८ वैशाख २०८१ शनिबार
अर्थ

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

पोखरा- दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घाैंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ।

त्यस्तै चाउथे, बिरौटा लगायत क्षेत्रमा दुई वर्ष अघिसम्म एक हात जग्गा डेढ लाख रुपैयाँमा किनबेच हुन्थ्यो। अहिले ५ लाख रुपैयाँसम्म पुगेको छ। पोखरा र आसपासका क्षेत्रमा जग्गाको मूल्य बढेको यी केही उदाहरण मात्र हुन्। अहिले यहाँको जग्गाको भाउ तीव्र गतिमा अकासिएको छ। यसले कम आयस्रोत हुने व्यक्तिलाई बसोबासका लागि सामान्य घडेरी जुटाउन पनि नसक्ने अवस्था छ।

पछिल्लो समय जग्गाको भाउ निकै नै तीव्र रुपमा बढेको जग्गा व्यवसायी बताउँछन्। 'पछिल्लो दुई वर्षमा जग्गाको भाउ अचाक्ली बढेको छ। केही वर्षअघि जस्तै अहिले रातारात मूल्य बढेको छ,' गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अर्जुन पोखरेल भन्छन्, 'जग्गाको भाउ बढेर डरलाग्दो अवस्था छ। तैपनि किनबेचमा कुनै कमी छैन। भाउ बढे पनि कारोबार भने रोकिएको छैन।'

पोखरेलका अनुसार पछिल्लो दुई वर्षमा कतिपय ठाउँको जग्गाको भाउ ४ सय प्रतिशतभन्दा धेरै बढेको छ। यसले लगानीलाई जोखिममा पार्ने डर व्यवसायीमा पलाउन थालेको उनले बताए। 'जग्गाको भाउ बढेको देख्दा हामी नै डराउन थालेका छौं। तैपनि किनबेच चलिरहेको छ,' पोखरेलले भने, 'भाउ बढ्दा पनि किनबेच नरोकिएकाले त्रसित हुनुपर्ने अवस्था छ।'

पोखरेलका अनुसार पोखराभित्रका चाउथे, बिरौटा र लेखनाथ क्षेत्रमा अहिले अधिक मात्रामा जग्गाको भाउ बढेको छ। अन्यत्र पनि पोखरा बजारको मुख्य सहरको भित्री खण्डको जग्गा सरह मूल्य पर्न थालेको पोखरेलले बताए। यो वृद्धि अप्राकृतिक रहेको र यसले जुनसुकै बेला जोखिम निम्त्याउन सक्ने उनको बुझाइ छ।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रक्रिया सुरु हुनु, उपमहानगर रहेको पोखरा महानगर उन्मुख हुनु, भूकम्प जाँदा क्षति कम हुनुले जग्गाको कारोबार उकासेको उनले बताए। 'धेरैको रोजाइमा अहिले पोखरा र आसपास क्षेत्र पर्न थालेको छ। सामान्य बसोबासका लागि अहिले जग्गा किन्ने बढेका छन्। अधिक माग भएपछि रातारात मूल्य बढ्यो,' उनले भने। पोखरा उपमहानगरभन्दा केही बाहिर यतिबेला जग्गा कारोबार अधिक छ। लेखनाथ, हेम्जा क्षेत्रमा धमाधम प्लटिङ भइरहेको छ। यसले कारोबार बढाउँदै गएको उनले बताए।

उनका अनुसार राष्ट्र बैंकले केही वर्ष अघिसम्म जग्गामा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई केही खुकुलो बनाइदिएको थियो। जग्गा मूल्यको ८० प्रतिशतसम्म वित्तीय संस्थाले लगानी गर्न सक्नेमा अहिले घटाउँदै ५० प्रतिशतमा झारेको पोखरेलले बताए। 'वित्तीय संस्थाले बढीमा ५० प्रतिशत मात्र लगानी गर्न पाउँछन्। तर पनि ग्राहकले पैसा जुटाएका छन्। वित्तीय संस्थालाई कम जोखिममा पार्न राष्ट्र बैंकले केही कडाइ गरे पनि कारोबार घटेन,' उनले भने, 'बैंकको लगानी घटे पनि व्यक्तिले रकम जुटाएका छन्।'

