coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थ्री स्टार धनगढीतर्फ

काठमाडौं– एन्फाको गल्तीका कारण एएफसी कपको प्लेअफ खेल्न नपाएयता सबैखाले फुटबल गतिविधिबाट टाढा रहेको रुस्लान थ्री स्टार क्लब मैदानमा पुनरागमन जनाउनका लागि धनगढीतिर लागेको छ ।
धनगढीमा हुने खप्तड गोल्डकपबाट थ्री स्टारले फुटबलमा पुनरागमन जनाउन लागेको हो । विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता शनिबारबाट धनगढी रंगशालामा सुरु हुनेछ । खप्तड गोल्डकपका लागि थ्री स्टारको टोली बिहीबार त्यसतर्फ लागेको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी गराएका छन् ।

शिल्पकारका अनुसार विक्रम लामाको कप्तानीमा रहेको टोलीका गोलकिपरमा एलेन न्यौपाने, अभिषेक बराल, पूर्ण चेम्जोङ छन् भने रक्षकहरूमा अफ्रिकी खेलाडी पिटर सेगुन, अनन्त तामाङ, रजिन धिमाल, विजय धिमाल, असीम भुसाल, जीवन गुरुङ र निराजन महर्जन छन् । यसै गरी मिडफिल्डरमा सुनील बल, लावल, विष्णु गुरुङ र उपकप्तान नीराजन खड्का छन् । फरवार्डमा विमल घर्तीमगर, बुद्ध चेम्जोङ, मार्टिन र विश्वास श्रेष्ठ छन् भने मेघराज केसीले मुख्य प्रशिक्षकका रूपमा टोलीको नेतृत्व गर्नेछन् ।

प्रशिक्षकका रूपमा रवीन्द्र शिलाकार तथा गोलकिपिङ प्रशिक्षकका रूपमा उज्वल मानन्धरले केसीलाई सघाउनेछन् । व्यवस्थापक मुकेश नकर्मी हुँदा कृष्ण कार्की र रुपेन्द्र पुरी अफिसियल तथा सुवास जिसी फिजियोथेरापिस्टका रूपमा टिमसँगै गएका छन् ।
क्लबले बिहीबार एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको थियो ।

प्रारम्भिक चरणको छनोट प्रतियोगितामा विजेता भएर प्लेअफलाई छानिए पनि एन्फाको लापरबाहीका कारण थ्री स्टारले गत वर्षको एएफसी कप प्लेअफ खेल्न पाएको थिएन । एएफसीले एन्फालाई तीन पटकसम्म क्लब दर्ता गराउन पत्राचार गरे पनि नेपाली फुटबलको सर्वोच्च निकायबाट कुनै प्रतिक्रिया नआएपछि एएफसीले थ्री स्टारलाई प्रतियोगिता खेल्नबाट वञ्चित गराएको थियो ।

एन्फाको गल्तीका कारण छनोट चरण पार गरे पनि एएफसी कप खेल्न नपाएपछि थ्री स्टारले सुरुमा दोषीमाथि कारबाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै सो पूरा नभएसम्म फुटबल नखेल्ने निर्णय गरेको थियो । तर गएको भदौमा एन्फा, थ्री स्टार र राष्ट्रिय खेलकुद परिषद्बीच डेढ करोड रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि क्लब फुटबल गतिविधिमा फर्किन लागेको हो ।  
 

प्रकाशित: २१ पुस २०७४ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App