७ वैशाख २०८१ शुक्रबार
समाज

‘न रह्यो गास, न रह्यो बास’

हलेसीमा आगलागीमा जलेको घरको भग्नावशेषबाट उपभोग्य सामग्री निकालिँदै । तस्बिर : दमन राई

खोटाङ– आगलागीमा घर जल्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई मंगलबार राती घरमा थिएनन् । घरमा भएका बालबच्चा पनि आफन्तको घरमा बास बस्न पुगेका थिए। 

बन्द गरिएको उनकै घरभित्रबाट उठेको आगोको लप्काले उनको किराना पसल सञ्चालन हुँदै आएको आएको दुई वटा घर मात्र जलेनन्, जीवनभर दुःख गरेर जोडेको सम्पत्ती समेत खरानी बनाइदिएको छ। आगोले ठूलो रुप लिइसकेको र अन्य नजिकका घरमा समेत फैलिसकेको अवस्थामा थाहा भएकाले घरभित्रबाट केही निकाल्न नसकिएको मगमले बताए । ‘हेर्दाहेर्दै व्यापार व्यवसायका सामान लगायत जलेर नष्ट भयो,’ उनले भने, ‘शरीरमा लगाएको लुगाभन्दा केही बचेन।’ उनले आगोमा झण्डै करोडको क्षति भएको बताए । घर जलेपछि उनका सात जनाको परिवारको उठिबास भएको छ। 

मंगलबार साँझ साँढे ७ बजेपछि सुरु भएको आगोले मगमकोसँगै जोडिएका उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा क्षति पुगेको छ । हलेसीमा वर्षौँदेखि किराना पसल, होटल तथा लज व्यवसाय सञ्चालन गर्दैआएका उचित, तम्बराज र अम्बराजको पनि मगमकै हालत बनेको छ । उनीहरूको पनि शरीरमा लगाएका लुगा बाहेकका सामान जोगिएन। ‘पन्ध्र–बीस मिटरभन्दा नजिक जाने स्थिति थिएन । किराना सामान, खाद्यान्न, पेय पदार्थ लगायत केही पनि निकाल्न पाएनौँ,’ अम्बराजले भने, ‘न गाँस रह्यो, न बास नै रह्यो ।’ सबैथोक जलेपछि पाँच जनाको परिवारको विचल्ली भएको अम्बराजले बताए। 

आगोलागीमा प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोबिन राई, महानन्द राई, सरणसरी राई लगायतको घर, पशल तथा होटलमा आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ। धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार व्यवसायीका पाँच वटा घर पूर्णरुपमा नष्ट भएको छ । कतिपय टहरा समेत जलेका छन् । जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दिर प्रवेशद्वार नजिकैको क्षेत्रमा आगो लागेको हो । अग्नी रेखाकारुपमा बस्तीबीचकै घर भत्काएर चार घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । प्रकाशचन्द्र र रेगिन्द्रको घर आगो फैलिनबाट रोक्नका लागि भत्काइएको हो।

ग्याँस पड्किँदा आगो नियन्त्रणमा खटिएका इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयवासीलाई सकस परेको थियो। आगलागीमा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। मगमको दुई वटा घर जल्दा ८० लाख, उचितबहादुर, तम्बराज र अम्बराजको घर जल्दा एक÷एक करोड, जगदिस दासको होलसेल पसल जल्दा एक करोडको क्षति भएको छ। यस्तै, आंशिक क्षति बेहोरेका प्रकाशचन्द्रको १५ लाख, रेगिन्द्रको १ लाख, गोविनको ५ लाख, सरणसरीको ५ लाख, महानन्दको १ लाख लगायत क्षति भएको प्रहरीले जनाएको छ। 

हलेसी बजारलाई थप क्षतिबाट जोगाउनका लागि घर भत्काउन र आगोमा माटो हाल्न जेसिभि समेत घट्नास्थलमा पु¥याइएको थियो। ग्याँस पड्किन थालेपछि आगो नियन्त्रण बाहिर गएको स्थानीय सन्देश राईले बताए। बाक्लो बस्तीबीचमै आगो सुरु भएपछि हलेसीमा त्रास फैलिएको थियो। आगो सुरु भएपछि घर रित्याएर भागाभाग नै मच्चिएको थियो। सुक्खाग्रस्त क्षेत्रमा भएको आगलागी पानी अभावमा नियन्त्रण गर्न समस्या परेको उद्धारकर्मीले बताएका छन्। ग्याँस लिक भएर वा विद्युत सर्ट भएर आगो सुरु भएको यकिन हुन सकेको छैन। 

हलेसीका आगलागीबाट विस्थापित परिवारको बसोबासका लागि नगरपालिकाले अस्थायी आवासको व्यवस्था गरेको छ । शेरगण मुढे व्यारेकका नेपाली सेना र शसस्त्र प्रहरी बल हलेसी गुल्मका शसस्त्र प्रहरीका जवानले अग्नी पिडितका लागि अस्थायी टहरा निर्माण गरिदिएको छ। 

दमकल बाटैमा बिग्रिएपछि...
हलेसीमा सुरु भएको आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट पठाइएको दमकल हलेसी नपुग्दै बाटैमा बिग्रिएर थन्किएको छ। लामो बाटो त्यसमा पनि बाटैमा बिग्रिएपछि दमकल नपुग्दै आगो नियन्त्रणमा आएको थियो। 

आगो नियन्त्रण बाहिर गएपछि दिक्तेलबाट राती साँढे ८ बजे पठाएको दमकल अर्खौलेको नागीमा बिग्रिएको थियो । झिकाइएको दमकल घट्नास्थलमा आइनपुग्दा स्थानीय आक्रोशित बनेका छन् । दिक्तेलबाट हलेसी पुग्न दमकललाई कम्तीमा तीन घण्टा लाग्छ। नजिक दमकल भएको भए आगोबाट ठूलो क्षति हुनबाट बचाउन सकिने अग्नी पीडित अम्बराज राईले गुनासो गरे। आगोलागी भएको सूचना पाए लगत्तै दिक्तेलबाट नेपाली सेना र श–सस्त्र प्रहरी समेत हलेसी पुगेको थियो। 

प्रकाशित: १९ पुस २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App