coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

नयाँ प्रविधिबारे जानकारी र नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिने उद्देश्यले यस्तो एक्स्पो गर्न लागिएको आयोजकको भनाइ छ । एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानले तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा १२ मुलुकको सहभागिता रहने र उक्त  प्रदर्शनी ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिए ।
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गर्न लागिएको हो । उक्त एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनी लगायत सयभन्दा बढी स्टल रहने छन् । तीमध्ये करिब ५० प्रतिशत विदेशी कम्पनीका स्टल रहने छन् ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ ।
इटालीको सिएमसी, जर्मनीको भोइथ, भारतको क्रिष्टल, फ्लोभेल तथा बिएफएल, बुल्गेरियाको भ्यापटेक, चेज रिपब्लिकाको मावेल, चीनको पावरचाइना र सिएसइसी जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने निश्चित भएको प्रधानले बताए । ‘दर्जनौं विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने छ,’ उनले भने, ‘सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पु¥याउने छ ।’

एक्स्पो अवधिमा हाइड्रो पावरका मुख्य विषयमा सेमिनार समेत सञ्चालन हुनेछन् । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन बैंकिङ तथा बिमा र अन्तिम दिन हाइड्रो पावर सम्बन्धी सेमिनार सञ्चालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरकफरक विषयमा ६ वटाभन्दा बढी सेमिनार सञ्चालन गरिने छ ।

यसैगरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ । उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ ५५ पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार दुई सय २२ रुपैयाँ २२ पैसा र ११ हजार एक सय ११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा १२ मुलुकको सहभागिता रहने र उक्त प्रदर्शनी ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

नेपाल टनेलिङ एसोसिएसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संंघ, नेपाल युरोपियन चेम्बर अफ कमर्स एवं स्वदेशी तथा विदेशी कम्पनीको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि र एनएमबि बैंक लिमिटेड रहेका छन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रकाशित: २१ पुस २०७४ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App