coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

लहान – लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ।

विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार छानबिन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएकोे बताए।

उनले भने, ‘उजुरीमा उल्लेख गरिएको अनियमितताका धेरै बुँदामा निमित्त प्रधानाध्यापक रायले लिखित जबाफ पेस गर्नुभएको छ । प्रारम्भिक छानबिनबाट उहाँले अनियमितता गरेको प्रस्ट हुन्छ।’ अनियमितता छानबिन गरी त्यसको प्रतिवेदन शिक्षा कार्यालयमा पेस गरिसकेको जानकारी यादवले दिए।

रायले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन बनाउन उपभोक्तासँग लिएको एक करोड ३३ लाख रकम भवन निर्माण नगरी आफैंले खर्च गरेको, छात्रवृत्ति र पाठ्यपुस्तकका लागि सरकारबाट प्राप्त रकममा पनि अनियमितता गरेको भन्दै तीन वर्षअघि अख्तियारमा उजुरी परेको थियो। 

रायले भने आफूले विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर रकम खर्च गरेको बताएका छन् । उनले नागरिकसँग भने, ‘१६ लाख रकम मैले खर्च गरेको छु, म तिर्छु । बाँकी रकम कसले खर्च ग¥यो थाहा छैन ।’ धेरै रकम विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर खर्च गरेको उनले बताए। 

उपभोक्तासँग व्यापारिक भवन निर्माणका लागि संकलन गरेको रकम विद्यालय भवन निर्माणमा खर्च भएको दाबी निमित्त प्रधानाध्यापक रायले गरे। 

लहान ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जनता र राज्यको रकम हिनामिना गर्नेउपर कारबाहीमा आलटाल नगर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले  भने, ‘यो अनियमितता प्रकरण करिब चार वर्षदेखि दबाउँदै आइएको छ। अनियमितता छर्लंगै छ, रीत पुर्‍याएर छिटो कारबाही अघि बढाउन सम्बन्धित निकायलाई अग्रह गर्छु ।’

न स्टल पाए, न धरौटी फिर्ता 

पशुपति मावि प्रांगणमा निर्माण गर्ने भनिएको व्यापारिक भवन (स्टल) का लागि लहान–७ का पवन दासले ०६९ चैतमा धरौटीस्वरुप विद्यालयलाई दुई लाख रकम बुझाए । राजमार्गसँग मुख्य बजार जोड्ने एक नम्बर सडकको पश्चिमपट्टि व्यापारिक भवन बन्ने भएपछि व्यापारी पवन आकर्षित भएका थिए । 

धरौटी बुझाएपछि भवन बन्ने दिन गन्ती गर्दै व्यापारको योजना बुन्न थाले उनी । धरौटी बुझाएको तीन वर्ष बित्दा पनि भवन निर्माण सुरु नभएपछि उनी छटपटिए । धरौटी बुझाउन लिएको ऋणको ब्याज बढ्दै थियो । ऋणको ब्याजले थलिएपछि पवन गत वर्ष रोजगारीका लागि विदेश गए । आफ्नै ठाउँमा व्यापार गरेर जिन्दगी धान्ने सपना विद्यालय प्रशासनका कारण चकनाचुर भयो । 

स्टलका लागि धरौटी बुझाएका गिरिराज रौनियार भन्छन् ‘पैसा बुझाएको वर्षाैं भइसक्यो न स्टलको ठेगान छ न हामीले बुझाएको रकम ।’ उनका अनुसार ६१ जनाले बुझाएको एक करोड ३३ लाख रकमको कुनै हिसाब छैन । 

विद्यालयमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा उजुरी परेकोथियो । उजुरीमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न अख्तियार कार्यालयले शिक्षा कार्यालय सिरहालाई पत्र पठाएको थियो । शिक्षाले छानबिनसहित प्रतिवेदन पेस गर्न स्रोत व्यक्ति कासिन्द्रप्रसाद यादव र भोगेन्द्रप्रसाद यादवलाई तोकेको थियो।

उजुरी छानबिनका क्रममा अख्तियारले शिक्षा कार्यालयमा पटकपटक पत्राचार गरेर प्रतिवेदन पेस गर्न भन्यो। अख्तियारकै कर्मचारी समेत स्थलगत छानबिन गरेर गएको विद्यालयका शिक्षकहरु बताउँछन्।

यति धेरै रकम अनियमितता गर्दा पनि उनीमाथि कारबाही नभएको विद्यालयका शिक्षकहरुले बताएका छन्। ‘अति धेरै रकम अनियमितता हुँदा पनि उनीमाथि कारबाही नगरिँदा शंका उब्जिएको छ।’

प्रकाशित: २१ पुस २०७४ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App