८ वैशाख २०८१ शनिबार
राजनीति

दिपायलमा जनस्तरबाट राजधानी घोषणा

डोटी- ७ नम्बर प्रदेशको राजधानी डोटीको दिपायललाई तोक्न माग राखेर आन्दोलन चर्किएको छ । बुधबारदेखि आन्दोलन जारी छ । बजार तथा सरकारी कार्यालय, गैरसरकारी संघसंस्था सबै बन्द छन् ।
सुदूर पहाडलाई तराईसँग जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरमा अनिश्चितकालीन चक्काजाम आह्वान गरिएपछि पहाड–तराईको सडक सम्पर्क बिच्छेद बनेको छ । यस्तै दिपायलमा भइरहेको अवरोधले बाजुरा र अछामसँगको सडक सम्पर्क बिच्छेद छ । प्रहरी, एम्बुलेन्स, प्रेस, अन्तर्राष्ट्रिय नियोगका गाडी भने चल्न दिइएको छ ।
आन्दोलनकारीले दिपायलस्थित सरकारी भवनहरूमा प्रदेश मन्त्रालयका बोर्ड टाँसेका छन् । क्षेत्रीय प्रशासन कार्यालय दिपायलले सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको प्रस्तावित ढाँचा अनुसार आन्दोलनकारीले मन्त्रालयका बोर्ड टाँसेका हुन् । ‘सरकारले दिपायल राजधानी घोषणा गर्न ढिलाइ गर्न थालेपछि हामीले आफैं सडकबाट राजधानी तोकेका छौं,’ संघर्ष समितिका संयोजक रहेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने, ‘प्रदेशमा बस्ने मन्त्रालय, संसद् सचिवालय, प्रदेश प्रमुखको कार्यालयसमेत तोकेर बोर्ड पनि टाँसेका हौं ।’
सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले एक महिनाअघि दिपायलमा रहेका भौतिक संरचनाको अध्ययन गरेर प्रदेश सरकारका संरचना बस्न सक्ने भवनको ढाँचा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो ।
आन्दोलनकारीले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश संसद् सचिवालय, क्षेत्रीय प्रशासन कार्यालयमा गृह मन्त्रालय, क्षेत्रीय हुलाक निर्देशनालयमा प्रदेश प्रमुखको कार्यालय, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयमा अर्थ मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालयमा वन विज्ञान तथा वातावरण मन्त्रालयका बोर्ड टाँसेका छन् ।

प्रकाशित: २२ पुस २०७४ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App