संस्मरण:

ओखलढुंगा डाँडो र म

शनिबार, २२ पुष २०७४, ०७ : २० नागरिक

जीवनाथ धमला

बाल्य उत्सुकताले ज्ञान, चेतना र अनुभवको आधारशिला निर्माण गर्दा रहेछन् । ती जीवनका प्रथम सूत्राधार रहेछन् । कम्ती रमाइलो लागेको थिएन, पहिलोपटक हाट जाँदा ! आफ्नो गाउँ, बेतिनीबाट म आमासँग ओखलढुंगा बजार गएको थिएँ । शनिबार ओखलढुंगा बजारको माथ्लापट्टि हाट लाग्ने गथ्र्यो, जहाँ अहिले पनि उसरी नै लाग्ने गर्छ । ५–६ वर्षको थिएँ म, मधुरा सम्झना छन् । किनमेल, सुक्रिबिक्रीपछि चिया पसलमा गएर खाएको चिया कति मीठो लागेको थियो । जाँदाजाँदै बजारका ठुल्ठूला घर, पसल, मान्छेको चहलपहल अनि हाट लाग्ने ठाउँमा पुगेपछि त झन् कति धेरै मान्छे ! रमाइलो लाग्नुको सीमा थिएन । क्रमशः म ओखलढुंगाको हाटबजारसँग परिचित हुँदै गएँ ।

गाउँको स्कुलबाट ५ कक्षा पास गरेपछि हाई स्कुल पढ्न बुवाले हुलाक डाँडाको सिरानमा रहेको सगरमाथा पब्लिक हाई स्कुलमा ६ कक्षामा भर्ना गरिदिनुभो । केही समयपछि स्कुलको नाम सगरमाथा जनता माध्यमिक विद्यालय रहन गयो । ०२८ सालदेखि नयाँ शिक्षा योजना लागू भएकाले ६ देखि १० सम्म पढाइ हुने स्कुललाई माध्यमिक विद्यालय भन्न थालियो । त्यसो त माध्यमिक तहको शिक्षा ८ देखि सुरु हुन्थ्यो । म ६ कक्षाको विद्यार्थी भए पनि निम्न माध्यमिक र माध्यमिक एउटै स्कुलमा भएकाले म माध्यमिक स्कुलकै विद्यार्थी थिएँ । भर्ना भएको तीन–चार महिनापछि नै म हुलाक डाँडामै डेरा लिएर बस्न थालेँ र एसएलसी दिन दुई महिना बाँकी छँदा मात्र अलि तलको गोरुमारे भञ्ज्याङमा सरेर बसेँ । डेरा भाडा भने तिर्नुनपर्ने व्यवस्था बुवाले मिलाइदिनुभएको थियो । डेरा बसेको घर आफ्नै गाउँका नजिकका दाजु विश्वेश्वरप्रसाद धमलाको थियो । उहाँले जिवाले राम्ररी पढोस्, त्यति भए हुन्छ, भाडा तिर्नुपर्दैन भनेर बुवालाई भन्नुभएकाले मलाई ज्यादै सजिलो भयो ।

स्कुलको पढाइका क्रममा मलाई पाठ्यपुस्तकको ज्ञान त हुनै नै भयो,साथै बजारिया चहलपहल र त्यहाँका अन्य सामाजिक, सांस्कृतिक गतिविधिसँग पनि म राम्रै परिचित भएँ । दुईतिरका बजारका बीचमा हुलाक डाँडो भएकाले डेरा नजिकैको बाटोमा बिहानैदेखि वल्लोपल्लो बजार जाउआउ गर्नेको चहलपहल सुरु हुन्थ्यो । बसाइ लम्बिँदै गएपछि बजारका र बाहिर गाउँबाट आएका मानिस प्रस्ट चिन्न थालेँ । बजारका अलि सुकिलामुकिला देखिनु स्वाभाविकै थियो । जिल्ला सदरमुकाम भएकाले टाढाटाढाका मानिस सधैँ निकै देखिन्थे । बजारमा दूध बेच्न र दाउरा बेच्न आउने त झन् सधैँ देखिन्थे । आफ्नै गाउँबाट आएका मानिससँग पनि बेलाबखत भेट भइरहन्थ्यो । स्थानीयसँग मेरो चिनजान बढ्दै गयो । अघिल्लो, पछिल्लो ब्याचका साथी पनि पर्याप्त भए । एउटै क्लासका पनि १०–१२ जना त बजारकै थिए । एउटै क्लासकासँग बढी आत्मीयता हुने नै भयो ।

