coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अत्याधिक चिसोले तरार्इकाे जनजीवन कष्टकर

शितलहर बढेपछि वीरगन्जको अलौं चोकमा दिउँसो आगो तापेर समय बिताउदै स्थानीय । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज – मध्य तराईको पर्सा, बारा र रौतहटमा पुस १ देखि सुरु भएको शितलहरका कारण अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । तापक्रम ४ डिग्रीसम्म झरेपछि स्थानीयहरुले यसलाई यो सिजनमा अहिलेसम्मकै कठिन जाडो भनेर ठम्याएका छन् । ‘यस्तो कठिन जाडो मैले महसुस गरेको थिएन्, भित्रैसम्म ठिराउँदैछ, जति बाक्लो लुगा लगाए पनि चिसिएर जाडो भित्रसम्म पस्दैछ,’ घुर ताप्दै भेंटिएका सिर्सियाका ६२ वर्षीय सुदामा चौधरीले भने, ‘अधिक समय आगो तापेर बितेको छ, अरु उपाय नै छैन्।’ 

यो वर्ष जाडो अलि ढिलो गरी आएपनि शितलहरले भने बढी प्रभाव पारेको उनको भनाई छ । उनका अनुसार मानिसदेखि गाईबस्तु र बाख्रा खसी सबैलाई गाह्रो पारेको छ शितलहरले। दिउँसो १ बजे उनीसंगै घुर तापेर बसेका अठराहाका किसुनदेव प्रसाद कुर्मीले जाडोले गर्दा खेतिपातिदेखि घर गृहस्थीसम्मका काममा असर परेको बताए। ‘सितलहरसंगै चलेको सिरोटोले बढी असर पारेको छ, एक त चिसो त्यसमाथी यो हावा ! निकै दुरदिनमा समय कटिरहेको छ,’ कुर्मीले भने, ‘बुढापाका, बालबालिका सुत्केरीहरूलाई बढी समस्या छ, वस्तुभाउलाई उतिकै अप्ठ्यारो छ।’

जाडो बढेपछि मानिसहरूको काममा पनि असर परेको छ । अलौंका सतार मिया करिब १३ दिनदेखि काममा जान पाएका छैनन् । पुरानो फलाम ल्याउने त्यसलाई छुट्याएर किन बेच गर्ने वीरगन्ज नयाँ बस पार्कमा रहेको एउटा फर्ममा काम गर्ने उनी जाडोका कारण नै काममा गएका छैनन् । शितलहरसंगै बरफजस्तो हावा चलेको बेला छोइनसक्ने गरी चिसो भएको फलामको काम हुन नसकेपछि त्यो काम नै केही दिनका लागि बन्द रहेको उनले बताए । निर्माणको काममा खट्ने मिस्त्री र मुजदुरदेखि ठेला रिक्सा चलाउने भारी ओसार्ने, घुम्ती व्यापार गर्ने लगायत पेसामा रहेकालाई यो जाडो बाधा बनेर आएको छ। 

ठेला चालक प्रभु प्रसादले काम गर्ने साहस जाडोमा हराएर गएको टिप्पणी गरे । गत शुक्रवारदेखि पश्चिमी हावा चल्न थालेदेखि यता शितलहर अझ बाक्लिएको थियो । शितलहरले गर्दा मौसम अध्यारो भएपछि ‘भिजिबिलिटी’ न्युनका कारण मध्यतराईको एकमात्र विमानस्थल सिमरामा हावाई अवतरण र उडान पनि प्रभावित भएको सिमरास्थित नागरिक उड्ययन प्राधिकरणको कार्यालयले जनाएको छ । बुधवार दिउँसो वीरगन्जको तापक्रम ४ डिग्री मापन गरिएको छ । 
बिहीवार बिहान ५ बजे तापक्रम ३ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ। वीरगन्ज महानगरपालिकाको कार्यालयले वितरण गरेको दाउरा ठाउँठाउँमा बालिएपछि सहरी क्षेत्रमा मानिसहरूलाई जाडो छल्न मद्दत मिल्यो । गाउँहरूका गुइठी, धानको खेतबाट निस्किने पराल, पोरसा आदिको घुर बालेर मानिसहरूले समय बिताएका छन् । 
 
 

प्रकाशित: १९ पुस २०७४ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App