६ वैशाख २०८१ बिहीबार
कला

पुरानामा रंग रोगन

काठमाडौं– नेपाली फिल्म हलिउड र बलिउडबाट  प्रभावित छन् भन्ने आरोप पुरानो हो । नेपाली फिल्म पछिल्लो समय कि बलिउड कि त हलिउडबाट साभार गरिएको प्रशस्त उदाहरण छन् । फिल्मका कथाले ‘कपि’ गरिएको आरोप खेपिरहँदा फिल्मको संगीतमा पनि ‘कपि’ गर्ने चलन बढ्दै गएको छ । फिल्मका गीत र संगीत बलिउड र हलिउडभन्दा पनि नेपालकै पुराना गीतबाट प्रभावित भएर उस्तै लय र संगीतमा आउन थालेकाले पनि विवाद चुलिँदो छ ।

पुराना कमन फ्रेमका गीतहरू चल्छन् कि भन्ने धारणा संगीतकर्मीमा छ । त्यसैले उनीहरू त्यस्ता गीतलाई केही परिवर्तन गर्दै श्रोतामाझ ल्याउँछन् । उनीहरूको यो शैली पुरानो गाडीमा रंग लगाएर नयाँ बनाए जस्तै हो ।

अनमोल केसी अभिनित फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको तीन सातापछि गत आइतबार अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा फिल्मको पहिलो गीत ‘यति यति पानी’ सार्वजनिक भयो । अनमोलको ‘डान्स स्किल’लाई सबैले रुचाइरहँदा गीतले भने नक्कलको आरोप खेपिरहेको छ । अल्मोडा राना उप्रेती र मिष्टर आरजेको स्वर रहेको यो गीत अग्नि व्यान्डको गीतसँग मेल खाएपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ । यो फिल्मको ट्रेलरको संवाद पनि बलिउड फिल्म ‘डन’सँग मिलेको थियो भने गीतको ¥याप वरुण धवन अभिनित ‘स्याटर्डे स्याटर्डे’गीतसँग मिलेको आरोप छ ।

गायक अल्मोडाको स्वरमा रहेको यसअघिको गीत ‘नाइलनको साडीमा’ पनि सार्वजनिक हुनासाथ विवादित बनेको थियो । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा २’मा समावेश गरिएको सो गीतको ओरिजिनल भर्सनका स्रष्टालाई क्रेडिट नदिइएको र गीतलाई बिगारिएको आरोप लागेको थियो । गायिका लोचन भट्टराई र गायक श्याम नेपालीले गाएको ‘ए दाजै नसमाउ नाडीमा’लाई नयाँ भर्सनमा गीतकार प्रिन्स नेपाली र कलाकार दीपकराज गिरीले लेखेका थिए । फिल्मको ओरिजिनल संगीतकार कान्छा मगर नेपाली भए पनि यो गीतलाई अल्मोडाले आफ्नै संगीत भनेर युट्युबमा सार्वजनिक गरेपछि कान्छाको नाम नआएको भन्दै व्यापक विरोध भयो ।

यस सम्बन्धमा धारण राख्दै संगीतकार अर्जुन पोखरेल सर्जक अनुशासित नहुँदा फिल्मी गीतमा विकृति आएको बताउँछन् । ‘पुराना कमन फ्रेमका गीतहरू चल्छन् कि भन्ने धारणा संगीतकर्मीमा छ । त्यसैले उनीहरू त्यस्ता गीतलाई केही परिवर्तन गर्दै श्रोतामाझ ल्याउँछन्,’ उनले नागरिकसँग भने, ‘उनीहरूको यो शैली पुरानो गाडीमा रंग लगाएर नयाँ बनाए जस्तै हो । लोकपनमा अहिले जसरी प्रेमिङ बनाइएको छ, यो भन्दाअघि धेरै यस्तो फ्रेममा गीत बने । तर, अहिले केहीमा चाहिँ मिल्न आएको देखिन्छ ।’

अर्जुनको बुझाइमा फिल्मकर्मी, संगीतकर्मी र मिडियाकर्मीले आशातित गीतहरूको कम प्रवद्र्धन गरेका छन् । ‘सामान्य किसिमका गीतलाई भयंकर बनेर मिडियामार्फत पब्लिसिटी गर्न र युट्युबमा बुस्ट गरेर दर्शक बढाउन फिल्मकर्मी खप्पिस छन्,’ उनको दाबी छ, ‘जसकारण फिल्ममा रहेका राम्रा र आश लाग्दा गीतहरू मरेर गएका छन् । अनि त्यस्तै कम मेहनत गरिएका गीतहरू अवार्डका हकदार बनेका छन् ।’ अर्जुनले संगीतकारको दिमागको क्षमताले उसको सिर्जना अब्बल हुने भए पनि राम्रो संगीत सिर्जनामा त्यस्तो अवस्था कमै देखिएको बताए ।

