हास्यव्यंग्य कि हेलाहोचो ?

शनिबार, २२ पुष २०७४, ०७ : ०० शिक्षा रिसाल  | @RisalShiksha

नेपाल टेलिभिजनबाट प्रसारण भएको हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा खड्काजी भन्ने पात्र थिए । खड्काजीको भूमिका सीताराम कट्टेल ‘धुर्मुस’ले निभाएका छन्, तर पात्रलाई अप्राकृतिक रूपमा देखाइएको थियो । खड्काजी बनेर अभिनय गर्दा कट्टेलले ओठलाई गिजामाथि तानेर चिरिएको देखाएका थिए ।

‘मेरी बास्सै’ समूहले दर्शकलाई हँसाउनका लागि ओठ काटिएका पात्रको चयन गरेको हुन सक्छ । तर, टेलिशृंखलामा देखाइने खड्काजीको हाउभाउ, बोलीचाली र हिँडाइ अप्राकृतिक मात्र छैनन््, यस्तै अवस्थाबाट गुज्रनेलाई हेलाहोचो गर्ने खालका पनि छन् ।

‘मेरी बास्सै’मै कट्टेलले नै भूमिका निर्वाह गरेको अर्को पात्र हुन्– ‘मुस्कान पासा’ । नेवार समुदायको चरित्र चित्रण गर्न बनाइएका पात्र ‘मुस्कान पासा’को हाउभाउले पनि यो समुदायलाई होँच्याउने भाव प्रस्तुत गरेको देखिन्छ ।

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘हर्के हल्दार’मा कलाकार विष्णु सापकोटा हर्के र जमिनदारको दोहोरो भूमिकामा छन् । हर्केलाई असामान्य रूपमा प्रस्तुत गरिएको यो टेलिशृंखलामा ‘बिम्ली’ नामक महिला पात्रलाई पनि असामान्य रूपमै प्रस्तुत गरिएको छ । ‘बिम्ली’को भूमिकामा सुशीला निरौला छन् । ‘हर्के हल्दार’का यी पात्रले जुन वर्ग र समुदायको प्रतिनिधित्व गर्छन्, तिनै समुदायका मानिस भने टेलिशृंखला हेरेर हाँस्नुको साटो आफूलाई हेपिएको महसुस गरिरहेका हुन्छन् ।

आफू नहाँसी अरुलाई हँसाउने काम चुनौतीपूर्ण र रोमाञ्चक हुन्छ । यो कलाकारको प्रतिभाको कुरा पनि हो । तर, पछिल्ला नेपाली टेलिशृंखला हेर्ने हो भने आफ्नो कला देखाएर भन्दा कुनै वर्ग वा समुदायलाई हेलाहोचो गरेर हँसाउन खोज्ने प्रवृत्ति बढेको देखिन्छ ।

पहिले पहिले हँसाउनका लागि विषयवस्तु र संवादमा कन्द्रित हुने चलन थियो । अचेल भने पात्रलाई असामान्य देखाएर त्यस्तै समुदायका पात्रको हुर्मत लिन थालिएको छ । हँसाउने बहानामा थाहै नपाई निश्चित समूह र सम्प्रदायको आत्मसम्मानमै ठेस पु¥याउन थालिएको छ । अझ हास्यकलाको नाममा सीमान्तकृत, पिछडा वर्ग, महिला, दलित, अपांगलगायतकै हुर्मत धेरै मात्रामा लिइएको पाइन्छ ।
होँचापुड्का देखाएर, हात बांगो पारेर, तोतेबोली बोलेर, अपांग बनेर, गाउँले भएर, मजदुर र घरेलु कामदार बनेर वा महिलाको असामान्य रूप तथा स्वभाव देखाएर हँसाउन कोसिस गरिएका दृश्य नेपाली टेलिशृंखलामा धेरै देखिन्छ ।

करिब दुई दशकअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘देवी’मा शिवहरि पौडेलले ‘पूर्णे’ पात्रको भूमिका निभाएका छन् । उनको चरित्र भकभक गर्ने व्यक्तिको संवेदनामा चोट पु¥याउने खालको छ । तर, त्यसपछि बनेका टेलिशृंखलामा पनि लगातार भकभक गर्ने मात्र होइन, शारीरिक र वाक् अपांगता भएकालाई हाँसोका पात्रकै रूपमा चित्रण गर्दै आएको पाइन्छ । यस्ता पात्र निर्माण गरी हास्यकला प्रस्तुत गरेको ठान्नेले त्यस्तै समुदायका व्यक्तिको संवेदनामाथि भने खासै ख्याल गरेको पाइँदैन ।

