coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बाहिरिने खतरामा ब्राजिल

रियो दी जेनेरियो- इराकसँग गोलरहित बराबरीमा रोकिएपछि आयोजक ब्राजिल फेरि एकपटक लज्जाजनक रूपमा ओलम्पिक फुटबलको पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ। बार्सिलोनाका सुपरस्टार नेइमारको टोलीले रियो २०१६ को पुरुष फुटबलअन्तर्गत आइतबार (नेपाली समयअनुसार सोमबार बिहान) इराकसँग बराबरी नतिजा निकालेको थियो।

समूह 'ए' बाट अगाडि बढ्न अब आयोजक ब्राजिलले बुधबार शीर्ष स्थानको डेनमार्कविरुद्ध हुने खेल जित्नै पर्नेछ। दुई वर्षअघि आफैले आयोजना गरेको विश्वकपमा पनि अन्तिम चारको खेलमा जर्मनीसँग ७–१ को लज्जाजनक हार बेहोर्दै ब्राजिल बाहिरिएको थियो।

पाँचपटकको विश्वकप विजेता टोलीले पछिल्ला समयमा बेहोरेका पीडादायी घाउमा पहिलोपटक ओलम्पिक स्वर्ण पदक जिताउँदै नेइमारले मलम लगाउने अपेक्षा गरिएको थियो। तर नेइमार नामअनुसारको प्रदर्शनबाट बिमुख हुँदा टोलीले लगातार दोस्रो बराबरी खेल्यो। पहिलो खेलमा टोली दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको थियो।

'हामीले आफ्नो स्वाभाविक फुटबल खेल्न सकिरहेका छैनौं। घरेलु मैदानमा हामीले पर्याप्त मात्रामा दर्शकको साथ पाइरहेका छौं। तर विपक्षी पोस्टमा हामी प्रभावकारी हुन सकेनौं,' समर्थकसँग माफी माग्दै ब्राजिलका प्रशिक्षक रोगेरियो मिचेलले भने, 'ब्रासिलियाका मानिसहरू हामीलाई साथ दिन रंगशाला भरिने गरी आए तर हामीले उनीहरूलाई खुसी दिन सकेनौं। यसका लागि हामी माफी चाहन्छौं।'

पोर्चुगल र नाइजेरियाले सोमबार बिहानका खेलमा क्रमशः होन्डुरस र स्विडेनमाथि विजय हासिल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। अन्य खेलमा अर्जेन्टिना, डेनमार्क र मेक्सिकोले पनि जित हासिल गरे।

समूह 'ए' मा ब्राजिल बराबरीमा रोकिँदा डेनमार्कले दक्षिण अफ्रिकामाथि १–० को जित निकाल्यो। रोबर्ट स्कोभले अन्तिम २१ मिनेट बाँकी रहँदा गोल गरेपछि डेनमार्क जित निकाल्न सफल भएको थियो।

एट्लेटिको मड्रिडका एन्जेल कोरियाले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेपछि १० जनामा समेटिएको अर्जेन्टिनाले अल्जेरियामाथि २–१ को जित निकाल्यो। तेस्रोपटक ओलम्पिकमा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो समय भोगेको निराशा बिर्सने प्रयासमा रहेको अर्जेन्टिना जितका बाबजुद अघिल्लो चरण जाने पक्का भइसकेको छैन। पहिलो खेलमा पोर्चुगलसँग २–० को हार बेहोरेका कारण समूह 'डी' बाट क्वार्टरफाइनल पुग्नका लागि अर्जेन्टिनाले बुधबार होन्डुरसविरुद्धको खेल जित्नैपर्छ। पोर्चुगलले भने होन्डुरसलाई २–१ को नतिजामा हराउँदै अन्तिम आठमा स्थान पक्का गर्‍यो। अल्बर्थ इलिसले पहिलो मिनेटमै गोल गरेर होन्डुरसलाई अग्रता दिलाए। तर पोर्चुगलका टोबियास फिग्विरेडो र गोन्कालो पासिन्सियाले गोल गर्दै युरोपेली टोलीलाई क्वार्टरफाइनल पुर्‍याए।

आर्सनलका विंगर सेर्गे जिनाब्रीले इन्जुरी समयमा गरेको गोलमा दक्षिण कोरियासँग ३–३ को रोमाञ्चक बराबरी नतिजा निकालेपछि विश्व च्याम्पियन जर्मनी अगाडि बढ्ने आशा जोगाउन सफल भएको छ। समूह 'सी' अन्तर्गत साल्भाडोरमा भएको खेलमा ही चान ह्वाङको गोलमा दक्षिण कोरियाले २५ औं मिनेटमा अग्रता लिएको थियो। जर्मनीका लागि जिनाब्रीले ३३ औं मिनेटमा पहिलो व्यक्तिगत गोल गर्दै खेल बराबरीमा ल्याए। डेविड सेल्केको गोलमा दोस्रो हाफको १० मिनेटपछि जर्मनीले २–१ को अग्रता लियो। तर ह्युङ मिन सनले ५७ तथा ह्युन जुन सुकले ८६ औं मिनेटमा गोल गरेपछि दक्षिण कोरिया जित नजिक पुगिसकेको थियो। जहाँ जिनाब्रीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेर जर्मनीलाई महŒवपूर्ण एक अंक दिलाए।

समूहको अर्को खेलमा इरिक गुटिरेजको चार गोलप्रेरित मेक्सिकोले फिजीमाथि ५–१ को प्रभावशाली जित दर्ता गरायो। रोए कृस्नाको गोलमा १० औं मिनेटमा फिजीले अग्रता लियो। गुटिरेजले ४८ औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। ५५ औं मिनेटमा दोस्रो गोल गरेका उनले ५८ औं मिनेटमा ह्याटि्रक पूरा गरे। गुटिरेजले चौथो व्यक्तिगत गोल ७३ औं मिनेटमा गरेका थिए। यसबीच मेक्सिकोबाट कार्लोस साल्सेडोले ६७ औं मिनेटमा एक गोल गरेका थिए।

सोमबार विहानका नतिजापछि समुह 'सी' मा दुई खेल सकिदा समान ४ अंकका साथ दक्षिण कोरिया र मेक्सिको शीर्ष दुई स्थानमा छन् भने २ अंकमा सिमित जर्मनी तेस्रो स्थानमा छ।

सोमबारै उमार सादिकको गोलमा स्विडेनमाथि १–० को विजय हासिल गर्दै नाइजेरिया ६ अंकका साथ समुह 'बी' बाट क्वार्टरफाइनल पुगेको छ। अर्को खेलमा कोलम्बिया र जापानले २–२ को बराबरी नतिजा निकाले। टियोफिलो जुटिरेजको गोलमा ५९ औं मिनेटमा अग्रता लिएको कोलम्बियाले त्यसको सात मिनेटपछि अग्रता दोव्वर पारेको थियो। हिरोकी फुजिहारुले आत्मघाति गोल गरेपछि ६६ औं मिनेटमा कोलम्बिया २–० ले अघि बढ्यो। तर जापानले त्यसपछि पुनरागमन जनाउने क्रममा ताकुमा आसानोले ६८ तथा शोया नाकाजिमाले ७४ औं मिनेटमा गोल गर्दै अंक बाँढे। सोमबारका नतिजापछि उपविजेताको रुपमा अगाडि बढ्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। दुई खेलको समाप्तीमा २ अंकका साथ कोलम्बिया समुहको दोस्रो स्थानमा छ भने जापान र स्विडेनको खातामा समान १ अंक छ।

प्रकाशित: २५ श्रावण २०७३ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App