६ वैशाख २०८१ बिहीबार
राजनीति

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्।

मन्त्रिपरिषद्को पुस १३ को बैठकमा पर्यटनमन्त्री देवले ‘नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले असहयोग गरेपछि आफूले उनलाई हटाउन खोज्दा सचिव महेश्वर न्यौपाने र निर्वाचन आयोग बाधक भएको’ भन्दै आक्रोश पोखेका थिए ।

‘सचिवले पनि सहयोग गरेनन्, पछि मलाई त्यही विषयमा निर्वाचन आयोगमा लगेर उभ्याउने काम गरियो,’ मन्त्री देवले बैठकमा भनेका थिए, ‘अहिले आचारसंहिता लागेको छैन, नियुक्ति र केही सरुवाबढुवा गर्न खोजेको थिएँ, सचिवले दिँदै–दिँदैनन् ।’ एक उच्च सरकारी अधिकारीका अनुसार मन्त्री देव पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन ‘दिलोज्यान’ दिएर लागिपरेका छन् ।

उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा आक्रोश पोखेर केही दिन जिल्ला भ्रमणमा गएका मन्त्री देव सोमबार (पुस १७) मा काठमाडौं फर्किए । त्यसलगत्तै उनले पर्यटन सचिव न्यौपानेलाई बोलाएर ‘प्राधिकरणको महानिर्देशकबाट गौतमलाई हटाएर त्यहाँ सहसचिव आचार्यलाई नियुक्त गर्ने प्रस्ताव तयार गर्न’ निर्देशन दिएका थिए । तर, सचिव न्यौपानेले देवको निर्देशन पालना गर्न अस्वीकार गरेका थिए ।

‘विवादास्पद निर्णयमा आफू संलग्न नहुने भन्दै सचिव न्यौपाने मंगलबार पोखरा गएका छन्,’ स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘मन्त्री देव एकलौटी निर्णय गरी अब बस्ने मन्त्रिपरिषद् बैठकमा सहसचिव आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन ठाडो प्रस्ताव लैजाने तयारीमा छन् ।’

स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी पनि मन्त्री देवको प्रस्तावको विपक्षमा छन् । सचिव र मुख्यसचिव दुवै आफ्नो निर्णयविरुद्ध भएपछि मन्त्री देव यसअघिको मन्त्रिपरिषद् बैठकमा आक्रोशित भएका थिए ।

स्रोतका अनुसार मन्त्री देवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका पाँचतारे होटल ¥याडिसनको ‘बिजनेस लाउन्ज’ सहित अन्य करिब तीन दर्जन पसल–कबलको नवीकरण एकैपटक १० वर्षका लागि गराउन प्राधिकरणका महानिर्देशक गौतमलाई दबाब दिँदै आएका थिए । यो काममा देवलाई विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायको साथ छ ।

‘गौतमले मन्त्रीको दबाब अस्वीकार गरी कुनै पनि पसल–कबलको नवीकरण नगर्ने बरु पुनः बोलपत्र आह्वान गरी बढी भाडा कबोल गर्नेलाई दिने निर्णय गरेपछि पर्यटनमन्त्री देव गौतमसँग थप क्रुद्ध भएका थिए,’ स्रोतले भन्यो, ‘त्यसपछि देवले नवीकरण कानुन परिवर्तन गर्न एक समिति गठन गराएका छन् । त्यसले काम गरिरहेको छ ।’ यही रिस फेर्न मन्त्री देवले गौतमलाई हटाएर सहसचिव आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउने तयारी गरेका हुन् । यसअघि देवले त्रिभुवन विमानस्थलका महाप्रबन्धक उपाध्यायलाई महानिर्देशक नियुक्त गर्न खोजेका थिए । तर उपाध्याय अवैध विदेशी मुद्रा ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरी निगरानीमा रहेको पाइएपछि उनलाई छाडेर देवले आचार्यलाई महानिर्देशक बनाउन चलखेल थालेका हुन् ।

यसअघि गत असोज ९ गते मन्त्री देवले एकलौटी निर्णय गरी सहसचिव आचार्यलाई प्राधिकरण महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसँग सहमति माग्दै पत्र पठाएका थिए । त्यही दिन उनले प्राधिकरण महानिर्देशक गौतमलाई मन्त्रालयमा हाजिर गराउने निर्णयसमेत गरेका थिए । मन्त्री देवको निर्णय निर्वाचन आचारसंहिताविपरीत रहेको भन्दै आयोगले असोज १९ गते देवलाई आयोगमा उपस्थित भई जबाफ पेस गर्न आदेश दिएको थियो । त्यसको दुई दिनपछि असोज २२ मा मन्त्री देवले आफ्नो पूर्वनिर्णय बदर गरेको जानकारी आयोगलाई गराएका थिए ।