नेपाली टेलिभिजनले बनाउने हास्य टेलिशृंखलाका निर्देशक, कथाकार र निर्माता कसैले पनि ‘कमेडी’को खास अर्थ नबुझेको समालोचक अर्चना थापाको बुझाइ छ । ‘कमेडी भनेको पात्र आफैँले हँसाउन सक्ने हुनुपर्छ न कि अरूलाई उडाएर,’ उनी भन्छिन् ‘अहिले नेपाली ‘मनोरञ्जन क्षेत्रमा भद्दा मजाक हाबी भएको छ ।’

मनोरञ्जनका नाममा ग्रामीण महिलालाई अशिक्षित र भावुक हुन्छन् भनी प्रस्तुत गर्नु गलत भएको उनी बताउँछिन् । यसले समाजमा विभेद सिर्जना गर्नुका साथै बालमनोविज्ञानमा गलत असर पर्ने उनको भनाइ छ । ‘सहरकै महिला पनि चिच्याएर बोल्छन्, गहनामा भुल्छन् भनेर देखाइन्छ, जसले दर्शकमा पनि यस्तै कुरामा हाँस्नुपर्छ भन्ने सन्देश जान्छ,’ उनी भन्छिन्, ‘यो विषयको चाहिँ कहीँकतै पनि बहस वा विरोध हुँदैन ।’

राजनीतिक पात्र देखाउँदा पनि श्रीमान्लाई भ्रष्टाचारका लागि श्रीमतीले उक्साउने, नेताका श्रीमतीको अक्कल कच्चा हुन्छ भनेर प्रस्तुत गरिनु एकदमै लज्जास्पद भएको उनको तर्क छ ।
‘चलचित्र अध्ययन गरेकाले समेत समाजका विभिन्न पक्षलाई ध्यान नदिई पैसाको पछि लाग्दा यस क्षेत्रमा डरलाग्दो स्थिति आएको छ,’ उनी भन्छिन्, ‘छक्कापन्जाले धेरै दर्शकलाई हँसायो तर त्यसले महिलालाई होँच्याएको छ, यस्तै फिल्म बनाउँदा त चल्ने रहेछ नि भन्ने गलत अर्थ समेत लागेको छ ।’ ‘सिइङ इज बिलिभिङ’ भनेजस्तै समाजलाई डो¥याउने मिडियाले यस्ता नकारात्मक सन्देश दिन बन्द गर्नुपर्ने उनको टिप्पणी छ ।

आफू नहाँसी अरुलाई हँसाउने काम चुनौतीपूर्ण र रोमाञ्चक हुन्छ । यो कलाकारको प्रतिभाको कुरा पनि हो । तर, पछिल्ला नेपाली टेलिशृंखला हेर्ने हो भने आफ्नो कला देखाएर भन्दा कुनै वर्ग वा समुदायलाई हेलाहोचो गरेर हँसाउन खोज्ने प्रवृत्ति बढेको देखिन्छ ।

नाट्यकर्मी घिमिरे युवराजलाई नेपाली भाषाका अधिकांश हास्यव्यंग्यमा हाँसो उठ्दैन । उनी प्रस्तुतिमा कलात्मकता देख्दैनन्, सस्ता गन्थन मात्रै देख्छन् । हास्यव्यंग्यमा शारीरिक हाउभाउ एकदम महत्वपूर्ण भएको उनको बुझाइ छ । तर, हामीकहाँ कलाकारले कलात्मक हाउभाउ सिर्जना गर्न नसकेर गाउँका सोझा वा शारीरिक दुर्बलता भएकालाई होँच्याएर हास्यव्यंग्य सस्तो बनाएको उनको आरोप छ । ‘कुनै पात्रले कान कम सुन्ने हुनाले अर्कोले बोलेको शब्द अर्कै बुझ्यो भनेर कसरी हाँस्न सकिन्छ ? त्यो त कान नसुन्ने वा कम सुन्नेको अपमान हो,’ घिमिरे भन्छन् ।

नेपाली टिभीका हास्य कार्यक्रम हेर्दा आफूलाई देशभरका शारीरिक र मानसिक रूपमा फरक क्षमता भएका पात्रलाई भेला पारेर ‘हाउमाउचाउ ह्वाह्वाह्वा’ गर्दै जिस्क्याइरहे जस्तो लाग्ने उनी बताउँछन् ।
प्रायः नेपाली टेलिशृंखलाको कथावस्तु समान हुन्छ । एउटै परिवारभित्रका दैनिक गन्थनमा समसामयिक घटना घुसाएर हाँसो र व्यंग्य पस्किने गरिन्छ । कतै गाउँठाउँको सेरोफेरोमा रहेर गाउँले जीवन समेटिएको हुन्छ । मुख बिगार्ने, दाँत देखाउने, सुस्त मनस्थिति भएकालाई गिज्याउनेलगायत असामान्य व्यवहारचाहिँ अधिकांश टेलिशृंखलाका समान दृश्य हुन् ।

