coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बेलिब्रिजले खोल्यो खोटाङ जोड्ने अर्को नाका

खोटाङ– खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । दिक्तेल–गाईघाट सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सिधा र छोटो बाटो खुलेको छ । 

गत वर्ष पुस १२ गते बेलिब्रिज जडान गरिएको फोक्सिङटारमा यस वर्ष चार दिनअघि नै अस्थायी जडान गरिएको हो । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाइको बेलिब्रिज शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । 

खोटाङ जोड्ने बाटोमा रहेका दुई नदीमध्ये दूधकोसीस्थित जयरामघाटमा गत मंसिर ८ गतेदेखि पक्की पुल सञ्चालनमा आइसकेको छ । फोक्सिङटारमा भने पक्की पुल निर्माणका लागि ठेक्का लागेको दुई वर्ष बित्दा समेत पुल निर्माणको काम हुन नसक्दा विकल्पमा बेलिब्रिज राखिएको हो । पूर्वी सहर जोड्ने बाटोमा राखिएको बेलिब्रिजले सस्तो दरमा उपभोग्य सामान भित्रिने व्यवसायीको भनाइ छ । 

२०५२ मा निर्माण सुरु गरिएको एक सय एक किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालन भएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगर लगायत सहर जाने छोटो बाटो खुलेको छ । अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पूर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने बाटो खुलेको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए । 

फोक्सिङटारमा बेलिब्रिज नहुँदा पूर्वी सहर जान–आउनका लागि एकमात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग हुने गरेको छ । फोक्सिङटारमा बेलिब्रिज राखिएसँगै आइतबारदेखि सदरमुकाम दिक्तेलबाट गाईघाटका लागि बस छुट्न थालेको यातायात व्यवसायी संघले जनाएको छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सेवा सञ्चालन हुँदै आएको थियो । 

फोक्सिङटारको बेलिब्रिजले खोटाङको दक्षिणी गाविस जोड्नेगरी भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–इन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट क्षेत्रीय सडकबाट समेत सिधै गाइघाट जाने बाटो खुलाएको जिसस खोटाङका संयोजक बबी चामलिङले बताए । खोटाङ र भोजपुरलाई तराईसँग जोड्ने द्रुत मार्गकारुपमा फोक्सिङटारको बेलिब्रिज उपयोगी बनेको छ । घुर्मी–कटारी हुँदै तराई झरिरहेका खोटाङबासी र लेगुवा–धनकुटा हुँदै तराई आउजाउ गर्ने भोजपुरका केही गाविसका लागि यो ‘रुट’ छिटो र सहज बन्ने स्थानीयको भनाइ छ । 

खोटाङको दक्षिणी गाविस जोड्नेगरी भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङ भञ्ज्याङ–इन्द्रेणीपोखरी–सिमपानी–रसुवकाघाट क्षेत्रीय सडकलाई तराईसँग जोड्नका लागि पनि सुनकोसीको बेलिब्रिज उपयोगी बनेको यातायात व्यवसायी संघले जनाएको छ । ‘फोक्सिङटारमा बेलिब्रिज राख्नु खोटाङ र भोजपुर दुवैका लागि फाइदाजनक छ,’ जिसस संयोजक चामलीङले भने, ‘खोटाङबासीले कटारी घुम्नु पर्दैन, भोजपुरकाले लेगुवा–धनकुटा घुम्नु पर्दैन, सिधै तराई झर्न सक्छन् ।’ 

फोक्सिङटार पुल निर्माण सुस्त 
०७३ कात्तिकदेखि तीन वर्षभित्र पूरा गर्ने गरी ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको फोक्सिङटार पुल निर्माणको गति सुस्त छ । त्यसमाथि ०७३ चैत २४ गतेसम्ममा पूरा गर्ने गरी ०६९ चैत २३ मा ठेक्का लागेको फोक्सिङटारको पुलको डिजाइन परिवर्तनका कारण निर्माणका काम वर्षौं पछाडि धकेलिएको हो । 

‘सस्पेन्सन ब्रिज’ वा ‘आर्च’ डिजाइनको पुल बनाउने भन्ने अन्योलकै कारण ठेक्का लागेको दुई वर्षपछि ०७३ कात्तिकमा मात्र पुलको दोस्रो डिजाइन स्वीकृत भएको हो । डिजाइन स्वीकृतिमा भएको अन्योल र ठेकेदारको ढिलासुस्तीले पुल निर्माणले अपेक्षित गति लिन सकेको छैन ।  आव ०७२–७३ मा बजेटको मध्यावधि समीक्षापछि अर्थ मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको गाईघाट–दिक्तेल सडक कालोपत्रका लागि दुई अर्ब ६८ करोड बजेट विनियोजन गरेर कालोपत्रको काम अघि बढाएपनि सोही सडक खण्डमा पर्ने फोक्सिङटार पुल निर्माणको काममा भने ढिलासुस्ती भइरहेको भएको जिल्लाबासीको गुनासो छ ।

प्रकाशित: २० पुस २०७४ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App