८ वैशाख २०८१ शनिबार
अन्य

ल्यापटप छान्न सरल | ल्यापटप गाइड

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप कम्प्युटरभन्दा धेरै लोकप्रिय भएका छन् ।  धेरैजसो व्यग्तिगत प्रयोगको लागि खरिद गरिने ल्यापटपमा यति धेरै प्रकारका फिचर हुन्छन् कि किन्ने बेलामा सोच्दा-सोच्दै रिंगटा पनि लाग्न सक्छ । तर यी केहि तत्वहरुलाई विचारमा राख्नुभएमा ल्यापटप खरिद गर्दा तपाईंलाई धेरै सजिलो हुनेछ : 

के कामको लागि ल्यापटप चाहिएको हो ?

  • मनोरञ्जन – फिल्म वा टेलिसिरिज हेर्न ल्यापटप किन्दै हुनुहुन्छ भने १५ इन्चभन्दा माथिको स्क्रिन भएको र एचडी (१९२०x१८०० पिक्सेल) डिस्प्ले भएको ल्यापटप ठिक हुन्छ । धेरैवटा फिल्म राख्न ५०० जिबी वा त्योभन्दा बढीको हार्ड ड्राइभ भएको ल्यापटप उचित हुन्छ ।
  • धेरै यात्रा गर्नुपर्ने – ल्यापटप बोकेर हिँड्नुपर्ने काम हुन्छ भने २.५ केजी वा सोभन्दा कम वजनको, १३ इन्चभन्दा कमको स्क्रिन र ६ घन्टा भन्दा धेरै ब्याट्री कै पावरमा चल्ने ल्यापटप चाहिन्छ । ब्याट्रीबारे बुझ्दा सोही कम्पनी वा बिक्रेताको कुरामा भन्दा इन्टरनेटमा भएका ल्यापटप समीक्षाको भर गर्नुहोला ।
  • ग्राफिक्सको काम गर्न वा गेम खेल्न – एचडी डिस्प्ले, कमसेकम ८ जिबी र ग्राफिक्स कार्ड ल्यापटपमा सबैभन्दा चाहिने कुराहरु हुन् । ल्यापटपको प्रोसेसर पनि क्वाड–कोर भएको राम्रो हुन्छ ।

बजेट कति छ ?

  • ३० हजारसम्म: क्रोमबुक ल्यापटप यति बजेटमा आउँछन् तर यी ल्यापटपमा ढिलो चल्ने प्रोसेसर र थोरै मात्र हार्ड ड्राइभ स्पेस हुन्छ ।
  • ३० हजारदेखि ५० हजारसम्म: साधारण प्रयोगका लागि यति बजेटमा धेरै ब्रान्ड र मोडलका ल्यापटप पाइन्छन् । आइ ३ वा उत्तिकै चाँडो चल्ने प्रोसेसरहरु, ५०० जिबीदेखि १ टिबीसम्मका हार्ड ड्राइभ र ४ देखि ८ जिबीको र्‍याम भएका ल्यापटप यति बजेटभित्र आउँछन् । एचडी डिस्प्ले र लामो ब्याट्री लाइफ चाहिँ यस बजेट वर्गमा पाउन अलि मुस्किल पर्न सक्छ । 
  • ५० हजारदेखि ९० हजार: यति बजेटमा साधारण ल्यापटपका फिचरबाहेक एचडी डिस्प्ले, लामो ब्याट्री लाइफ र अझै छरिता प्रोसेसर भएका ल्यापटप पाइन्छन् । यस बजेट श्रेणी र यहाँभन्दा माथिका सबै ल्यापटपका लागि उत्पादकले आकर्षक डिजाइनमा पनि धेरै जोड दिएको देख्न सकिन्छ ।
  • ९० हजारभन्दा माथि: ९० हजार रुपैयाँभन्दा माथिको बजेटमा छिटो चल्ने अनि बोक्न पनि हल्का भएका उत्कृष्ट ल्यापटप पाइन्छन् । एप्पलका म्याकबुक धेरैजसो १ लाखभन्दा अलि धेरै पर्छन् र अझ गेमिङ ल्यापटपलाई डेढ लाखभन्दा पनि धेरै बजेट छुट्ट्याउनु पर्छ ।

आफ्नो बजेट र प्रयोग अनुसारको ल्यापटप भेटेपछि इन्टरनेटमा तिनका विषयमा लेखिएका समीक्षाहरु पढेर एकअर्काको तुलना गरेपछि मात्र किन्नु राम्रो हुन्छ ।

 

प्रकाशित: १९ पुस २०७४ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App