coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेल कतारबाट, मन क्रोएसियासँग

रियो दी जेनेरियो- क्रोएसियाका खेलाडी मार्को बागारिकका लागि कतारको राष्ट्रिय टोलीबाट खेल्न निकै असहज भइरहेको छ। तर ओलम्पिक सपनाका लागि खेलाडीहरू जस्तोसुकै अप्ठेरा सामना गर्न पनि तयार हुन्छन्।

बागारिकको टोलीले रियो ओलम्पिकको पुरुष ह्यान्डबलअन्तर्गत पहिलो खेलमा उनको आफ्नै देश क्रोएसियालाई ३०–२३ को अन्तरमा पराजित गर्‍यो। ब्राजिलको रियो दी जेनेरियोमा जारी ओलम्पिकमा उनको टिम कतार हो। उनी पेट्रोलियम पदार्थको धनी देशले बनाएको १४ सदस्यीय ह्यान्डबल टोलीका ११ आयातीत खेलाडीमध्ये एक हुन्।

बागारिकका लागि जारी ओलम्पिकमा सबैभन्दा बढी कठिन समय राष्ट्रिय गान बज्ने बेला हुने गर्छ, उनीजस्ता अरु आयातीत खेलाडीलाई जस्तै। 'मैले यो टिमका धेरै खेलाडीसँग खेलिसकेको छु। कतिपय खेलाडीसँग त क्रोएसियामा क्लबबाट सँगै खेलेको पनि छु। सँगै बसेको छु। त्यसैले अरु बेला त्यति गाह्रो हुँदैन,' आफ्नो जन्मभूमिमाथिको जितमा एक गोलसमेत गरेका ३० वर्षे खेलाडीले भने, 'राष्ट्रिय गानको बेला भने निकै सकस हुन्छ। कतारले मलाई ओलम्पिकमा खेल्ने मौका दिएको छ। त्यसैले म केही गर्न पनि सक्दिनँ। ओलम्पिक हरेक खेलाडीको उच्चतम सपना हो। यो सपनाका लागि मैले यो कठिनाइ उठाएको छु। मेरा लागि राष्ट्रिय गानको समय निकै नरमाइलो हुने गर्छ। तर खेलपछि रमाइलो गर्न पाइन्छ।'

क्रोएसिया ओलम्पिकको ह्यान्डबलमा उपाधि दाबेदारमध्येको एक हो। ओलम्पिक पुरुष ह्यान्डबलमा १९९६ र २००४ को च्याम्पियनभन्दा राम्रो इतिहास पूर्व सोभियत युनियनको मात्र छ। तर, ह्यान्डबलका दुवै महारथी गतवर्षको विश्व च्याम्पियनसिपको उपविजेताको छायाँमा परिसकेका छन्।

कतारले यो खेलमा ठूलो फड्को मारिसकेको छ। टोली विश्व स्तरीय उपाधि जित्ने युरोप बाहिरको पहिलो टोली हो। तथापि कतारको सफलता विवादरहित भने छैन। कतारी टोली पाँच बाल्कन, दुई सिरियाली, एक फ्रान्सेली, एक स्पेनिस, एक क्युबाली र एक इजिप्सियन खेलाडीबाट एसेम्बल भएको छ। उनीहरूको प्रशिक्षक भालेरो रिभेरा पनि स्पेनिस हुन्। कतारले यो टोली तयार गर्न दसौं लाख डलर खर्चेको छ। ह्यान्डबलको लचिलो नियमका कारण यसरी टिम एसेम्बल सम्भव भएको हो।

अन्तर्राष्ट्रिय रूपमै ह्यान्डबलको नियम अरु थुप्रै खेलभन्दा फरक छ। ह्यान्डबलमा खेलाडीले आफ्नो राष्ट्रियता परिवर्तन गर्न पाउने नियम छ। वर्तमान कतारी टोलीका खेलाडी बर्टरान्ड रोइनी पनि पाँच वर्षअघि आफ्नै देशबाट विश्व च्याम्पियन बनेका थिए। खेलाडीले राष्ट्रिय टोली परिवर्तन गर्न चाहे तीन वर्षको आराम लिनुपर्छ। कुनै देशको टोलीबाट खेलिरहेको खेलाडीले तीन वर्ष त्यो टिमबाट नखेले अर्को देशबाट खेल्न पाउँछन्। साथमा ह्यान्डबलमा विदेशी खेलाडीको निश्चित कोटा नहुने भएकाले जति पनि विदेशी खेलाडी समावेश गर्न पाइन्छ। त्यही कारण विश्व वरीयताक्रमको १ सय ८ औं स्थानमा रहेको कतार स्वर्ण पदक जित्ने व्यावहारिक सम्भावनाका साथ ओलम्पिकसम्म आइपुगेको छ। ह्यान्डबलले स्वर्ण पदक जिते त्यो कतारको इतिहासमा पहिलो हुनेछ।

अन्य टिमका केही खेलाडीले कतारी टोलीमा विश्वबाट उत्कृष्ट खेलाडी छनोट गरिएको बताएका छन्। तर कतारका क्युबाली ब्याक राफेल कापोटेले भने, 'हामी पनि अरु जस्तै सामान्य टिम हौं। हामीमा केही विशेष छैन।' कापोटे गतवर्ष विश्व वर्ष खेलाडीको अन्तिम मनोनयनमा परेका थिए। तर कतारी मालिकको स्वामित्व रहेको पेरिस सेन्ट जर्मेनबाट खेल्ने डेनमार्कका मिकेल हान्सेनले उपाधि जितेका थिए।

कतारको मिश्रित टोलीले स्वर्ण पदक जिते पक्कै पनि विश्वव्यापी रूपमा ठूलो चर्चा र वाहवाही बटुल्नेछ। तर फ्रान्सका प्रशिक्षक क्लाउडे ओनेस्टाको विचारमा कतारको यो कदम खेलका लागि निकै खतरनाक कुरा हो। 'यसले एउटा खतरनाक उदाहरण बनाउँछ। खेलमाथि पैसा हाबी हुने यस्ता नियम परिमार्जन गर्नु जरुरी छ,' उनले भने, 'अस्थायी पासपोर्टका भरमा खेल्न पाउने नियम आफैमा सही होइन। मैले कतारलाई दोष दिन खोजेको छैन। उनीहरू नियमअनुसार खेलिरहेका छन्। तर यसले दीर्घकालमा खेललाई घाटा पुर्‍याउँछ। यो सही बाटो होइन।'

ओनेस्टाको टोली दुईपटकको साबिक ओलम्पिक विजेताले गतवर्ष विश्व च्याम्पियनसिप फाइनलमा कतारलाई २५–२२ गोलको नतिजामा हराउन निकै संघर्ष गर्नुपरेको थियो।

प्रकाशित: २५ श्रावण २०७३ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App