८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादीमा नेतृत्वनजिक हुन होडबाजी

काठमाडौं- नेकपा एमालेसँग हुने एकीकरणलाई लिएर दोस्रो पुस्ताका माओवादी नेताले नयाँ पार्टीमा ‘पोजिसन’ बनाउने उद्देश्य राख्दा निरन्तर विरोधाभाषी अभिव्यक्ति आउन थालेका छन् । नेतृत्वको नजिक हुने आन्तरिक होडबाजी चलेका कारण पनि एकीकरणका बारेमा माओवादीका दोस्रो तहका नेताबाट विरोधाभाषी अभिव्यक्ति आएको माओवादीकै नेताले बताएका छन् ।
‘पार्टी संयोजन समितिमा दुई नेता भनिएको छ, दुईवटा नेता कार्यकारी भूमिकामा रहनुपर्छ भन्नेमा हामीबीच पनि विवाद छैन’, अध्यक्ष पुष्पकमल दाहालले बुधबार भने, ‘त्यो कुरालाई औपचारिक रुप दिन मात्रै बाँकी छ, समस्या केही पनि छैन ।’ उनका अनुसार पार्टी एकता हुनेमा आशंका गर्नुपर्ने जरुरी छैन ।

एकीकरणका बारेमा शीर्ष नेतृत्व नै टुंगोमा नपुगेको अवस्थामा दोस्रो तहका नेताका अभिव्यक्तिले जनमानसमा अन्योल बढाउने काम भइरहेको निष्कर्ष माओवादी नेतृत्वले निकालेको छ ।

एकीकरणका बारेमा शीर्ष नेतृत्व नै टुंगोमा नपुगेको अवस्थामा दोस्रो तहका नेताका अभिव्यक्तिले जनमानसमा अन्योल बढाउने काम भइरहेको निष्कर्ष नेतृत्वले निकालेको छ । ‘नेतृत्वको नजिक हुन कसैलाई फुलाउने र कसैलाई कम आकलन गर्ने क्रियाकलाप देखिनु राम्रो होइन, जो भइरहेको छ,’ एक शीर्ष नेताले नागरिकसँग भने, ‘पार्टी एकीकरणपछि आफनो अवस्था के हुन्छ भन्ने सोच्ने नेताका कारण नेतृत्वको देवत्करण गर्ने काम भइरहेको छ, जुन सुहाउँदो देखिँदैन ।’
एकीकरणको संकल्पसहित साझा चुनावी घोषणापत्र बोकेर निर्वाचनमा होमिएका एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले दुईतिहाइ हाराहारी मत पाएको छ । तर, एकीकरणपछि आफ्नो हैसियत के हुने भन्ने चिन्ता नेताहरुले लिन थालेपछि अन्योल बढे पनि केही नेताले भने सुधार गरिसकेको उनले जानकारी दिए ।
उनका अनुसार सुरुमा पार्टी एकीकरणप्रति असहमति जनाउँदै आएका कृष्णबहादुर महराले एमाले र माओवादीका अध्यक्षमध्ये ‘एकले पार्टी अध्यक्ष, अर्कोले सरकार प्रमुख’ को सर्त स्वीकार नगरेमा एकीकरण नहुनेसम्म अभिव्यक्ति दिए ।  तर, निर्वाचन परिणाम घोषणालगत्तै महरा पार्टी एकीकरणको पक्षमा देखिए र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्नुपर्ने भन्दै एमालेका शीर्ष नेतासहित निर्वाचन आयोगमा पुगे । सुरुमा पार्टी एकीकरणबारे फरक मत राखेका वर्षमान पुन पनि एकीकरण प्रक्रिया सहज बनाउन लागेका छन् ।
माओवादी केन्द्र छाडेर पुनः पार्टीमा फर्केका नेताहरु भने तुलनात्मक रुपमा बढी आक्रोशित अभिव्यक्ति दिइरहेको देखिन्छ । नयाँ शक्ति छाडेर माओवादीमा प्रवेश गरेका देवेन्द्र पौडेल, मणि थापालगायतका नेताका ‘एकजना प्रधानमन्त्री भए अर्को पार्टी अध्यक्ष, यसो हुन नसके पार्टी एकीकरण हुन नसक्ने’ जस्ता अभिव्यक्ति मिडियामा आइरहेका छन् । अध्यक्षसहित शीर्ष नेतृत्वलाई नलागेको चिन्ता दोस्रो तहका नेताले गरेपछि दाहालको सचिवालयले सरकार निर्माण र पार्टी एकीकरणबारे दिइएका अभिव्यक्ति संकलन गर्न थालेको छ । यो कामको संयोजन दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले गरिरहेका छन् । माओवादी सचिवालय बैठकले दुई पार्टी एकीकरणको सम्पूर्ण म्यान्डेट दाहाललाई दिइसकेको छ ।

प्रकाशित: २० पुस २०७४ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App