coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक वर्षमा साढे १५ लाख पर्यटक लुम्बिनी आए

भैरहवा– एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरी साढे १५ लाखभन्दा बढी पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन्् २०१७ मा १५ लाख ५२ हजार पाँच सय ८५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब पौने तीन लाखले बढी हो ।

अर्थात सन् २०१६ मा आन्तरिक तथा बाह्य गरी १२ लाख ७५ हजार चार सय पर्यटक लुम्बिनी आएका थिए । सन् २०१६ को तुलनामा २०१७ मा लुम्बिनी आउने पर्यटकको संख्या २१ प्रतिशतले बढेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । यो वर्ष लुम्बिनी घुम्न आउने तेस्रो मुलुकका पर्यटक आगमनमा उल्लेखनीय वृद्धि नभएपनि आन्तरिक पर्यटकको संख्या भने निकै बढेको छ । लुम्बिनी आउने भारतीयको संख्या पनि बढेको छ ।

कोषका अनुसार एक वर्षको अवधिमा एक लाख ४५ हजार सात सय विदेशीले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या करिब साढे नौ हजारले बढी हो । अर्थात सन् २०१६ मा एक लाख ३६ हजार राहदानीबाहक पर्यटक लुम्बिनी आएका थिए । एक वर्षमा एक लाख ५५ हजार सात सय भारतीय पर्यटक लुम्बिनी आए । सन् २०१६ मा एक लाख ३४ हजार भारतीय लुम्बिनी आएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटक आगमन भने निकै बढेको छ । सन् २०१७ मा १२ लाख ५१ हजार तीन सय ४७ स्वेदेशी पर्यटक लुम्बिनी घुम्न आएको कोषले जनाएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा दुई लाख ३६ हजारले बढी हो । अर्थात सन् २०१६ मा १० लाख १५ हजार नेपाली लुम्बिनी आएका थिए

भारत बाहेक तेस्रो मुलुकबाट लुम्बिनी घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै श्रीलंकाली छन् । श्रीलंकाबाट ४८ हजार पाँच सय २८, थाइल्यान्डबाट २७ हजार ६ सय, म्यानमारबाट २१ हजार पाँच सय ३१, चीनबाट १५ हजार सात सय ७० पर्यटक लुम्बिनी आएका छन् । त्यस्तै कोरिया, भियतनाम र जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मन, स्विजरल्यान्ड, फ्रान्स लगायत देशबाट आउने पर्यटक संख्या पनि गत वर्षको तुलनामा केही बढेको कोषले जनाएको छ ।

सन् २०१२ यता लुम्बिनी आउने पर्यटक संख्या निरन्तर उकालो लागिरहेको छ । तर तथ्यांकले लुम्बिनीप्रति बाह्य पर्यटकको आकर्षण बढ्दै गएको देखाएपनि पर्यटकको बसाइ लम्ब्याउन नसक्दा यहाँको पर्यटन क्षेत्रले उल्लेख्य फाइदा लिन सकेको छैन । जसलाई कोषको तथ्याकले पनि पुष्टि गरेको छ । कोषका अनुसार लुम्बिनी आउने बाह्य पर्यटकमध्ये ८५ प्रतिशत सोही दिन फर्किन्छन् । बाँकी १० प्रतिशत आ–आफ्नै देशका बिहार र गुम्बामा बस्छन् । बाँकी पाँच प्रतिशतको मात्रै पर्यटन व्यवसायीले सेवा गर्ने मौका पाउछन् ।
पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ, अधुरो लुम्बिनी गुरुयोजना तथा लुम्बिनी बाहेकका बुद्धस्थलको प्रचारप्रसारको अभावका कारण पर्यटकको बसाइ लम्बिन नसकेको जानकारहरु बताउँछन् ।
 

प्रकाशित: २० पुस २०७४ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App