साँझहरू प्रायः डेरानेरको डाँडाको चौतारो आसपास बित्थे । चौतारोमा बसेर अँध्यारोमा क्रमशः डुब्दै गएका डाँडापाखा, गाउँबस्तीका दृश्य रहस्यमय लाग्थे । गोधुलि बेला पश्चिमतिरका सुन्दर क्षितिजले दिनहुँ लोभ्याउँथ्यो । क्रमशः अन्धकारभित्र डुब्न लागेका गाउँका गोठमा बालिएको आगोले सन्ध्याकालीन ग्रामीण जीवनलाई ब्युँझाउन थाल्थ्यो । भरियाहरू आइपुग्ने क्रम साँझमा झन् बढ्थ्यो । चौतारो ढाकरले भरिन्थ्यो । बिसाउन नपाएकाहरू तोक्मामा केहीबेर ढाकर अड्याएर पुनः बाटो लाग्थे । भरिया युवतीहरू गीत गाउँदै हिँड्थे । आ–आफ्नै जातीय भाषामा गाइएका गीतहरू नबुझिए पनि मलाई सुनिरहुँझैँ लाग्थ्यो । कहिलेकाहीँ नेपाली लोकगीत पनि गाएको सुनिन्थ्यो । दिनभरिको थकाइलाई भुल्न गीत गाएका हुनसक्थे उनीहरूले ।

भरिया ठिटाठिटी प्रायःले बिँडी पनि तानिरहेका देखिन्थे । धुँवाको गन्ध निकै परसम्म पुग्थ्यो । १५–२० मिनेट चौतारामा बिसाएर उनीहरू कतै अज्ञात वासतर्फ लाग्थे । चौतारो खाली हुनै पाउँदैनथ्यो । उनीहरूको वास भन्नु अलि सजिलो बाटोको भित्तोतिरको खाली ठाउँ हुनसक्थ्यो, जहाँ भारी राम्ररी बिसाउन सकियोस् । ओखलढुंगाको बाटो भएर भरियाहरू सोलु–सल्लेरी वा नाम्चे बजारसम्मकै भारी बोक्थे । त्यहाँ पुग्न ५–६ दिन अझैँ हिँड्नुपथ्र्यो । उनीहरूका कुराकानी सुन्दा मलाई त्यो थाहा हुन्थ्यो । उनीहरूले कहिलेदेखि त्यसरी भारी बोकेका थिए र कहिलेसम्म अझै बोकिरहे, त्यसबारे मलाई जानकारी हुने कुरै थिएन, न मलाई त्यसको सोधखोज नै गर्नु थियो । तर, मलाई ओखलढुंगा डाँडोले भरियाका पसिनाका थोपा वा ढाकरका निश्छल अक्षरलाई पढ्न सिकायो । मैले पछि थाहा पाएँ, उनीहरूको कथा सिंगै देशको कथा पो रहेछ ।

म डाँडाको चौतारामा टहल्दा होस् वा वल्लोपल्लो बजार डुल्दा होस्, कोही न कोही साथीसँग हुन्थेँ । एउटै घरमा डेरा गरेका गाउँका दाइहरू माथिल्लो कक्षामा भएका हुँदा उनीहरूसँग घुम्ने अरु नै हुन्थे । मसँग घुम्न बजारका कोही न कोही भइहाल्थे । बजारको छेउमा अलि पारिपट्टि सरस्वती डाँडो छ । त्यो डाँडोको वल्लोछेउमा भञ्ज्याङ परेको ठाउँ छ । त्यहीँनेर ‘ओखलढुंगा’को नामाकरणको आधारका रुपमा रहेको ठूलो ओखलाकारको ढुंगा छ । फुर्सदमा म त्यहाँ पुग्थेँ । साँझपख बजारका मानिसको पनि त्यो टहलिने ठाउँ थियो । मलाई ८ कक्षासम्म पढ्दा ‘ओखलढुंगा’ कविताबारे थाहा थिएन । ९ र १० कक्षाको पद्य संग्रहमा त्यो कविता पढ्नुपथ्र्यो । त्यो कविता पढ्न थालेपछि ओखलढुंगाप्रति म बढी नै आकर्षित हुन थालेँ ।

म ८ मा पढ्दा १० मा पढ्दै गरेका मोहन घिमिरे नामका एक साथी थिए, उनी र म कैयाँैचोटि ‘ओखलढुंगा’ कविता गुनगुनाउँदै ओखलढुंगामा बसेर समय बिताएका छौँ । युगकवि सिद्धिचरण श्रेष्ठलाई मैले ८ मा पढ्दा एकपटक देखेको थिएँ । उहाँ मेरो डेरा मास्तिरको अतिथि गृहमा केही दिन बसेर फर्कनुभएको थियो । कविज्यू आउनुभएको भन्दै धेरैजना उहाँको अघिपछि लागेर हिँडेका देखेको थिएँ । कविता पढ्न थालेपछि कविले लेखेको कुरा आफ्नै मनभित्रको भावना हो कि जस्तो लाग्थ्यो–
‘ती अविरल परिश्रमी पतकर
 द्रूतगामी निर्झरतुल्य चपल
 बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पदका पथ
मेरो प्यारो ओखलढुंगा ।’
 
फोटो स्रोतः इन्टरनेट
बजारभन्दा अलि टाढा कतै जाँदा वा घरतिर जाँदा जंगलको बाटो पनि पथ्र्यो, बाटामा हावाले गर्दा पातपतिंगर दौडिरहेका देखिन्थे, अनि म गुनगुनाउँथे, ती अविरल द्रूतगामी पतकर... ।
यस्तो क्रम एसएलसीसम्म नै रह्यो । कविता मेरो एक्लै हिँड्दाको साथीझँै बन्यो । त्यसो त पद्य संग्रहका प्रायः सबै कविता कण्ठ थिए । आफ्नै ठाउँको ‘ओखलढुंगा’प्रति आत्मीयपन हुनु स्वाभाविकै थियो । कहिले भने म बजारका साथीहरूसँगै अलि माथिको रमाइलो डाँडातिर जान्थेँ । त्यहाँबाट झन् टाढासम्मका डाँडाकाँडा देखिन्थे । त्यता अलि टाढाजस्तो हुनाले हाम्रो डुलाई छोटो समयको हुन्थ्यो । साँझपख पूर्वी आकाशमा फाटफुट तारा देखिन थालेपछि डेरा फर्किहालिन्थ्यो । हामी फर्कंदा बजारमा मेन्टोल बल्न थालिसकेका हुन्थे । रेडियोमा गीत वा कहिले समाचार आइरहेको हुन्थ्यो । बजारका होटलबाट कुनै खानेकुरा, वा विशेषगरी तरकारी पकाउँदा मसलाको बास्ना बाटाभरि फैलिएको हुन्थ्यो र त्यसले बजारमा हिँडुञ्जेल लोभ्याउँथ्यो । बजारिया बास्नाको प्रभाव कोठामा आएर खाना पकाइसक्दा नसक्दै हराइ पनि सक्थ्यो । आफ्नो तरकारीलाई बास्नादार हुने आवश्यकतै हुँदैनथ्यो । स्वादे जिब्रो हुनुहुँदैन भन्ने व्यावहारिक ज्ञान मैले त्यसबेलै पाइसकेको थिएँ । मेरो भान्छामा उक्त ज्ञानको निरन्तर पालना भइरहन्थ्यो ।

