६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश राजधानी वीरगञ्ज माग गर्दै नेताहरू सडकमा

प्रादेशिक राजधानीको माग गर्दै वीरगञ्जमा बिहीबार प्रदर्शन हुँदै । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज – प्रदेश नं २ को राजधानी माग गर्दै विहीबार वीरगन्जमा पर्सा र बाराका विभिन्न दलका नेता तथा नागरिक अगुवा लगायतले प्रदर्शन गरेका छन् । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमता लगायत विभिन्न आधारहरूमा वीरगञ्ज सबैभन्दा उपयुक्त हुँदाहुँदै अन्यत्र लगेर प्रदेश दुईको राजधानी बनाउने प्रयास भइरहेको बताउँदै प्रदर्शन भएको हो।

प्रर्दशनमा सहभागीहरूले दबाव र्‍याली, कोणसभा र नाराबाजी जस्ता कार्यक्रम गरे। दिउँसो २ बजे सयौंको संख्यामा जम्मा भएर उनीहरूले वीरगञ्जको घण्टाघर चोकबाट दवाव ¥याली सुरु गर्दै माइस्थान, महावीरस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै नेताहरूले कुनै पनि हालतमा वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउने दृढता व्यक्त गरे । यसका लागि चरणबद्ध संघर्षका कार्यक्रम गर्ने प्रर्दशनका सहभागीले बताएका छन्। प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न दलका अगुवा, युवाहरू र नागरिक अगुवाको सहभागिता थियो।

‘प्रदेश नं २ लाई बारा र पर्सा जिल्ला हटाएर हेर्दा यस प्रदेशको आर्थिक हैसियत केही हुन्न, आर्थिक रुपमा यति सक्षम प्रदेशमा अन्य कुनैपनि जिल्ला छैनन, त्यसैले पनि प्रदेशको राजधानी वीरगन्ज नै हुनुपर्छ,’ कोणसभामा बोल्दै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्रप्रसाद चौधरीले भने, ‘संघीयतालाई सफल पार्न त्यसको संचालनका लागि आर्थिक सामर्थयको सवाल सबभन्दा प्रमुख हो।’

नेकपा एमालेका जिल्ला समिति सदस्य पूर्व सांसद राजकुमार गुप्ताले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए। ‘वीरगञ्जमा आन्दोलन हुने यहाँका जनताले दुख सहने, उद्योग–व्यापार सबै यहाँको धराशायी हुने र राजधानी जनकपुर हुने?’ नेता गुप्ताले भने ‘वीरगञ्जलाई राजधानी बनाउनु हुँदैन भन्छ भने एमाले पार्टी छोड्न तयार छु, अडानबाट पछि हटिदैन ।’ वीरगञ्ज देशकै केन्द्रीय राजधानी हुन सक्ने हैसियत राख्ने ठाउँ भएको तर्क गर्दै वक्ताहरूले प्रदेश २ मा राजधानीका लागि यहाँभन्दा उपयुक्त ठाउँ अन्त नभएको दाबी गरे। 

नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले चरणबद्ध आन्दोलनको तयारीसाथ आफूहरू सडकमा उत्रिएको बताउँदै वीरगञ्जलाई राजधानी बनाउने सवालमा अहिले पर्सादेखि रौतहटसम्मका जनता एकमत रहेको दाबी गरे । राज्यको विभेदीकरणको शिकार भएको र विगतको रहेक आन्दोलनमा राजनीतिक दलहरूको गतिविधिको केन्द्र बनेर बनेर दुख पाएको ठाउँ वीरगञ्जलाई न्याय दिन यसलाई प्रदेश २ को राजधानी बनाउने हो भने यसले समग्र प्रदेशको समृद्धीको आधार समेत तय हुने उनको भनाई थियो । नेताहरू श्याम पटेल शम्भु गुप्ता, ओमप्रकाश सर्राफ लगायतले कडा आन्दोलनको चेतावनी दिए ।

 

प्रकाशित: २० पुस २०७४ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App