coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शव भेटिएको १५ महिनापछि पक्राउ

नुवाकोट – एक व्यक्तिको मृत्यु भएको १५ महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले ५ जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ।

पक्राउ परेकाविरुद्ध प्रहरीले शुक्रबार नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको हो। विसं २०७३ असोज १४ गते धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका बेलकोटगढी नगरपालिका–७ रातमाटेका पुरुषोत्तम लामाको हत्या भएको आशंकामा स्थानीयवासी पाँच जनालाई बिहीबार पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए।

पक्राउ पर्नेमा बेलकोटगढी–७ का ५० वर्षीय रामनारायण यादव, २८ वर्षीय कृष्णबहादुर तामाङ, ३९ वर्षीय बालकृष्ण लामा, ४५ वर्षीय चन्द्रबहादुर लामा र ४० वर्षीय झिल्केबहादुर लामा छन्। विसं २०७३ असोज ११ गते हराएका ५० वर्षीय पुरुषोत्तमको शव त्रिशूली नदी किनारमा भेटिएकाले तत्कालीन समयमा बगाएर मृत्यु भएको प्रहरीले जनाएको थियो।

शवको परीक्षणमा ‘टाउकोमा चोट’ लागेर मृत्यु भएकाले भवितव्य देखिए पनि पीडित परिवारको किटानी जाहेरीले घटना रहस्यमय देखिएकाले संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पुरुषोत्तम हराएको दिन नै नुवाकोटमा हत्या गरी शव त्रिशूली नदीमा बगाइदिएको भन्दै उनकी छोरी लक्ष्मीले धादिङ प्रहरीमा जाहेरी दिए पनि लिन अस्वीकार गरिएको थियो। घटनाको १५ महिनापछि यही पुस १२ गते किटानीसहित दिइएको जाहेरीले नुवाकोटमा नै ‘हत्या भएको हुनसक्ने’ भन्दै नुवाकोट प्रहरीलाई घटनाको अनुसन्धान गर्न धादिङ प्रहरीले गरेको आग्रहअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २१ पुस २०७४ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App