हास्य विधामा धेरै खाले धार र उपधार छन् । चार्ली च्याप्लिन र परेस रावलको हँसाउने कला फरक छ । हरेक ‘कमेडी’का पछाडि कथा हुन्छ, उपकथा हुन्छ । शरीरको हाउभाउभन्दा कथावस्तु, संवाद र परिस्थितिले हँसाउने गर्छ । नेपालको परिप्रेक्ष्यमा हाँस्य टेलिशृंखलालाई शरीरको हाउभाउ, असामान्य शारीरिक बनावटले मनोरञ्जन दिलाइन्छ । दर्शकले पनि त्यसलाई पचाइरहेकै छन् ।
हास्यकलाकार दीपकराज गिरीका अनुसार उनी पनि मुख बंग्याउने, शारीरिक हाउभाउ बिगार्ने गर्दै हास्य टेलिशृंखलामा प्रवेश गरेका थिए । तर, उनलाई शारीरिक हाउभाउ बिगार्नुभन्दा विषयवस्तुमाथि व्यंग्य गर्न सजिलो हुन थाल्यो । ‘विषयवस्तुलाई लिएर कमेडी गर्दा सजिलो होला भनेर तीतो सत्यमा त्यस्तै प्रस्तुति गरेँ,’ उनी भन्छन् । तथापि उनी मनोरञ्जनलाई मनोरञ्जनकै हिसाबमा लिनुपर्ने बताउँछन् ।

नाट्यकर्मी घिमिरे भने फरक क्षमता भएका र गाउँलेलाई हेयका भावले प्रस्तुत गर्ने मात्र नभई कतिपय नेपाली हास्य टेलिशृंखला ‘सेक्सिस्ट’ समेत लाग्छन् । ‘कुनै पनि पुरुषले महिलालाई देख्नै हुँदैन, ती पुरुषको हाउभाउ अभिप्रायः स्पष्ट नगरिएका हिंसा हुन्, महिलाका स्तन र कम्मरमा हेरेर आँखा घुमाउने र जिब्रो पड्काउने अत्यन्तै सस्ता हाउभाउले कलालाई सखाप पारेको छ,’ उनले भने । यसलाई परिवर्तन गर्न स्क्रिप्टमै मेहनत गर्नुपर्ने उनको सुझाव छ ।

हास्य शृंखला ‘मेरी बास्सै’बाट ‘धुर्मुस’का नामले परिचित सीताराम कट्टेल भने सामाजिक विकृति र विसंगतिलाई विषयवस्तु बनाउने गरेको बताउँछन् । ‘हामीले छनोट गर्ने पात्र समाजका प्रतिनिधि हुन्, हरेक पात्रलाई अवस्था अनुसारको कथामा अभिनय गरेका हुन्छन्,’ उनी भन्छन् ।

आफूहरूले फरक शारीरिक र मानसिक क्षमता भएका चरित्र देखाउँदा त्यसले वास्तविक रूपमै फरक क्षमता भएकालाई नकारात्मक भन्दा सकारात्मक असर पर्ने कट्टेलको दाबी छ । ‘जस्तोसुकै अवस्थामा पनि समाजमा अटाउन सकिन्छ, अरुलाई हँसाउन सकिन्छ भन्ने कुरा उहाँहरूले महसुस गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूको आत्मसम्मानमा ठेस पुग्नेभन्दा पनि झन् आत्मबल बढेको हामीले महसुस गरेका छौँ ।’

पहिले टेलिभिजन मात्र देखाइने यस्ता शृंखला अहिले इन्टरनेटको सहायताले युट्युबमा समेत हेर्न सकिन्छ । प्रविधिलाई पछ्याउँदै नेपाली दर्शक पनि श्यामश्वेत टिभीबाट होम थिएटरमा यस्ता शृंखला हेर्न थालिसकेका छन् । पहिले नेपाल टेलिभिजनमा मात्र यस्ता शृंखला हेर्नेका लागि अहिले छनोट गर्न मिल्ने गरी धेरै टिभी खुलिसकेका छन् । यसले दर्शकलाई छनोटको अवसर मात्र दिएको छैन, दर्शकको दायरा पनि फैलाएको छ । दर्शकको दायरा फैलँदै जाँदा फरक क्षमता भएकाले पनि आफ्नै हुर्मत लिएको देखिरहेका छन् । त्यसैले गर्दा उनीहरू पनि यस विषयमा आवाज उठाउन थालेका छन् ।