मन्त्री देवले करार सम्झौताअनुसार सन्तोषजनक काम गर्न नसकेको विषयमा केन्द्रित भई महानिर्देशक गौतमलाई गत भदौ २७ गते तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । तर, सहसचिव आचार्यले मन्त्रीस्तरीय निर्णयबाहेकका केही विषयमा गौतमलाई स्पष्टीकरण सोधेपछि दुवैबीच विवाद उत्पन्न भएको थियो । त्यसपछि मन्त्री देवले असोज ४ गते उल्टै सहसचिव आचार्यसँग स्पष्टीकरण सोधेका थिए । आचार्यले हालसम्म मन्त्री देवलाई स्पष्टीकरण बुझाएका छैनन् ।

त्यसबेला निमित्त सचिव रहेका आचार्यले महानिर्देशक गौतमलाई ११ बुँदे स्पष्टीकरण सोधेका थिए । पर्यटन सचिव न्यौपाने चीन भ्रमणमा रहेका कारण आचार्यले निमित्त सचिवको जिम्मेवारी पाएका थिए ।

सम्बद्ध स्रोतका अनुसार सहसचिव आचार्य सन् २०१६ डिसेम्बर २१ मा भारतमा भएको द्विपक्षीय हवाईसेवा सम्झौता पुनरवलोकन वार्तामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई मार्सल राख्न दिने र कोड सेयर गर्नेजस्ता विवादास्पद सम्झौतामा हस्ताक्षर गरेर विवादमा आएका थिए । ती विषयमा सम्झौता गर्न तत्कालीन मन्त्रिपरिषद्ले अनुमति नै दिएको थिएन । राज्यको अनुमतिबिना अधिकार क्षेत्रबाहिर गएर भारतसँग सम्झौता गरेका आचार्यलाई हालसम्म सरकारले कारबाही गर्न सकेको छैन । उक्त सम्झौतालाई पर्यटन मन्त्रालयले सहमतिका लाग हालसम्म मन्त्रिपरिषद्मा पेस गर्न सकेको छैन ।

पर्यटन मन्त्रालयले गत असोज ६ मा जारी गरेको विज्ञप्तिमा ‘महानिर्देशक गौतमलाई सोधिएको कार्यसम्पादन सम्झौताबाहेकका केही विषय स्पष्टीकरणपत्रमा परेको हुनाले तत्कालीन निमित्त सचिव आचार्यलाई असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिसकिएको’ उल्लेख थियो ।

त्यसपछि असोज ६ गते सचिव न्यौपानेले सहसचिव आचार्यलाई ‘मेरो अनुपस्थितिमा निर्णयभन्दा बाहिर गई महानिर्देशकलाई किन स्पष्टीकरण सोधेको?’ भन्दै स्पष्टीकरण सोधेका थिए । त्यसको १२ दिनपछि असोज १८ मा आचार्यले ‘निर्णयभन्दा बाहिर गएर केही विषय समावेश गरी स्पष्टीकरण सोधेको भए पनि यसबाट सरकारलाई कुनै आर्थिक दायित्व सिर्जना नभएको र मन्त्रालयले असोज ४ मा जारी गरेको विज्ञप्तिको बेहोरामा पूर्णसहमत रहेको’ भन्दै सचिव न्यौपानेसमक्ष स्पष्टीकरण पेस गरेका थिए ।

यसबारे पर्यटनमन्त्री देवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । सहसचिव आचार्यले भने आपूले कुनै प्रतिक्रिया नजनाउने बताए ।

मन्त्रीको चलखेलविरुद्ध वायुसेवा सञ्चालक

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले प्राधिकरणका महानिर्देशक हटाउने पर्यटनमन्त्री देवको चलखेल कानुनविपरीत भएको भन्दै विरोध गरेका छन् । ‘मुलुकको उड्डयन क्षेत्र गम्भीर अवस्थामा रहेका बेला महानिर्देशक हटाउने मन्त्रीको चलखेल भनेको यसमा पूरै भ्रष्टाचार गर्न खोजिएको हो,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नागरिकसँग भने, ‘यो चलखेललाई अख्तियारले तुरुन्त हस्तक्षेप गर्नुपर्छ । त्यसमाथि यस्ता नीतिगत निर्णय गर्ने नैतिक हैसियत यो सरकारसँग छैन ।’

समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले युरोपेली आयोगका उड्डयन कालोसूचीबाट बाहिर निस्किने प्रयास भइरहेका बेला महानिर्देशक हटाउने मन्त्रीको चलखेल पूरै असान्दर्भिक भएको बताए । ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) बाट बाहिर निकालेका महानिर्देशक गौतमलाई पदबाट हटाउने समय यो होइन, उहाँलाई अझै काम गर्न दिनुपर्छ ।’

त्यस्तै फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाँडेले केही समयदेखि महानिर्देशक हटाउने चलखेलबाट अन्तर्राष्ट्रिय क्षेत्रमा गएको नकारात्मक सन्देशका कारण उड्डयन क्षेत्रमा नेपालमाथिको अविश्वास कायम रहेको बताए । ‘नागरिक उड्डयन क्षेत्र विवादित हुनु हुँदैन,’ उनले भने, ‘यसमा व्यक्ति होइन, समूहले काम गर्ने हो ।’

प्रकाशित: १९ पुस २०७४ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App