बैंकरहरु पनि पोखरा आसपासमा अहिले जग्गाको भाउ बढेको देख्दा अचम्मित छन्। ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी घरजग्गाको मूल्य डरलाग्दो गरी बढेको बताउँछन्। 'हुन त अहिले सबैतिर जग्गाको भाउ बढेको छ। तर, पोखरामा अचाक्ली छ। यसले आर्थिक क्षेत्रमा खतराको संकेत देखाएको छ,' उनले भने, 'हाम्रो अर्थतन्त्र कुनै पनि बेला धरापमा पर्न सक्छ। अहिले जग्गाको मूल्य अकासिँदा खुसी हुने बेला छैन।'

जग्गाको मूल्य बढ्दा वित्तीय संस्था, सरकार र व्यक्ति नै धराशयी हुने खतरा बढेको उनले बताए। 'जनताले लगानी गर्ने ठाउँ पाएका छैनन्। उत्पादनशील क्षेत्रमा लगानी गर्न नपाएपछि घरजग्गामा लगानी गरेका हुन्। घरजग्गाको लगानी सुरक्षित क्षेत्र होइन,' अधिकारीले भने, 'सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ। अहिलेको लगानी उत्पादनशील क्षेत्रको साटो अनुत्पादक क्षेत्रमा बढी छ।'

बैंक तथा वित्तीय संस्थाले कर्जाको १० प्रतिशत रियल स्टेटमा लगानी गर्नुपर्ने नियम बदलेर सीमा घटाउनुपर्ने अधिकारीको सुझाव छ। '१० प्रतिशतको बाध्यकारी लगानी घटाउने हो भने जोखिम कम हुन्छ। यसबाट वित्तीय संस्था जोगिन सक्छन्। नत्र अन्तिम पटकका लगानीकर्ता बढी जोखिममा पर्छन्,' उनले भने।

राजनीतिक दलमा आर्थिक क्षेत्रका विज्ञ कम हुँदा यो समस्या बढेको अधिकारी बताउँछन्। 'राजनीतिक दलका नेताहरुले राजनीतिक मुद्दालाई आर्थिक क्षेत्रमा परिवर्तन गर्न सकेनन्। आर्थिक क्षेत्र दलको प्राथमिकतामा परेन। यसले हाम्रो अर्थतन्त्रलाई कुनै पनि बेला जोखिममा पार्न सक्छ,' उनले भने, 'आर्थिक स्थिरता नहुनु नै मुल समस्या हो।'

जग्गामा बढी लगानी गर्दा आर्थिक क्षेत्रमा जोखिम बढाउने अर्थशास्त्रका प्राध्यापक लेखनाथ भट्टराई बताउँछन्। 'जग्गाको लगानीले उत्पादन बढाउँदैन, एकातिरको रकम अर्काेतिर ट्रान्सफर हुने मात्र हो,' उनले भने, 'यसले वित्तीय क्षेत्र समस्यामा पार्न सक्छ।' वित्तीय संस्था जोगाउन राष्ट्र बैंकले घरजग्गामा लगानी कम गर्न भने पनि नघटेको उनी बताउँछन्। 'जग्गा किनबेच गर्न कहाँको पैसा उपयोग गरेका छन्् भन्ने मात्र हो। अहिले रेमिटेन्सले साथ दिएर हो,' भट्टराईले भने, 'जहाँको जग्गा जसरी पनि बेच्न थालिएको छ। यसले अप्ठेरो पारेको हो। जथाभावी जग्गा प्लटिङ गरेर बेच्दा समस्या छ।'

जग्गाको कारोबार बढ्दा आर्थिक गतिविधिमा तोडमोडको त्रास हुने उनी बताउँछन्। 'अहिले धेरैले जग्गामा जुवा खेलेका छन्,' उनले भने, 'यो जोखिम हो। घरजग्गा कारोबारलाई बढी खुला गर्नु राम्रो होइन। जग्गा किनबेच बढाउनु राम्रो होइन। अहिले यसैले जोखिम निम्त्याएको छ।'

प्रकाशित: २५ श्रावण २०७३ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App