coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अखाद्य फलफूलबाट ‘फ्रेस जुस’

काठमाडौं– उपत्यकामा सञ्चालन भएका अधिकांश फलफूल तथा जुस पसलले खान अयोग्य फलफूलबाट जुस बनाएर बिक्री गर्ने गरेको भेटिएको छ । चोक र गल्लीमा फलफूल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायीले सडेगलेका फललफूलबाट जुस बनाएर क्यान जुसको रुपमा बिक्री गर्ने गरेको भेटिएको हो ।

फलफूल व्यवसायीले पसलमा आफैंले तयार पारेर स्लास्टिकको बोटलमा राखी बेच्ने जुससमेत म्याद नाघेको भेटिएको छ । सरकारले बिहीबार उपत्यकाको विभिन्न क्षेत्रमा फलफूल बजार अनुगमनका क्रममा व्यवसायीले फ्रेस जुसको नाममा गुणस्तरहीन र अखाद्य झोल बेचेको भेटिएको हो । उपत्यकाका अधिकांश फलफूल र जुस पसलहरु बिनादर्ता, नापतौल प्रमाणीकरण नगरी र दर्ता भएकाले पनि नवीकरण नगरी चलाइरहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

विभागले नियमित बजार अनुगमन अन्तर्गत बिहीबार फलफूल तथा जुस पसलमा अनुगमन गरेको जनाएको छ । जुस पसलले आफूखुसी मूल्यसूची राखेर समेत फलफूल बिक्री गर्ने गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । भक्तपुरको जगातेमा सञ्चालित उज्याला फ्रुट जुस सेन्टरले व्यवसाय दर्ता नवीकरण नगरेका, म्याद नाघेको लिची र ट्याङ जुस बिक्री गरेको भेटिएको छ । उक्त पसलमा भेटिएको म्याद नाघेको कोक, पेप्सी, स्प्राइट, फ्यान्टा नष्ट गरिएको विभागका निर्देशक श्रेष्ठको भनाइ छ । उक्त पसलले नापतौलका उपकरणसमेत प्रमाणीकरण नभएको प्रयोग गरेकाले ७ दिनभित्र सबै कानुनी प्रक्रिया मिलाएर विभागमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।

यस्तै, सोही ठाउँको बालकृष्ण पलिखेल फलफूल पसलमा मूल्य सूची नराखी आफूखुसी बिक्री गरेको भेटिएको छ । जगाते किराना पसलले भने व्यवसाय दर्ता नवीकरण नगरेको, नापतौल प्रमाण्ीकरण नभएको, खाद्य र अखाद्य सामान सँगै राखेर बेच्ने गरेको अनुगमन टोलीले भेटेको छ । सो पसलमा भेटिएको म्याद नाघेको दालमोठ र सुजी नष्ट गरिएको छ ।

सो क्षेत्रमा गर्ने व्यवसाय र बाहिर राख्ने साइनबोर्ड समेत फरक हुने गरेको भेटिएको छ । जगाती लिकर ल्यान्ड व्यवसायको नाम भए पनि बोर्ड भने फरक भएको अनुगमन टोलीका प्रमुख टेकबहादुर कोइरालाले बताए । उनका अनुसार सो पसलमा भेटिएको म्याद नाघेको टेन्सवर्गको बियर नष्ट गरिएको छ ।

भक्तपुरकै व्याँसी ख्वप फिडले व्यवसाय दर्ता नवीकरण नगरेको र नापतौल प्रमाणीकरण समेत नभएको भेटिएको छ । त्यहाँबाट उत्पादित दानामा उत्पादन मिति र उपभोग्य मिति राखिएको छैन ।
कान्तिपुर फिडले व्यवसाय नै दर्ता नगरेका, प्यान नभएको र नापतौल प्रमाणीकरण समेत नभएको भेटिएको छ । उक्त कम्पनीबाट उत्पादित दानामा लेबल समेत नभएको विभागले जनाएको छ । उक्त कम्पनीलाई आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमन टोलीले हेटौंडाबाट उत्पादित दाना खरिद गरेको बिल समेत पेस गर्न व्यवसायीलाई निर्देशन गरेको छ ।
न्यु कान्तिपुर फिड एन्ड मिक्स सप्लायर्स सूर्यविनायकले व्यवसाय दर्ता, प्यान दर्ता र नाप तौल प्रमाणीकरणको कागजात देखाउन सकेन । अनुगमन टोलीका अनुसार सो कम्पनीले उत्पादन गरेको दानामा उत्पादन मिति र उपभोग्य मिति थिएन ।
यस्तै, विनायक कृषि सहकारी संस्था भूतखेल, कीर्तिपुरमा सञ्चालित संस्थाको व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण कागजात नभेटिएपछि अनुगमन टोलीले तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । उक्त सहकारीले सादा प्लास्टिकमा रबरले बाँधेर प्याक गरेको दूधको नमुना जाँच्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

प्रकाशित: २१ पुस २०७४ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App