषय आरोप मात्र हो,’ काफ्लेले भने ।

जैतुन जोनको कार्यक्रमबारे पनि सरोकारवाला बेखबर जस्तै छन् । १० वर्ष वृहत योजनासहित जैतुन उत्पादनको सम्भावना बोकेका १० वटा जिल्लाकै जोनका रुपमा कोल्टीलाई विकास गर्ने भनिएको थियो । सुरुका दुई वर्षको गतिविधिले निराशा देखाएको छ ।

निर्माण गरिएका नर्सरी संरक्षण नगरी नयाँ योजना र समूह बनाएर काम गर्ने गरिएको छ । जैतुन सहकारीका लागि आएको आधा करोड रकम पनि अलपत्र अवस्थामा रहेको पाइएको छ । जैतुन विश्वकै महँगो र दुर्लभ तेल उत्पादन हुने वृक्षमा पर्दछ ।

परीक्षणबाटै जैतुनको व्यापक सम्भावनाको जिल्लाका रुपमा बाजुरालाई सिफारिस गरिएको छ । सोही अनुरुप करोडौंका परियोजना जिल्लामा आउने गरेका छन् । तर ती सबै कर्मचारीलाई फाइदा पुग्ने र कागज मिलाउन सजिलो हुने कार्यक्रममा खर्च हुने गरेको पाइएको छ ।

भविष्यमा करोडौंको आम्दानी गर्न सकिने र जैतुनको जिल्लाका रुपमा विकास गर्न राज्यको लगानीले सहयोग पुग्ने विश्वास गरिएपनि अपेक्षा अनुसार काम हुन नसकेको उद्योग वाणिज्य संघका महासचिव तुलाबहादुर रोकायाले बताए । कोल्टी क्षेत्रको अधिकांश भू–भाग जंगली जैतुनले ढोकेको छ । हाल कोल्टीको अनुसन्धान केन्द्रमा रहेका जैतुनका करिब आठ हजार नर्सरी बिरुवा र सात सयको अनुसन्धान बगैंचा  सिँचाइ, मल तथा संरक्षण अभावमा मरेर जाने अवस्थामा पुगेका छन् । जनप्रकाश माविले पनि आवश्यक स्रोत र जनशक्ति अभावमा संरक्षण गर्न नसकिने बताएको छ ।



 

प्रकाशित: २३ पुस २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App