८ वैशाख २०८१ शनिबार
समाज

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को  मृत्यु

जाजरकोट – गत एक सातादेखि जाजरकाेटको विकट गाउँमा फैलिएको रुघाखोकी र भइरल ज्वरोका कारण ५ बालबालिकासहित  ९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा ५ बालबालिका र  ४ जना अन्य रहेको  स्वास्थ्य चौकी बड्कुले मजकोटका  इन्चार्ज  हरिबहादुर सिंहले बताए । मृत्यु हुने मध्य केही  दीर्घरोगी रहेको र उनीहरूको  रुघा खोकी र भाइरल ज्वरोले केही दिन थलिएर ज्यान गएको इन्चार्ज सिंहले बताए ।

इन्चार्ज सिंहका अनुसार जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया  धनसरा नाथ, आइती दिरुवा र ७५ वर्षीय सतरुप शाही, वडा नम्वर २ स्यालाका ५२ वर्षीय करसिंह टमाटा र अन्य नाम नखुलेका ५ बालबालिकाको ज्यान गएको छ । टमाटाको पुस १० गते, नाथको १९ गते, शाहीको पुस १५ गते ज्यान गएको  सिंहले बताए । शनिबार आफूले गाउँमै  छुट्टै  शिविर चलाएर  डेढ सय बिरामीहरूको उपचार गरेको उनले बताए।

इन्चार्ज सिंहले स्वाथ्यचौकी बड्कुलेमा दैनिक रुपमा ६० भन्दा बढी बिरामीहरू आउने गरेको र अहिले सो संख्या बढ्दै गएको बताए । रोग प्रभावित क्षेत्रमा पुगेका जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन कृष्णबहादुर खत्रीले गाउँमा मृत्यु भएका भनिएकाहरूको मृत्युको कारण खोजी भइरहेको बताए । उनीहरु कुन कारणले मरेका हुन पत्ता लाग्न बाँकी रहेको खत्रीले बताए । भौगोलिक विकटताका कारण  रोग प्रभावित क्षेत्रमा पुग्न  समय लागेको र आइतबारसम्म सबै मृतकका घरमा पुगेर मृत्युको कारण पत्ता लगाउने  खत्रीले बताए।  

गाउँमा भइरलका बिरामीहरू दिनदिनै बढ्दै गएको स्थानीय काशीराम न्यौपानेले बताए।  उनका अनुसार जुनीचाँदे गाँउपालिका वडा नं १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ का मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल प्रकोपको रुपमा देखा परेको छ । न्यौपानेले सबै भन्दा बढी भाइरलको प्रकोप जुनीचाँदे गाउँपालिका वडा नम्वर २ मजकोटमा परेको र  एउटै घरका ४ जना सम्म बिरामी भएको बताए।

घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका लक्षण विरामीहरूमा देखिएको स्थानीयवासीको भनाइ छ । प्रकोप जुनीचाँदेका छिमेकी गाउँहरू छेडागाड, टिकाचौर, लगायतका स्थानमा पनि देखिन थालेको  बताइएको छ । भाइरल ज्वरोको प्रभाव रहेको क्षेत्रमा ल्याब टेक्निसियनको टोली  पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए।

उनले रोग पहिचानका लागि कार्यालयका ल्याव टेक्निसियन कृष्णब्हादुर खत्रीको टोली प्रभावित क्षेत्रमा पठाइएको  बताए । प्रमुख नेपालीले  भाइरल ज्वरो फैलिएको क्षेत्रमा  एच १ एन १ हो कि भनेर जाँच्नका लागि टेष्ट किड पठाएको बताए। महामारीको  रुप लिन नदिन आफूहरूले निकै सतर्कता अपनाएको  प्रमुख नेपालीले बताए। 

प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली रोग प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । प्रभावित क्षेत्रमा  औषधीको अभाव हुन नदिन शुक्रवार एक ट्याक्टर औषधी समेत पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताए। 

प्रकाशित: २२ पुस २०७४ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App