७ वैशाख २०८१ शुक्रबार
राजनीति

थाल ठटाएर राजधानी माग

दिपायल- ७ नम्बर प्रदेशको राजधानी माग्दै डोटीमा आन्दोलन झन् चर्कदै गएको छ। आन्दोलन दिनप्रतिदिन बिशाल बन्दै गैरहेको छ । दिपायल, सिलगढी, गोपघाट, बुडर लगायतका क्षेत्रमा आन्दोलनहरु भैरहेका छन्। दिपायल र सिलगढीमा दिनहुँ प्रदर्शनका कार्यक्रमहरु भैरहेका छन्। यसअघि यही पौष १२ गतेदेखी १८ गतेसम्म शान्तिपूर्ण रुपमा दबाबमूलक कार्यक्रम आयोजना गरिएका थिए।

तीनदिनदेखीको आमहड्तालले जनजीवन ठप्प छ । बिभिन्न ठाउँमा रहेको सडक अबरोधले सुदूरपहाडका जिल्लाहरुको तराईसंगको सम्पर्क बिच्छेद भएको छ । सुदूर पहाडलाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा शुक्रबारदेखी अनिश्चितकालिन चक्काजामको आह्वान पछि पहाड–तराईको सडक सम्पर्क बिच्छेद बनेको छ। यस्तै दिपायलमा भैरहेको अबरोधले बाजुरा र अछामसंगको सडक सम्पर्क तिनदिनदेखी नै बिच्छेद भैरहेको छ। प्रहरी, एम्बुलेन्स, प्रेस, अन्तर्राष्ट्रिय नियोगका गाडीहरु भने चल्न दिईएका छन्।

बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द छन्। यहाँ कार्यरत सरकारी कर्मचारीहरुले अघोषित रुपमा ‘पेनडाउन’ गरेर आन्दोलनलाई सघाई रहेका छन्। गैह्रसरकारी संस्था, उद्योगी, ब्यबसायी, नागरिक समाज सबैले आन्दोलनमा सक्रिय सहभागिता जनाईरहेका छन्।

मन्त्रालयका बोर्ड टाँसिए

बिहिबार दिपायल स्थित सरकारी भवनहरुमा आन्दोलनकारीहरुले प्रदेश मन्त्रालयका बोर्डहरु टाँसेका छन् । क्षेत्रीय प्रशासन कार्यालय दिपायलले सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको प्रस्ताबित ढाँचा अनुसार आन्दोलनकारीहरुले मन्त्रालयका बोर्ड टाँसेका हुन् । ‘सरकारले दिपायल राजधानी घोषणा गर्न ढिलाई गर्न थालेपछि हामीले आफै सडकबाट राजधानी तोकेका छौ,’ संघर्ष समितिका संयोजक रहेका डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘प्रदेशमा बस्ने मन्त्रालय, संसद सचिवालय, प्रदेश प्रमूखको कार्यालय समेत तोकेर बोर्ड पनि टाँसेका हौ।’

क्षेत्रीय प्रशासन कार्यालय दिपायलले करिब एक महिनाअघि दिपायलमा रहेका भौतिक संरचनाको अध्ययन गरेर प्रदेश सरकारका संरचनाहरु बस्न सक्ने भवनहरुको ढाँचा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो।  सोही अनुसार नै आन्दोलनकारीहरुले बोर्ड टाँसिदिएका छन्।

आन्दोलनकारीहरुले नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एबं प्रदेश ईन्चार्ज लेखराज भट्टको पुत्ला दहन गरेका छन् । कैलालीको समर्थनमा दिपायलको चर्को बिरोध गरिरहेका भट्टको आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय अघि पुत्ला दहन गरेका हुन् । उनको पुत्लालाई जनप्रदर्शनको अघिल्तिर राखेर शंख बजाएर बजार परिक्रमा गर्दै क्षेत्रीय प्रशासन कार्यालय अघि दहन गरिएको हो।

‘दिपायलको बिपक्षमा बोल्ने हरकोहीको पुत्ला दहन हुन्छ । आफ्नै नेता भएपनि चुप लाग्न सकिदैन्,’ नेकपा माओबादी केन्द्रका नेता तेज बहादुर डुम्रेलले भने,‘लेखराजको भयो। भोली दिपायलका बिपक्षमा बोल्ने, निर्णय गर्ने अर्को जोकोहीको पुत्ला दहन हुन्छ।’

थाल ठटाउँदै माग राख्दै

आन्दोलन शुरु भएको दशौँ दिनसम्म पनि सरकारले सुनुवाई नगरेको भन्दै शुक्रबार थाल ठटाएर प्रदर्शन गरिएको छ । हज्जारौ प्रदर्शनकारीहरु दिउँसो घरघरबाट थाल लिएर सडकमा निस्किएका थिए । त्यसपछि थाल ठटाउदै सडकमा निस्केर क्षेत्रीय प्रशासन कायालय अघि कोणसभामा परिणत भएको थियो । यसबाहेक प्रदर्शनकारीहरुले देउडा खेलेर पनि सरकारसंग आफ्ना माग राख्दै आएका छन्।

प्रकाशित: २१ पुस २०७४ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App