६ वैशाख २०८१ बिहीबार
समाज

शीतलहरले जनजीवन प्रभावित

रौतहट- शीतलहरीले जनजीवन प्रभावित भएसँगै अस्पतालमा विरामीको संख्यामा पनि वृद्धि भएको छ। अत्यधिक जाडोले विपन्न वर्गलाई समस्यामा पारेको देखिएको छ।

करिब दुई हप्तादेखि लगातार जाडो बढेपछि जिल्ला अस्पताल गौरमा चिसोको कारण हुने रोगको प्रकोपसँग सम्बन्धित समस्या लिएर पुग्नेको संख्यामा वृद्धि भएको छ। जिल्ला अस्पताल गौरका डा. कृष्ण साहका अनुसार दैनिक चालिसदेखि पचासजना चिसोका बिरामी अस्पताल पुग्ने गरेका छन्।

चिसोबाट वृद्ध, बालबालिका, सुत्केरी तथा अन्य रोगी मानिस बढी प्रभावित भएको देखिएको छ। गरिब र दलित समुदायका मानिसहरुलाई चिसोले अत्यधिक प्रभावित पारेको देखिएको छ। चिसोले दम, खोकी, निमोनियाका रोगीको संख्या बढेको बताउँदै डा. साहले मुटु रोगीलाई पनि बढी समस्यामा पुर्‍याउने बताउँछन् । कोल्ड डाइरियाको रोगी पनि पछिल्लो समयमा अस्पताल आउन थालेको डा. साहको भनाइ छ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, घरबाट अनावश्यक रुपमा ननिस्किने तथा तातो झोल पदार्थ बढी मात्रामा खानुपर्ने सल्लाह दिँदै सकेसम्म आगो नजिक बस्ने र सम्वातन भएको कोठामा हिटर बालेर बस्ने जस्ता सावधानी अपनाउन सकिने बताउँछन्।

अत्यधिक चिसोले जिल्लाको १६ नगरपालिका र २ गाउँपालिका तथा अन्य सरकारी कार्यालयमा सेवाग्राहीको संख्यामा व्यापक कमी आएको देखिएको छ। सेवाग्राहीको संख्या न्युन भएको र अत्यधिक जाडो बढेपछि कतिपय कर्मचारी कार्यालय परिसरमै आगो तापेर बस्न बाध्य भएको पनि देखिएको छ।

जाडो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या पर्न थालेपछि व्यापार व्यवसाय पनि मन्द भएको व्यावसायीहरु बताउँछन्। दिनभर चिसो पश्चिमा वायु चल्ने र बाक्लो हुस्सु लागेको कारण व्यापारमा निकै नकारात्मक असर परेको गौरका फौरन गुड्स व्यावसायी रन्जित जैसवालको भनाइ छ । निकै भीडभाड हुने बजारमा मानिसको चहलपहल साह्रै कम भएको जयसवाल बताउँछन्।

चिसोले पशुपक्षीलाई पनि समस्यामा पारेको छ । अत्यधिक जाडोले कतिपय पशु पन्छी मर्न थालेका छन्। दुई दिन पहिले मृगको बच्चा जाडोले मरेको अवस्थामा चन्द्रपुरमा भेटिएको थियो । यसैगरी जाडोको कारण न्यानो खोज्दै गाउँतिर पुगेको नीलगाईलाई स्थानीयले चार दिन पहिले गरुडा नगरपालिकाको जिंगडियामा समातेर हत्या गरेका थिए।

चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाका सबै स्थानीय तहको मातहतमा रहेका बजार, बसपार्क, सरकारी कार्यालय र अन्य सम्बन्धित निकायले वन कार्यालयबाट सहुलियत दरमा दाउरा बाल्न आग्रह गरेको बताएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App