१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढ्यो

काठमाडौं– मुलुकमा तीन तहको निर्वाचनपछि राजनीतिक स्थायित्व हुने संकेतसँगै प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढेको छ ।

वैदेशिक लगानी स्वीकृत गर्ने निकाय उद्योग विभागको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार १५ अर्ब ७२ करोड ५५ लाख रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले धेरै हो । गत वर्ष उक्त अवधिमा ४ अर्ब ४१ करोड २५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।  
‘चालु आर्थिक वर्षमा ठूला लगानीका केही उद्योग आएका छन्,’ विभागका महानिर्देशक शंकर अर्यालले भने, ‘ठूला स्तरका उद्योग आउँदा लगानी प्रतिबद्धता बढेको छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा सिमेन्ट, खाद्यान्न, जडीबुटी ठूला लगानीका उद्योग थपिएका छन् ।

चालु आर्थिक वर्षमा चिनियाँ लगानीमा ह्वासिन सिमेन्ट नारायणी दर्ता भएको छ । त्यसैगरी, यस वर्ष दर्ता हुने नयाँ उद्योगमा चिनियाँ लगानीकै एउटा ठूलो जडीबुटी उद्योग रहेको छ । चाइनिज हर्बल उद्योगका रुपमा मुलुककै ठूलो जडीबुटी उद्योग स्थापना गर्ने प्रतिबद्धता चिनियाँ लगानीकर्ताले जाहेर गरेको विभागले जनाएको छ । यसपालि ठूला स्तरका उद्योका रुपमा थपिने नयाँ उद्योगमा पेप्सी पनि रहेको छ । पेप्सी नेपालले नयाँ शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।

पाँच महिनाको अवधिमा उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै लगानी आएको छ । यस क्षेत्रमा २६ वटा परियोजनामा ७ अर्ब १७ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । गत वर्ष सोही अवधिमा यस क्षेत्रमा जम्मा ९५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।  

चालु आर्थिक वर्षमा ठूला स्तरका उद्योग थपिँदा लगानीको प्रतिबद्धता बढेको छ भने प्रतिबद्धता गर्ने परियोजनाको संख्या भने घटेका छन् । विभागको पाँच महिनाको तथ्यांक अनुसार सो अवधिमा दर्ता हुने परियोजनाको संख्या १ सय ४२ रहेको छ । जबकि पोहोर सोही अवधिमा १ सय ७० परियोजना दर्ता भएका थिए ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सबैभन्दा धेरै परियोजना सेवा र पर्यटन क्षेत्रका छन् । यस क्षेत्रमा ४६–४६ वटा परियोजना दर्ता भएका छन् । तीमध्ये पर्यटनमा १ अर्ब २५ करोड र सेवा क्षेत्रमा १ अर्ब २० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । त्यसैगरी, सूचना प्रविधिका ११ वटा परियोजनामा ९ करोड ५० लाख, कृषि र वनजन्यका ९ परियोजनामा १ अर्ब ८६ करोड र ऊर्जा क्षेत्रका ३ परियोजनामा २ अर्ब १२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । खानी उद्योगमा दर्ता भएको एउटा परियोजनामा २ अर्ब रुपैयाँको प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा सिमेन्ट, खाद्यान्न, जडीबुटी, खानी लगायत क्षेत्रमा ठूला लगानीका उद्योग थपिएका छन्

मुलुकमा २० वर्षपछि वैशाखमा स्थानीय तहको चुनाव सम्पन्न भएको थियो । लामो समयपछि सम्पन्न भएको उक्त चुनावले लागनीको वातावरण वनाउन केही सहयोग गरेको व्यवसायीको भनाइ छ । त्यसैगरी, महिना दिनअघि प्रतिनिधि र प्रदेशसभा चुनाव पनि सम्पन्न भइसकेको छ । यसबाट वैदेशिक लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको थियो ।
कात्तिकमा विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेस २०१८’ प्रतिवेदनमा नेपालको अवस्था पोहोरको तुलनामा थोरै सुध्रेको उल्लेख  छ ।

प्रतिवेदन अनुसार विश्वमा नेपाल १०५ स्थानमा रहेको नेपाल दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा छ । विश्व बैंकले विश्वका १९० देश समेटेर गरेको अध्ययन प्रतिवेदनमा नेपाल १०५ स्थानमा छ । गत  वर्षको प्रतिवेदनमा नेपाल १०७ स्थानमा थियो ।  केही कानुन पारित, सुधार र लगानीको वातावरणमा सुधार गरेकाले विश्व वरीयतामा नेपालको अवस्थामा सामान्य सुधार आएको हो ।  
 

प्रकाशित: २१ पुस २०७४ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App