८ वैशाख २०८१ शनिबार
खेल

डिपिएल–२ को टिकट बिक्री सम्झौता

काठमाडौं– धनगढी क्रिकेट एकेडेमी (डिसिए) र इ–सेवाबीच बिहीबार रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ का लागि टिकेटिङ साझेदारी भएको छ । डिसिएका अध्यक्ष सुवास शाही र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्कर अलीले टिकट  बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपालमा बिस्तारै टिकट किनेर खेल हेर्ने संस्कार विकास भइरहेको तथा क्रिकेट र प्रविधिलाई सँगै लैजाने उद्देश्यका साथ इ–सेवासँग सम्झौता गरेको डिसिएका अध्यक्ष शाहीले बताए ।

यसअघि माघ ५ बाट प्रतियोगिता सुरु गर्ने भनिए पनि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेलतालिकाका कारण प्रतियोगिता चैत १७ लाई सारिएको छ ।

‘पछिल्लो संस्करणमा पनि हामीले टिकटको व्यवस्था गरेका थियौं । सुरुमा केही गुनासो आए पनि अन्ततः हाम्रो प्रयोग सफल भयो,’ शाहीले भने, ‘हामी यो प्रतियोगितालाई अझै धेरै माथि लैजान चाहन्छौं । इ–सेवासँगकौ सम्झौताले हामीलाई थप हौसला बढाएको छ ।’ यसअघि माघ ५ बाट प्रतियोगिता सुरु गर्ने भनिए पनि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेलतालिकाका कारण प्रतियोगिता चैत १७ लाई सारिएको शाहीले बताए । धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा हुने प्रतियोगिता वैशाख १ सम्म चल्नेछ । शाहीले आइसिसीसँग स्वीकृति लिने प्रक्रिया अघि बढेको समेत जानकारी दिए ।
‘क्रिकेट खेल र प्र्रविधिलाई सँगै लैजान सकिन्छ भन्ने उद्देश्यले हामीले डिसिएसँग सम्झौता गरेका हौं,’ अलीले भने, ‘हामीले यसअघि पनि आइसिसीका दुई प्रतियोगितामा टिकेटिङ पार्टनरको रूपमा अनुभव बटुलिसकेका छांै । आशा छ, यो साझेदारीले आगामी दिनमा पनि निरन्तरता पाउनेछ ।

साथै बिहीबारबाटै डिपिएलको अक्सनका लागि खेलाडी दर्ता सुरु भएको छ । इ–सेवाकै माध्यमबाट खेलाडीले आफ्नो नाम दर्ता गराउनुपर्नेछ । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले बिहीबारको सम्झौता कार्यक्रममा आफ्नो नाम दर्ता गराएसँगै डिपिएलका लागि खेलाडी दर्ता सुरु भएको थियो । खेलाडीहरूले माघ २५ गतेसम्म नाम दर्ता गर्न सक्ने बताइएको छ ।

दर्तामा सहभागी खेलाडीलाई फागुन ५ गते हुने अक्सनमा राखिनेछ । खेलाडीको अक्सनभन्दा पहिले रुस्लान डिपिएल–२ खेल्ने ६ टोली र ‘रणनीतिक खेलाडी’ तय गरिने आयोजकले बताएका छन् ।
६ सहरका ६ टोलीको सहभागिता हुने प्रतियोगिताको अक्सनका लागि खेलाडी तीन समूहमा वर्गीकरण गरिनेछ । जसअन्तर्गत समूह ‘ए’ मा १५ वटा अन्तर्राष्ट्रिय खेलमा नेपाललाई प्रतिनिधित्व गरिसकेका वा पछिल्लो तीन वर्ष राष्ट्रिय टोलीमा भएका खेलाडी हुनेछन् । त्यस्तै समूह ‘बी’ मा राष्ट्रिय खेलाडी, उमेरसमूह र राष्ट्रिय टोलीको क्याम्पमा परेका खेलाडी हुनेछन् । समूह ‘सी’ मा अन्य खेलाडी हुनेछन् ।
प्रत्येक टोलीमा दुई विदेशी र धनगढी प्रतिभा खोजबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य रुपमा समावेश गर्नुपर्ने नियम छ । प्रतियोगिताको लिग चरणका शीर्ष ४ टोली प्लेअफमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानमा बस्ने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायर विजेता स्वतः फाइनल प्रवेश गर्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो स्थानको टोलीबीच हुने अर्को क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन् भने म्यान अफ दी सिरिजले टिभिएस मोटरसाइलक प्राप्त गर्नेछन् ।

 

प्रकाशित: २१ पुस २०७४ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App