coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अत्याधिक चिसोले कठ्याङ्ग्रिदै महोत्तरीवासी

चिसो छल्न आगो तापेर दिन बिताउँदै स्थानीय । तस्बिर : महेशकुमार दास

महोत्तरी – एक्कासी अत्याधिक चिसो बढेपछि महोत्तरीका शहरी तथा ग्रामीण क्षेत्रका सर्वसाधारण कठ्याङ्ग्रिदै जीवनयापन गर्न बाध्य छन्। 

चिसो बढेसंगै आर्थिकरुपमा विपिन्न समुदायका सर्वसाधारणहरू यसपालिको जाडोमा कसरी ज्यान जोगाउने उपाय सोच्दै गम्भीर देखिएका छन्। हुनेखानेहरू चिसो छल्न विभिन्न उपाय अपनाउन सक्ने भएपनि गरिव र विपन्न समुदायका सर्वसाधारणलाई भने बिजोग छ।
 
चिसोबाट प्रभावित समुदायलाई जोगाउन सरकारी तथा सरोकारवालाहरूको उदासिन्ताका कारण वर्षेनी उनीहरू कष्टकर जीवन यापन गर्न बाध्य रहँदै आएको र यस वर्ष पनि उस्तै समस्या खेप्न बाध्य भएको स्थानीयहरू बताउँछन्। 

चिसो बढेपछि सर्वसाधारणहरू चिसोबाट बच्न पूर्व तयारी समेत गर्न नसक्दा सर्वसाधारणलाई यसपालि चिसोले बढी सताएको जलेश्वर नगरपालिका ४ का स्थानीयहरू मेराज अंसारीले बताए।
 
एकाविहानैदेखि लाग्ने बाक्लो हुस्सुले दिउँसै पनि सडकमा भिजिबिलिट कम हुँदा सडकमा मोटरसाइकल , ठेलागाडा, बैलगाडी, तिन पांग्रे रिक्सा लगायतका यातायातको साधन सञ्चालनमा समेत कठिनाई हुन थालेको  चालकहरू बताउँछन।
 
दिनभरी रिक्सा र ठेला ठेलेर दैनिकी गुजार्दै आएका र मजदुरहरूलाई चिसोले रोजगारीमा समेत प्रभाव पारेपछि खान लाउन समेत धौ धौ पर्न थालेको हो । रिक्सा ठेला ठेलेर नै जिविकोपाजर्न गर्दै आएका मजदुर र दैनिक ज्यालादारीमा कामगर्ने कामदारहरूलाई चिसोले अलिक बढी नै सताउन थालेको उनीहरूले बताएको छ ।
  
चिसो बढेपछि यात्रुहरू नआउँदा दिनभरी रित्तै रिक्सा लिएर चिसोको कहर झेल्दै चोकमा बस्नु पर्ने र साँझपख रित्तो हात घर फर्कनु पर्दा हातमुख जोड्न पनि समस्या हुन थालेको जलेश्वर २ का रिक्सा चालक जिरेखन पासवानले बताए। उता दैनिक ज्यालादारीमा काम गर्नेहरूको पनि दशा उस्तै छ । चिसो बढेपछि दैनिक ज्यलादारमा काम लगाउनेहरू कमै मात्र आउने भएपछि काम पाउन पनि गाह्रो हुन थालेको जलेश्वर ४ घर भएका दैनिक ज्यालादारीमा काम गर्ने कामदार कल्पी पासवानले बताए।   
 
यता एक्कासी चिसो बढ्दा स्कुले बालबालिकाको स्वास्थ्य समेत प्रभावित हुन थाले पछि उनीहरू विद्यालय आउन छाडेका छन। बजारमा चहलपहलमा समेत कमी आएको छ। सरकारी कार्यालयहरूमा पनि सेवाग्राहीहरूको उपस्थिति न्यून देखिएको छ।
 
चिसोको कारण जिल्ला अस्पताल जलेश्वरमा निमोनिया , कोल्डडायरिया , रुघाखोकीका विरामीहरूको चाप बढेको अस्पतालले जनाएको छ।

चिसोको कारण हुने रोगका विरामीहरु दैनिक २५ देखि ३० जना सम्म उपचारका लागि जलेश्वर अस्पतालमा आउन थालेको चिकित्सकहरुले बताएको छ।   

यसैबीच चिसोले कठंयाग्रिएर महोत्तरीमा एक जनाको मृत्यु भएको परिवारजनले बताए पनि उनीहरुको मृत्यु चिसोकै कारणले भएको आधिकारी जानकारी भने आउन सकेको छैन।

 

प्रकाशित: २२ पुस २०७४ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App