नेवार समुदायको बाहुल्य भएको बजारमा बेलाबखत नेवार संस्कृति झल्कने गतिविधि हुन्थे । तीमध्ये लाखेनाच भव्यताका साथ बर्सेनि सम्पन्न हुन्थ्यो । ठुल्ठूला डरलाग्दा मुखुण्डो लाएर नाचेका लाखे (कलाकार) हरू पनि उस्तै डरलाग्दा देखिन्थे । हातमा चमर तलमाथि हल्लाउँदै झ्याम्टा, मुजुरा र ढोलकको परम्परागत धुनमा कहिले मन्द र कतिखेर भने अलि द्रूत गतिमा उफ्रँदै दर्शकछेउ आइपुग्थे । लाखे नृत्य टोलीलाई घरघरबाट भेटी, सगुन र पूजाको थाली बोकेर लामबद्ध नेवार समुदायका मानिसले स्वागत गर्थे । हजारौँ दर्शकको ताँती हुन्थ्यो । वल्लो बजारको छेउदेखि पल्लो बजारको छेउसम्म पुगेर फेरि जहाँबाट आरम्भ भएको हो, त्यहाँ आइपुगेपछि लाखेनाच समाप्त हुन्थ्यो । दुवैतिरका बजारबाट छुट्टाछुट्टै लाखेनाच निकालिन्थ्यो । लाखेनाचको दिन स्थानीय बिदा हुन्थ्यो । नेवार समुदायको समृद्ध सांस्कृतिक परम्पराको पहिलो झलक मैले त्यही लाखेनाचबाट पाएको हुँ । ओखलढुंगाको नेवार समुदायले मनाउने गरेका अन्य त्यस्ता पर्व भने मलाई थाहा थिएन ।
माध्यमिक तहको पढाइका क्रममा ओखलढुंगाको बसाइले मलाई समाजको विविधताबारे केही न केही बुझ्न सघाउ नै पु¥यायो । अनुभवको तहमा त्यसबेलाको जानकारीले स्पष्ट आकार लिइसकेको त थिएन, तैपनि सामाजिक विचार अंकुरणका लागि चेतनाको प्रथम आँगन भने त्यही डाँडो नै रह्यो ।

बिहान–बेलुका हुलाक डाँडाको घुमाइ अनि त्यहाँबाट देखिने मनोरम दृश्यहरू राति सुतुन्जेलसम्म पनि आँखामा प्रतिविम्बित भइरहन्थे । बारम्बारको त्यस क्रमबद्धताले मभित्र सायद तिनका प्रति अज्ञात आत्मीयता सहितको कोमल भावना उत्पन्न गराउन थालेको हुँदो हो । तिनै नजिक वा टाढाका सुन्दर दृश्य अनि आफ्नै गाउँ बेतिनीका सधैँजसो देखिने, भेटिने र स्पर्श गरिने भूगोलका सुन्दर तस्बिरलाई मैले शब्दमा उन्न थालेँ । मेरा कविताका बीज तिनै थिए । ७ कक्षामा पढ्न थालेदेखि नै मैले ‘कविता’ नबुझीकनै ‘कविता’ लेख्न थालेँ । क्रमशः स्कुलस्तरीय कविता गोष्ठीहरूमा सुनाउन पनि थालेँ ।

१० कक्षासम्म पुग्दा त म कतिपटक हो पुरस्कृत पनि भइसकेको थिएँ । तर त्यसबेला लिखित वा पुरस्कृत कविता कुन–कुन थिए, तिनलाई मैले जतन गरेर राखिनछु, न त तिनको सम्झनै रह्यो । तर मेरो वर्तमान चिनारीका ती प्रथम अंकुरहरू मैले आफैँले टेकेको धुलोमा भेटेको थिएँ । ती हराए पनि तिनको महक मभित्र अझै छ र त्यो रहिरहनेछ । फेरि पनि युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कविताले मलाई घरीघरी उतै पु¥याइरहेछ ।
‘भाग्यको लहरमा लहरी लहरी
पुगेँ म यस मरुस्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि
मेरो प्यारो ओखलढुंगा ।’






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad