दाङ- राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।
रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । यो खर्चअनुसार निकै अस्वाभाविक देखिन्छ । रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको प्रतिक्रिया नागरिकलाई दिए । ‘म मतगणना नसकिँदै निस्कें त्यसैले मेरो भोट कति भनेर मलाई नै थाहा छैन,’ उनले भने, ‘निर्वाचन कार्यालयले तथ्यांक राखेको होला ।’
उनले सबैभन्दा बढी खानपानमा खर्च भएको बताए । ‘म र मेरा प्रतिनिधिले निर्वाचन कार्यालयले दिएको खर्च विवरणसम्बन्धी फाइलमा एकएक विवरण भरेका छौं,’ उनले भने, ‘सबैभन्दा खर्च कार्यकर्ताको खानपानमा भएको छ ।’ यसैगरी सवारीसाधन प्रयोग, इन्धनलगायत चुनाव प्रचारप्रसार सामग्री निर्माणमा रकम खर्च भएको उनले बताए । ‘चुनावका हरेक चिजको व्यवस्थापनमा यति रकम खर्च भइहाल्छ नि,’ उनले भने, ‘कार्यकर्ता परिचालन, चुनावी सामग्री निर्माणमा सामान्य खर्चले कहाँ पुग्छ र ?’ उनले खर्चअनुसार मत भने प्राप्त गर्न नसकेको स्विकारे । ‘उहाँले आफ्नो चुनावी खर्च पेस गरेको विवरण नै हाम्रा लागि आधिकारिक हो,’ निर्वाचन कार्यालयका एक अधिकारीले भने ।
यो क्षेत्रबाट निर्वाचित माओवादी नेता कृष्णबहादुर महराले पेस गरेको खर्च २१ लाख २८ हजार रुपैयाँ रहेको निर्वाचन कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका कांग्रेसका राजु खनालको चुनावी खर्च २० लाख ७० हजार ५ सय पेस भएको छ ।
यसैगरी दाङ क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमबाट निर्वाचन लडेका अशोककुमार यादवको मत पनि चुनावी खर्चको तुलनामा अस्वाभाविक देखिएको छ । चुनावमा चार लाख ३४ हजार रुपैयाँ खर्च गरेका अशोकले ५ सय ७३ मतमात्रै पाए । ‘खर्चअनुसार मैले प्राप्त गरेको मत कम नै हो,’ उनले भने ‘तर चुनाव हो, अपेक्षित मत सबैको आउँछ भन्ने हुँदैन ।’ उनले चुनाव अवधिको एक महिनामा गाडी प्रयोगमा मात्रै डेढ लाख रुपैयाँ खर्च भएको विवरण खुलाएका छन् । यसैगरी कार्यकर्ता परिचालनमा २ लाख खर्च भएको उनले बताए । ‘कार्यकर्ता परिचालन, गाडी प्रयोग तथा प्रचारप्रसार सामग्री निर्माणलगायतको खर्च ४ लाख ३४ हजार त सामान्य नै हो,’ उनले भने ।
दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी ८१ उम्मेदवार थिए । तीमध्ये हालसम्म १८ उम्मेदवारले खर्च विवरण पेस गरेका छन् । मत परिणाम घोषणा भएको ३५ दिनभित्रमा चुनावी खर्च बुझाइसक्नुपर्छ ।
खर्च विवरण बुझाउनेमा प्रतिनिधिसभातर्फ माओवादीका महरा (निर्वाचित), कांग्रेसका खनाल, एमालेका हिराचन्द्र केसी (निर्वाचित), राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका रोका र संघीय समाजवादी फोरमका यादव छन् ।
यसैगरी प्रदेशसभातर्फ एमालेका शंकर पोखरेलले पनि खर्च विवरण पेस गरेका छन् । उनले निर्वाचन आयोगले तोकेको अधिकतम सीमासम्म नै खर्च गरेका छन् । आयोगले प्रदेशसभाका लागि १५ लाख रुपैयाँ चुनावी खर्च तोकेको थियो । दाङ २ (क) बाट निर्वाचित उनले १५ लाख रुपैयाँ चुनावमा खर्च भएको विवरण बुझाएका छन् । खर्च विवरण बुझाउने प्रदेशसभा उम्मेदवारमा नयाँ शक्तिकी पद्मा बानियाँ, राष्ट्रिय जनमोर्चाका खडानन्द खनाल माओवादी केन्द्रका इन्द्रजित थारु (निर्वाचित), एमालेका अमरबहादुर डाँगी (निर्वाचित), उत्तरकुमार ओली (निर्वाचित), रेवतीरमण शर्मा (निर्वाचित), कांग्रेसका भरतबहादुर न्यौपाने, संघीय समाजवादी फोरम नेपालका सीताराम यादव, भरतलाल चौधरी, माओवादी केन्द्रका जगप्रसाद शर्माले पनि खर्च विवरण पेस गरेका छन् ।
‘यो पुस महिनाभरि चुनावी खर्च पेस गर्ने अवधि बाँकी रहन्छ,’ निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले भने, ‘अहिले उम्मेदवार चुनावी खर्च पेस गर्न आइरहनुभएको छ ।’
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत