७ वैशाख २०८१ शुक्रबार
अर्थ

दिनभरी बल्लछन् सडक बत्ती

काठमाडौं– तराई–मधेसका नगरपालिकाले रातिमा उज्यालाको लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालय अन्तर्गतका भरतपुर तथा वीरगन्ज महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, गौर, कलैया लगायत नगरपालिले विद्युत्को पोलमा झुण्ड्याएर सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् ।

यसैगरी, जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवा लगायत नगरपालिकाले राखेका सडक बत्ती दिनभर बलिरहेका छन् । धेरै ठाउँमा बत्ती बाल्न तथा निभाउँन स्विचसमेत राखिएको छैन । कतिपय स्थानमा नेपाल विद्युत् प्राधिकरणसँग स्वीकृति नलिई नगरपालिका तथा गाउँपालिकाले आफूखुसी बत्ती राखेका कारण स्विच समेत नराखिएको हो ।

सडक बत्ती रातको समयमा मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तीको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ती राख्ने तर त्यसलाई ननिभाउँदा बिजुली चुहावट भइरहेको छ । यसबाट नेपाल विद्युत् प्राधिकरणले करौडौं रुपैयाँ राजस्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्यमा आपूर्ति पुग्दैन । एकातर्फ दिनभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कोतर्फ भारतबाट बढी आयात गर्नुपर्छ । ‘निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ती राख्न प्रतिस्पर्धा नै चलेको छ, तर, हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावीरुपमा सडक बत्ती राखिएको छ, निभाउँन तथा बाल्न स्विचसमेत राखिएको छैन,’ जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका एक वितरण प्रमुखले भने, ‘किन यस्तो गरियो भनेर मेयर÷उपमेयरलाई सोध्यो, हामी निर्वाचित प्रतिनिधि हौं, यस्तो अधिकार छ भन्नुहुन्छ, उहाँहरुको अगाडि हामी निरीह बन्नुपर्ने अवस्था छ ।’

सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् । घिसिङले जनकपुर तथा हेडौंडा क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । ‘त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक बत्ती दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजस्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ,’ उनले भने, ‘बत्ती निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नुप¥यो, अब त्यस्ता बत्ती निकाल्न अभियान नै सुरु गरिसकेका छौं ।’ उनले दिउसो बलिरहने सडक बत्ती निभाइदिएर ‘उज्योलो नेपाल’ अभियानलाई सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे ।

सडक बत्ती दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर वितरण केन्द्रको विद्युत् चुहावटमा सडक बत्तीको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ । जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ती दिनभर बलिरहन्छ । त्यसलाई न त जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै । स्विच राखिएको ठाउँका सडक बत्तीसमेत दिनभर बलिरहने गरेको जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्विकारे । उनले भने, ‘सडक बत्ती निभाउन भनिरहेका छौं तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन,’ उनले भने, ‘मेयर÷उपमेयरलाई अनुरोध ग¥यौं, गर्दैछौं भन्नुहुन्छ तर अहिलेसम्म नतिजा देखिएको छैन ।’ दिउसो बलिरहने सडक बत्ती निकाल्न वितरण केन्द्रलाई निर्देशन दिइसकिएको हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख अनिरुद्ध प्रसाद यादवले बताए ।

हेडौंडा क्षेत्रीय कार्यालय अन्तर्गतको सडक बत्तीको बक्यौता ७१ करोड ४१ लाख रुपैयाँ छ । विद्युत् चुहावट १५.३९ प्रतिशत छ । प्राधिकरणले असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरी जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको सडक बत्तीको बक्यौता ५७ करोड १४ लाख ४८ हजार रुपैयाँ छ । विद्युत् चुहावट ३६.५५ प्रतिशत छ । यसलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मन्त्रिपरिषद्ले गत असारसम्मको सडक बत्तीको बक्यौता तिरिदिने निर्णय गरेको छ । बक्यौता रकम सम्बन्धित नगरपालिका–गाउँपालिकाले समर्थन भने गर्नुपर्ने छ । प्राधिकरणले अहिले बक्यौता रकमलाई समर्थन गरिदिन आग्रह गर्दै सम्बन्धित नगरपालिका÷गाउँपालिकालाई पत्राचार गरिसकिएको जनाएको छ ।
 

प्रकाशित: २१ पुस २०७४ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App