coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

आवास अनुदान निकासाका लागि दिक्तेलस्थित सालपा विकास बैंक अगाडि पालो कुरिहेका भूकम्प पीडित। तस्बिर: दमन राई

खोटाङ– विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित भएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिनबाट समेत बञ्चित भएका हुन्। बिदेशमा रहेका घरमुलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि बिदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकालका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्ने लगायतका समस्याका कारण भूकम्प पीडित परिवारले हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता पाउन सकेका छैनन्।

कुल लाभग्राहीमध्ये हालसम्म ८ हजार ६२ घर परिवारलाई प्रतिपरिवार ५० हजारका दरले ४० करोड ३१ लाख आवास अनुदान वितरण गरिसकिएको भए पनि विभिन्न प्राविधि समस्याका कारण बाँकी लाभग्राहीलाई अनुदान वितरण गर्न नसकिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङले बताए। ‘लाभग्राही बिदेशमा रहेको, मृत्यु भएको र अशक्त भएको अवस्थामा निजको नजिकको हकदारले रकम पाउने व्यवस्थाको लागि स्पष्ट निती छैन,’ मंगलबार जिससको हलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक चामलीङले भने, ‘लाभग्राही बाबुआमा र नजिकको हकदार नभएको अवस्थामा उसका नावालकलाई भुक्तानी दिन सकिने/नसकिने स्पष्ट नहुँदा पनि कतिपय लाभग्राहीले अनुदान पाउन सकेको छैन।’

महाभूकम्प गएको दुई वर्षपछि खोटाङमा जेठ १९ गतेदेखि भूकम्पीय आवास पुनर्निर्माणका लागि आवास अनुदान वितरण सुरु गरिएको हो। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणसँग भएको अनुदान सम्झौता अनुशार सम्झौतामा नाम उल्लेख भएका व्यक्तीको नाममा बैंकमा रकम जम्मा हुन्छ र आवश्यक कागजात सहित सम्बन्धित व्यक्ती आए मात्र रकम निकाल्न मिल्ने व्यवस्था छ। तर, आवास अनुदान सम्झौतामा नाम उल्लेख भएका सम्बन्धित व्यक्ती आए मात्र बैंकले निकासा दिने भएकाले कतिपय परिवारलाई आवास अनुदान उपलव्ध गराउन अप्ठ्यारो परिरहेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजन बिसीले बताए। ‘जसको नाममा आवास अनुदान सम्झौता गरिएको छ, रकम लिन उही व्यक्ति आउनु पर्ने हुन्छ,’ समन्वय अधिकारी बिसीले भने, ‘सम्झौता पछि विदेश गएका, विदेशमा रहेकै घरमुलीको नाममा सम्झौता गरिएका लाभग्राहीलाई आवास अनुदान पाउन अप्ठ्यारो परिरहेको छ।’

कतिपय सम्झौतामा नाम उल्लेख भएका भूकम्प पीडित बृद्धबृद्धावस्थाका कारण बैंकसम्म आउन नसक्ने अवस्थाका छन्। त्यस्ता अशक्त भूकम्प पीडितलाई समेत आवास अनुदान लिन सकस परिरहेको पाइएको छ। आवास अनुदान निकाल्नका लागि सम्वन्धित व्यक्ती नै चाहिने विषयमा पुर्वजानकारी अभावमा विदेशमा रहेका श्रीमानको नाममा सम्झौता गर्दा अनुदान झिक्न झन्झट बेहोर्नु परेको खार्मीकी भूकम्प पीडित कृष्णकुमारीले बताईन्। सम्वन्धित व्यक्ति नहुँदा आवास अनुदान पाउन समस्या झेलीरहेका कतिपय भूकम्प पीडितलाई वडा कार्यालय र जिल्ला समन्वय समितिको सिफारिसमा प्राधिकरणबाट परिवारकै सदस्यको नाममा सम्झौता नामसारी गरेर अनुदान दिलाउने प्रकृया थालिए पनि प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ।

सम्झौताका कारण अनुदान पाउन नसकेका भूकम्प पीडितको नामावली सच्याउनका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताए। ‘वडा कार्यालयको सिफारिसमा जिल्ला समन्वय समितिकातर्फबाट सम्झौता संशोधन गर्न पठाइसकेका छौँ,’ आचार्यले भने, ‘प्राधिकरणबाट सच्चिएर आएपछि त्यस्ता परिवारले अनुदान पाउँछ ।’ भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये खोटाङमा सवैभन्दा बढि आवास अनुदान वितरण भएको दाबी गरिएको छ।

लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डिपिसिको काम सकिएपछि दोश्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७ ५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने जनाइएको छ। भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो । आवास अनुदान वितरणपछि आवास निर्माण सुरु भए/नभएको विषयमा अनुगमनका लागि रकम विनियोजन नभएका कारण पनि अनुगमनपक्ष फितलो भएको जिल्ला समन्वय समितिले जनाएको छ। प्राधिकरणबाट इन्जिनियर नआउँदा समेत आवास निर्माणका काम प्रभावित भएको चामलीङले बताए।

 

 

प्रकाशित: २२ पुस २०७४ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App