coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनकुटामा आमहड्ताल

धनकुटा- प्रदेश नम्बर १ को राजधानी धनकुटा तोक्नुपर्ने माग राखेर सुरु गरिएको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको छ । संघर्ष समितिले शुक्रबारदेखि आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । समितिको बैठकले २४ घण्टा आमहड्ताल गर्ने निर्णय गरेको छ । यसअघि दिनभर आमहड्ताल भए पनि राति गाडी चल्दै आएका थिए ।

संघर्ष समितिको बैठकले धनकुटाका सातवटै स्थानीय तहका कार्यालय, सरकारी कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था, सामाजिक संघसंस्था  र बजार बन्द गर्ने निर्णय पनि गरेको छ । नवनिर्वाचित सांसद निरन राईको अध्यक्षतामा बसेको बैठकले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको समितिका प्रवक्ता नगेन्द्र राईले बताए ।

आन्दोलन रोक्ने वा थप सशक्त पार्ने विषयमा संघर्ष समितिले शुक्रबार जिल्लामा सर्वपक्षीय छलफल गरेको थियो । विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज र व्यापारीसँग छलफलमा आन्दोलनलाई अझै सशक्त बनाउने सुझाव आएको थियो । 

पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको कार्यशैलीका कारण आन्दोलनकारी आक्रोशित बनेका छन् । प्रशासक सिंहले प्रादेशिक राजधानीका लागि धनकुटामा भौतिक पूर्वाधार कमजोर रहेको सिफारिस गरेको आरोप जिल्लावासीको छ । क्षेत्रीय प्रशासक सिंहको कार्यशैलीविरुद्ध आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र राईको नेतृत्वमा गएका आन्दोलनकारीले कार्यालयका उपप्रशासक सेवन्त दाहाललगायत कर्मचारीलाई बाहिर निकालेर कार्यालय प्रवेशद्वारमा ताला लगाएका हुन् ।

प्रकाशित: २२ पुस २०७४ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App