८ वैशाख २०८१ शनिबार
अर्थ

साउदी जेलका भुसाल छुटाउन ४६ लाख जुट्यो

साउदी जेलमा रहेका स्थानेश्वर भुसालकी आमा यमकुमारी ।

काठमाडौं– रोजगारीको क्रममा रहेको बेला साउदी अरेबियाको जेलमा परेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न ४६ लाख रुपैयाँ संलकन भएको छ । 
रोजगारीका लागि सात वर्षअघि साउदी पुगेका भुसाल कुनै गल्तीबिना नै साउदीको जेलमा बस्न बाध्य पारिएका थिए । परिवारले दिएको जानकारी अनुसार साउदीमा भुसालले गाडी चलाउँथे । गाडी चलाइहेका बेला पछिल्लतिरबाट आइरहेको ट्रकले ठक्कर दिँदा भुसालको चलाइरहेको गाडी उछिट्टिएर अघि पुग्दै सडकमा हिँडिरहेको कारलाई ठक्कर दिएको थियो । सोही ठक्करले कारमा यात्रा गरिरहेका साउदी नागरिकको निधन भएको थियो । 

चन्दा संकलन गरेर जुटाइएको रकम केही दिनमै सरकारी निकायलाई उपलब्ध गराएर भुसाललाई जेलमुक्त गरिने
 

भुसाल साउदी पुगेको १० महिनामै उक्त घटना भएपनि परिवारले भने घटनाबारे निकै पछि जानकारी पाएको थियो । सडक दुर्घटनापछि अदालतको फैसला नआउँदासम्म बाहिरै रहेका भुसाल पछिल्लो चार वर्षदेखि साउदीको जेद्दास्थित डाबान जेलमा रहँदै आएको त्यहाँस्थित नेपाली नियोगले पीडितको परिवारलाई जानकारी गराएको छ । 

कारलाई ठक्कर दिएर स्थानीय नागरिकको मृत्यु भएको ठहर गर्दै त्यहाँको अदालतले दोषी करार गरेपछि भुसाललाई ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो । रोजगारीका लागि पुगेका व्यक्तिले अदालतको फैसला अनुसार ४५ लाख रुपैयाँ जोहो गर्न नसकेपछि पीडित परिवारले विभिन्न निकायमा हारगुहार गर्दा जेलमुक्त गराउने कुनै उपाय फेला नपारेपछि प्रवासी नेपाली समन्वय समितिले आवश्यक रकम जुटाउन भुसाल उद्धार अभियान थालेको थियो ।

इनोभेटिभ मेनपावरमार्फत साउदी गएका भुसाललाई त्यहाँको रोजगारदाताले पछि सवारी चालक अनुमतिपत्र बनाइदिने प्रलोभन देखाएर गाडी चलाउन लगाएको थियो । साउदीको सवारी चालक अनुमतिपत्र बन्न नपाउँदै सडक दुर्घटनामा स्थानीयको निधन भएपछि त्यहाँको अदालतले दोषी करार गरेको हो । 

भुसालको परिवारले उक्त रकम जुटाउन नसक्ने भएपछि चार महिनादेखि थालिएको चन्दा संकलन अभियानको क्रममा करिब ४६ लाख रुपैयाँ संकलन भएको समितिको अध्यक्ष कुलप्रसाद कार्कीले बताए । उनका अनुसार भुसाल उद्धारका लागि २३ लाख १५ हजार रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ भने २२ लाख ७० हजार रुपैयाँ जम्मा हुने क्रममा छ । 

कार्कीले भुसाल उद्धारका लागि बुधबारदेखि लागू हुने गरी दाताले चन्दा दिन खोजे नलिइने बताए । भुसाल उद्धारका लागि आर्थिक संकलन गर्न वैदेशिक रोजगारीमा गएकाहरूको बढी योगदान रहेको छ । समितिका अनुसार सबैभन्दा बढी रकम गैरआवासीय नेपाली संघले १२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साउदीको जेद्दामा काम गर्ने नेपालीले आठ लाखभन्दा बढी र साउदीकै दमाममा कार्यरत आप्रवासीले ६ लाख रुपैयाँ बढी चन्दा संकलन गरेका छन् । 

अदालतले तोकेअनुसारको रकम मृतकका परिवारलाई बुझाउन नसके भुसाल आजीवन साउदीको जेलमा बस्नुपर्ने फैसला समेत अदालतले गरेको छ । ‘ब्लड मनी’ बुझाउन ढिला भए जुनसुकै बेला मृत्युदण्ड हुन सक्ने भन्दै भुसालको घर परिवार चिन्तित छ । भुसालको उद्धार गर्न आवश्यक रकम जुटिसकेकाले अब केही दिनमै उक्त रकम सरकारी निकायलाई हस्तान्तरण गरिने समितिका महासचिव सोम लामिछानेले बताए । 
‘एनआरएनए र अन्य निकायले घोषणा गरेको रकम प्राप्त हुनेबित्तिकै सबै रकम सरकारी निकायलाई उपलब्ध गराउँछौं,’ लामिछानेले भने, ‘त्यो रकम साउदी पठाएर मृतकका परिवारलाई उपलब्ध गराएपछि भुसाल जेलमुक्त हुनेछन् ।’ लामिछानेले सबैको प्रयासबाट कठिन मानिएको काम गर्न सकेको र जसले गर्दा भुसाल र उनको परिवारमा खुसी दिलाउन थालेको बताए ।  

 

प्रकाशित: २० पुस २०७४ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App