coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

ओलम्पिकको पाठ

विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सव ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता मित्रता, अनुभव, खेलभावना र ओलम्पिक अभियानको पात्र बन्नका लागि मात्र हुने गरेको छ। यो समारोहमा  नेपालले पदक जित्नका लागि खेल्ने बेला आइसकेको छैन। १२ वर्षअघि संगिना वैद्य र ८ वर्षअघि दीपक विष्टबाहेक आफ्नै पौरखमा कुनै पनि नेपाली खेलाडीले अहिलेसम्म ओलम्पिकमा सहभागिता जनाउन सकेका छैनन्। अनिवार्य सहभागिताका खेल एथलेटिक्स र पौडीका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)बाट आउने 'वाइल्डकार्ड' नेपालको ओलम्पिक खेल्ने अहिलेसम्मको आधार हो। तेक्वान्दोका दुई स्टार संगिना र दीपकले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए। यी दुईबाहेक नेपाली मन आफैभित्र रमाउने अर्को एउटा उपलब्धि ओलम्पिकमा रचिएको छ, त्यो पनि तेक्वान्दो खेलबाटै। १९८८ मा सम्पन्न सोल ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा तेक्वान्दो समावेश गरिँदा विधान लामाले कास्य पदक जितेका थिए। तर, आधिकारिक मान्यता नभएका कारण त्यो पदक कहीँकतै गणना हँुदैन।

ओलम्पिकका लागि टोली बिदाइ गर्ने क्रममै नेपालमा खेलाडीलाई राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउने शुभकामना दिने गरिन्छ। यसपटक ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिकमा पनि नेपालको सहभागिता आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउने लक्ष्यमा मात्र सीमित छ। आइतबारसम्म पौडीकी गौरिका सिंह र आर्चरीका जीतबहादुर मोक्तानले प्रतिस्पर्धा गरिसकेका छन्। दुवै खेलाडी आफ्नै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिनबाट पनि चुकेका छन्। बाँकी पाँच खेलाडीबाट पनि नेपाली खेलजगत्ले ठूलो आश गरेको छैन।

विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा नेपालले सहभागिता जनाउन थालेको आधा शताब्दी नाघिसकेको छ। १९६४ को टोकियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाउँदाको अवस्थाबाट नेपाली खेलकुदले कुनै गुणात्मक फड्को मार्न नसकेको यस पटकको उपलब्धिले देखाउँछ। टोकियोमा खाली खुट्टा म्याराथन दौडिँदा भूपेन्द्र सिलवालको पैतालामा धाँजा फाटेको अवस्थाबाट सुधार हुँदै अहिले खेलाडीले जुत्ता पाउन थालेका छन्! तर, अझैसम्म पनि ओलम्पिकको मार्चपासमा झण्डा बोक्नैपर्ने बाध्यता नहुँदो हो त नेपाल भन्ने देशको उपस्थिति देखाउने गरी कुनै तयारी हुने गरेका छैनन्।

नितान्त परिवारको लगानी र खेलाडीको लगावका भरमा नेपालको प्रतिनिधित्व गर्दै रियो पुगेकी १३ वर्षे गौरिका अहिले देशको शान बनेकी छन्। रियो ओलम्पिकमा सहभागिता जनाउने विश्वभरका ११ हजारभन्दा बढी खेलाडीमध्ये उनी सबैभन्दा कान्छी हुन्। त्यही कारण गौरिकाले अन्तर्राष्ट्रियजगत्मा बटुलेको चर्चाका आधारमा मात्र रियोमा नेपालको उपस्थिति सार्थक भइरहेको अवस्था छ। आफ्नै प्रदर्शन वा राष्ट्रिय कीर्तिमान सुधार्नेजस्तो अत्यन्त सानो उद्देश्यमा पनि नेपाली खेलाडीहरू असफल भइरहेका छन् निरन्तर। खेल सकिएपछि हरेक खेलाडी र प्रशिक्षकको गुनासो 'आवश्यक तयारी गर्न नपाएको' भन्ने हुने गरेको छ। आधा शताब्दीभन्दा लामो समयदेखि उस्तै नतिजा आइरहँदा र उस्तै समस्या भोगिरहँदा पनि त्यसलाई सुधार्नमा नेपालको खेल प्रशासन उदासीन रहँदै आएको छ। तयारीलाई औपचारिकता पूरा गर्ने रूपमा मात्र लिएर आफ्नो पद जोगाउन राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र सम्बन्धित खेल संघका पदाधिकारीहरू लिप्त भएकाले नेपाली खेलकुद उँभो लाग्न नसकेको हो। खेलकुदभित्र विभिन्न राजनीतिक दलको डरलाग्दो हस्तक्षेप हुनु, त्यसले प्रत्येक संघ, परिषद् र ओलम्पिक कमिटीमा समेत लाजै नमानी खुल्लमखुल्ला भागबन्डा गरिनुजस्ता नयाँ रोगले पछिल्ला वर्षमा खेलकुदलाई गाँजेको छ। सरकार कहिल्यै खेलकुदमैत्री बन्न सकेको छैन। आफ्नो दलका कार्यकर्ता भर्ती गर्नकै लागि खेलकुदका विभिन्न निकाय उपयोग हुँदै आएका छन्। दलका कोटाबाट पदमा पुगेका व्यक्तिबाट इमानदारीपूर्वक काम हुने अपेक्षा गर्न सकिँदैन। विडम्बना त देशभित्र एउटा पनि अन्तर्राष्ट्रिय स्तरको खेल्ने ठाउँ छैन। आधा शताब्दी बितिसक्दा पनि परिषद् र ओलम्पिक कमिटीका पदाधिकारीहरू मोटाउनुबाहेक खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा गौरवमय उपस्थिति जनाउने अवस्था आएको छैन।

सरकारले खेलमैत्री नीति लिन अब निकै ढिलो भइसक्यो। यसपटकको रियो ओलम्पिक नेपालीको हातबाट उम्किइसकेको छ। तर, चार वर्षपछि फेरि पनि यो समारोह आयोजना हुन्छ। ओलम्पिकबाहेक पनि एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदलगायतका अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सकिन्छ। त्यसैले अझै पनि सरकारले खेलकुदलाई त्यसकै भावनाअनुरूप बुझेर अन्तर्राष्ट्रिय मूल्य–मान्यता पालना गर्दै अघि बढ्न सक्दा नेपाली खेलकुदले सफलता हात पार्न सक्छ। सर्वप्रथम त खेलकुदमा दलीय भागबण्डाको अन्त्य गर्दै खेलभावना बुझेका पदाधिकारीको नियुक्ति आवश्यक छ।  

प्रकाशित: २५ श्रावण २०७३ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App