यही हप्ता सार्वजनिक भएको फिल्म ‘शत्रु गते’को गीत ‘रुपै मोहनी’ले पुरानै गीतबाट मेलोडी सारेको विवाद खेपिरहेको छ । टंक बुढाथोकीको संगीत र स्वर तथा लोकराज अधिकारीको शब्द रहेको यो गीतको लय पनि गायक कुमार बस्नेतको स्वरमा रहेको ‘रक्सी खान जाम दाजु’ सँग मेल खाएको आरोप खेपिरहेको छ ।

फिल्म ‘छक्का पन्जा २’को देउडा भाकाको गीत ‘झ्याम्म झ्याम्म’ पनि विवादमा तानियो । फिल्म ‘देवरबाबु’मा नायिका रेखा थापाले नृत्य गरेको ‘बास्ना मिठो कस्तुरीको’ गीतसँग ‘झ्याम्म झ्याम्म’ मिलेको भन्ने चर्चा चल्यो । ‘झ्याम्म झ्याम्म’मा हरिवंश आचार्य र आस्था राउतको स्वर छ ।

सुनिल थापा शीर्ष भूमिकामा रहेको फिल्म ‘शेरबहादुर’को आइटम गीत ‘कान्छी मट्याङट्याङ’ को ट्युनिङ पनि फिल्म ‘लुट २’को ‘ठमेल बजार’ र फिल्म ‘पर्व’को ‘काले दाइ’ जस्तै सुनिन्छ । यो फिल्मको टिजर हेर्नेले यो फिल्म हलिउडको ‘डन्ट ब्रिद’बाट प्रभावित भएको अनुमान गर्दै आएका छन् । यी त केही पछिल्लो समय चर्चामा रहेको प्रतिनिधी उदाहरण मात्र हुन्, नेपाली फिल्मले कथा र गीतमा बलिउडको नक्कल गर्ने गरेको लामो इतिहास छ ।

निर्देशक मनोज पण्डित स्रष्टामा सिर्जनशील क्षमताको अभावले समस्या आएको औल्याउँछन् । ‘दर्शकलाई दिउँ भन्ने उत्साह नहुने स्रष्टामा नक्कल गर्ने समस्या देखिएको छ । आफू नयाँ केही सिर्जना गर्न नसक्ने अनि पुराना स्रष्टाका सिर्जनालाई रिमेकका नाममा सिर्जना बिगार्ने चलनले विकृति ल्याएको छ,’ मनोजले भने, ‘हाम्रो भूगोल र समाजले स्वीकार्ने किसिमको सिर्जना बनाउन अग्रसरता देखिएन । चर्चामा आउनकै लागि भए पनि अल्छी संगीतकर्मीले नयाँ सिर्जनाको लागि समय छुट्याउन नसक्दाको परिणाम अहिले हामीले देखिरहेका छौं ।’

मनोजका अनुसार अस्तित्वमा भएका विषयलाई त्यहाँ भित्र के कुरा छन् भन्ने खोतलेर देखाउनुको सट्टा ती विषयलाई सतहीमा प्रस्तुत गर्नाले पनि विकृति देखिएको हो । ‘हामी आफूले के सिर्जना गर्न सक्छौं भन्ने भन्दा पनि अरुको सिर्जनालाई कसरी नयाँ ढंगले देखाउन सक्छौं भन्नेतिर लागेर नै फिल्म र संगीतमा विकृति बढेको हो,’ उनले भने । संगीतको मात्र कुरा गर्दा पछिल्लो समय नेपाली गीतले हिन्दी गीतलाई विवाह, पार्टी र भोजभतेरबाट विस्थापित गर्नु उल्लेखनीय हो तर संगीतकर्मीले युटुयुबमा ट्रेन्डिङमा पर्ने चक्करमा कहिले बलिउड त कहिले आफ्नै पुराना गीत उडाउने सोचले उद्योगलाई भलो गर्दैन । फिल्मकर्मी र संगीतकर्मीले बेलैमा यसमा सचेत हुन जरुरी छ ।

 

प्रकाशित: २० पुस २०७४ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App