coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीको नेतृत्वमा नयाँ सरकारः नेता नेपाल

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्।

राजधानीमा बुधबार आयोजित साक्षात्कारमा उनले ओली प्रधानमन्त्री बन्ने बताएका हुन्। ‘वाम गठबन्धनमा एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ,’ नेता नेपालले भने।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल भइरहेको बताउँदै उनले एकता भएपनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने बताए। ‘जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौँ, माओवादीले पनि २१ शताब्दीको जनवाद भनिरहेका बेला समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो,’ उनले भने।

दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको भन्दै नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने स्पष्ट पारे। ‘सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना आवश्यक छ,’ उनले भने।

उनले पदको निम्ति हानथाप गर्नुभन्दा पनि त्याग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

नेता नेपालले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको भन्दै पाँच वर्षसम्म वाम गठबन्धनलाई काम गर्ने वातावरण निर्माण गर्न काँग्रेससँग आग्रहसमेत गरे।

प्रकाशित: १९ पुस २०७४ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App