८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौं – नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख तथा तेस्रोले रु ६० हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु १५ हजार पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिनेछ।

प्रतियोगितामा महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत/वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेल कम्पनी हुनेछ। कार्यक्रममा मुख्य प्रायोजक कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले भलिबल खेलमा कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार भलिबल खेलको लागि कम्पनीले रु ४० लाख सहयोग गर्नेछ।

सोही कार्यक्रममा उक्त क्लब च्याम्पियनसिपका लागि कम्पनीले पहिलो किस्ताबमोजिम रु १० लाखको चेक संघलाई प्रदान गरेको थियो। रासस

प्रकाशित: २१ पुस २०७४ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App