फरक शारीरिक क्षमता भएका व्यक्तिले समेत टेलिशृंखला हेर्ने भएकाले आफूहरूले उनीहरूको अधिकारबारे पनि कुरा उठाउन थालेको कट्टेलको दाबी छ । ‘समाजलाई ठेस पुग्ने विषयलाई परिष्कृत गर्दै, राम्रो र दर्शक हँसाउन मनोरञ्जन दिने गरी व्यंग्य गर्नुपर्छ,’ उनले भने, ‘मनोरञ्जनको हिसाबमा कसैको खिल्ली उडाउन हुँदैन ।’
कलाकार गिरी शारीरिक हाउभाउले बालबालिकालाई मात्र हँसाउन सकिने बताउँछन् । परिपक्व दर्शकले त्यस्तो नरुचाउने उनको अनुभव छ । ‘परिपक्व दर्शकले बौद्धिक कमेडी रुचाउँछन्,’ उनले भने, ‘अहिले भने शारीरिक हाउभाउले गरिने कमेडीमा एकैखाले प्रस्तुति र गीत–संगीत पस्किने गरिन्छ ।’

‘माग्ने बूढा’का नामबाट ख्याति कमाएका केदार घिमिरे लक्षित दर्शकअनुसार हास्यव्यंग्य गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘लाफिस्टिक कमेडी विशेषगरी बालबालिकालाई हँसाउन प्रयोग गरिन्छ र यो लक्षित दर्शकमा पनि भर पर्छ,’ उनी भन्छन्, ‘गहिरा कुरा गरेर बालबालिकाले बुझ्दैनन्, हाँस्दैनन्, उनीहरूलाई हँसाउन मुख टेढो बनाउनैपर्छ ।’

लेखक नयनराज पाण्डे अध्ययन अनुसन्धान नगरी कार्यक्रमका विषयवस्तु बनाउँदा चलचित्रकर्मीमा समानता र सामाजिक समताबारे चेतना नभएको बताउँछन् । उत्पादन टोलीले समाजका कस्ता व्यक्तिलाई कस्तो असर पर्छ भनेर नसोच्ने र शारीरिक अपांगता भएका व्यक्ति भनेका हाँसो र दयाका पात्र हुन्, त्यसैले होच्याउनैपर्छ जस्तो मानसिकता राख्ने उनको आरोप छ । ‘जिरे खुर्सानीमा श्रीमतीलाई गरगहना लगाउन मनपर्ने भनेर देखाइने, मुखमा हान्नुजस्तो भन्ने, हाम्रा टेलिसिरियल जेन्डर बायस्ड छन्,’ उनी भन्छन्, ‘अपांगलाई लाचार पात्रका रूपमा देखिन्छ, शारीरिक बनोट नमिलेकालाई हाँसोको पात्रका रूपमा देखाइन्छ ।’

कलाकार लक्ष्मी गिरी पहिले हास्य टेलिफिल्म विषयवस्तुअनुसार हुने गरेकामा अहिले अशिष्ट हुँदै गएको बताउँछिन् । ‘अहिले अलि उच्छृंखल हुँदै गएको छ, शारीरिक अस्वस्थ हाँसोका पात्र होइनन्, हामीले अभिनय गर्दा त्यस्तो थिएन,’ उनी भन्छिन्, ‘पहिलेका ‘ज्वाइँ’, ‘जेरी खान्छु’, ‘गुँदपाक पाक्यो रे !’ जस्ता सिरियल सभ्य र मनोरञ्जनात्मक थिए ।’
उनी समाजमा त्यस्ता व्यक्तिलाई घोचपेच हुने र विकृति फैलाउने गरी अभिनय देखाउन नहुने बताउँछिन् । ‘यस्ता कुरामा मानवीय समवेदना जोडिएको हुन्छ, त्यसलाई ख्याल गर्नुपर्छ,’ उनी भन्छिन् ।
हास्यव्यंग्य निर्माण सजिलो छैन, न पात्र र परिवेश चयन नै । तर, धेरै मेहनत र खर्च गरेर बनाइएका यस्ता टेलिशृंखलाले समेत समाजका सीमान्तकृत, अपांग, महिला, दलितलगायत कुनै वर्ग विशेषलाई हेलाहोचो गर्दा त्यही समुदायका दर्शकलाई कस्तो असर पर्ला ? त्यतातर्फ समयमै ध्यान दिने कि ?








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad