coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हँसिला सुन्दरीको पीडा

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा झन्डै दुई दशकयता क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । अघिल्लो साता मात्र त्यहाँ एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका सम्पन्न भएको छ । त्रिवि मैदानमा पहिले आयोजना हुने प्रतियोगिता र अहिले हुने प्रतियोगितामा व्यापक परिवर्तन भएको छ । 

अघिल्लो हप्ता कीर्तिपुरको मैदानमा एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता सकिँदा नेपाली दर्शकले केही नयाँ स्वाद पाए । नेपाली क्रिकेटमा कहिल्यै नहुने भिडियो रिप्लेका लागि यसपालि कीर्तिपुरमा ठूलो एलइडी स्क्रिन लगाइएको थियो । थर्ड अम्पायरको प्रविधि पनि नेपाली क्रिकेटमा यही प्रतियोगितामार्फत सुरु भयो । 

मनोरञ्जन प्रदान गर्नकै लागि खटिएका ती सुन्दरीहरूको मन त्यति बेला चसक्क हुन्छ, जब दर्शकदीर्घाबाट अश्लील शब्द प्रयोग हुन्छन् । 

नेपाली क्रिकेटकै सबभन्दा ठूलो र व्यावसायिक भनेर दाबी गरिएको प्रतियोगिताको आकर्षण यत्तिमै सीमित रहेन । खेलको हरेक रोमाञ्चक मोडमा स्वाभाविक उत्तेजनामा आएका दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न मैदानमा केही सुन्दरी तैनाथ थिए, ‘चियर लिडर’ का नाममा । खेलाडीको ब्याटबाट हरेक पटक छक्का र चौका बर्सिंदा होस् वा विकेट झर्दा रोमाञ्चित भई उफ्रिइरहेका दर्शकको तालमा ताल मिलाउँदै चार सुन्दरी हँसिलो अनुहार र आकर्षक हाउभाउका साथ नाचिरहेका हुन्थे । अनि कोही दर्शक तिनै सुन्दरीको हाउभाउ हेरेर रमाउँथे भने कोही चाहिँ अश्लील शब्दका साथ तिनलाई जिस्काएर भलाद्मीको खेलको बदनाम गरिरहेका हुन्थे । 

अमृत साइन्स कलेजमा पढ्ने सुवेक्षा केसी, प्रसादीबाट १२ कक्षा पास गरेर उच्च शिक्षाका लागि बिदेसिन लागेकी सोनु महर्जन, अरुणिमाकी विसाखा र जेम्स कलेजमा स्नातक तहमा पढ्ने बिना बुढामगर सबै व्यावसायिक मोडल हुन् । कीर्तिपुरमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने जिम्मेवारीका साथ चियर लिडर्सको भूमिकामा दिनभर नाचिरहने यी चार सुन्दरी पेसाअनुसारै त्यहाँ पुगेका हुन् । तर मनोरञ्जन प्रदान गर्नकै लागि खटिएका ती सुन्दरीहरूको मन त्यति बेला चसक्क हुन्छ, जब दर्शकदीर्घाबाट अश्लील शब्द प्रयोग हुन्छन् । 

‘हामी व्यावसायिक मोडल हौं । दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हाम्रो काम हो । त्यसका लागि हामी निश्चित अवसरमा संगीतको तालमा नाचिरहेका हुन्छौं । यो हाम्रो पेसा हो । तर कोही दर्शकले ‘बार गर्ल’ सँग जस्तो व्यवहार गर्न खोज्दा दुःख लाग्यो । दर्शकदीर्घाबाट हामीलाई नै लक्षित गर्दै अश्लील शब्द प्रयोग भए,’ इपिएलमा चियर लिडर्सका रूपमा काम गरेकी सोनुले मैदानको अनुभव सुनाइन्, ‘क्रिकेट भलाद्मीको खेल हो क्रिकेट हेर्ने दर्शकमा पनि त्यस्तै संस्कार हुन्छ भन्ने सुनेका थियौं । केही दर्शकको खराब व्यवहार बिर्सने हो भने बाँकीले हाम्रो कामलाई सम्मानका साथ हेर्नुभयो । उहाँहरूलाई धन्यवाद ।’

