७ वैशाख २०८१ शुक्रबार
कला

लसएञ्जल्स जाँदै ‘द म्यान फ्रम काठमाण्डू’

काठमाडौं– बलिउड अभिनेता गुल्सन ग्रोवरसहित हलिउड र बलिउडका कलाकारले अभिनय गरेको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल छायांकन सकिएको छ । फिल्म निर्माण संस्था ट्रिसिटी पिक्चर्सले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बाँकी छायांकन अमेरिकाको लसएन्जल्समा छायांकन गरिने जानकारी दिएको छ ।

क्यूएफएक्स सिनेमा प्रमुखसमेत रहेका निर्माता नकिम उद्दिनले फिल्ममा संलग्न विदेशी प्राविधिकबाट स्थानिय प्राविधिकले सीप सिकेको र मुलुकको प्रचारप्रसारमा सहयोग पुगेको बताए । ‘बाँकी विश्वलाई नेपाली कथा सुनाउन फिल्म प्रभावकारी हुनेछ । ‘कागबेनी’ र ‘सानो संसार’ले थालेको डिजिटल यात्रा यो फिल्मसम्म आइपुग्दा नेपाली फिल्मले ऐतिहासिक फड्को मारेको छ,’उनले भने, ‘भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले यो फिल्मको वितरणमा चासो देखाएका छन् । भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो दिएका छन् । हलिउडमै सुटिङ र पोस्टप्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’

निर्देशक पेमा धोन्डुपले फिल्म ‘कागबेनी’ हेरेपछि उद्दिनसँग टीमअप गर्ने रुचि पलाएको बताए । मुस्ताङको जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको दाबी गरे । ‘
फिल्मले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा नै फिल्म हो’ निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’ उनले सीएनएनमा एउटा लेख पढेपछि कथा जन्मिएको जनाउँदै त्यो कथामा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको बताए ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअल स्टन्ट कोरियोग्राफी छ । फिल्मको नेपाल रिलिज मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

 

प्रकाशित: २१ पुस २०७४ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App