कसैले जानीजानी होच्याएको वा अश्लील रूपमा अपमान गर्दा मन जति दुखे पनि उनीहरू पेसागत मर्यादा भने भुल्दैनन् । हाँसेरै प्रस्तुत हुन्छन् । ‘हाम्रो पेसा नै यस्तै हो । ठूलो संख्याका मानिसलाई एकै पटक फेस गर्नुपर्छ । सबै मानिस हामीले सोचेजस्ता असल नहुन सक्छन् । त्यसैले जति रिस उठे पनि, जति मन दुखे पनि त्यस्तालाई इग्नोर गर्नु नै राम्रो हो,’ सोनुले थपिन् ।
मानव सभ्यताको विकाससँगै खेलकुदले पनि आफूलाई भिन्न रूपमा स्थापित गर्दै ल्याएको इतिहास पाइन्छ । सैन्य तालिमबाट खेलका विभिन्न विधाको विकास भएको मान्नेहरू एकथरी छन् । अर्का थरी अध्ययनकर्ताहरू मानवीय जीवनशैलीले नै नजानिँदो पारामा खेलकुदको रूप लिन थालेको विश्वास राख्छन् । खेलकुदको प्राचीन स्वरूपमा अनुसन्धानकर्ताहरूको मत बाझे पनि १९औं शताब्दीमा यसले आधुनिक रूप लिन थालेकोमा भने सबै सहमत छन् । 

‘कुनै समय मनोरञ्जनको साधनका रूपमा सीमित खेल गतिविधि बिस्तारै श्रेष्ठताको लडाइँमा परिणत भयो । त्यसले दर्शकको ध्यान तान्न थाल्यो । अनि खेलकुद पनि एउटा व्यवसायका रूपमा विकसित हुन थाल्यो,’ लामो समयदेखि खेल क्षेत्रमा कलम चलाइराखेका निरञ्जन राजवंशी भन्छन्, ‘यही व्यावसायिकता र आधुनिकताले खेललाई मैदानभित्र मात्र सीमित हुन दिएन । दर्शक तान्न तथा ठूलो जनमतलाई प्रभावित गर्नका लागि मैदानबाहिर पनि उल्लेख्य रूपमा गतिविधि हुन थाले । चियर लिडरको प्रयोग त्यसकै एउटा पाटो हो ।’

आधुनिक प्रविधिले कुनै खेल हेर्न रंगशाला वा खेलस्थल धाउनुपर्ने बाध्यता हटाइदिएको छ । टेलिभिजनको पर्दामा विश्वभरका जुनसुकै खेल घरको कोठामा हेर्न सकिने भएको छ । जसका कारण एउटा खेलको प्रभाव केही हजार दर्शकको सीमित घेराबाट नाघेर दशौं करोडसम्म पुगिसकेको छ । आयोजकको आम्दानीको मुख्य स्रोत प्रत्यक्ष वा परोक्ष रूपमा दर्शक बन्न थालिसकेका छन् । त्यही दर्शकलाई आकर्षित गर्न आयोजकले थालेका धेरै प्रयासमध्ये चियर लिडर्स एक हो । 

बजार व्यवस्थाकहरूले १९५० को दशकमा अमेरिकाबाट खेलकुदमा व्यावसायिक रूपमा चियर लिडर्सको सुरुआत गरेका थिए । झन्डै एक दशकअघिबाट क्रिकेटमा पनि चियर लिडर भित्रियो । जसलाई इन्डियन प्रिमियर लिग (आइपिएल)ले विश्वभर लोकप्रिय बनाइदियो । त्यसकै सिको स्वरूप इपिएलमा पनि चियर लिडर्सको नृत्य एउटा आकर्षणका रूपमा भिœयाइयो । नेपाली खेलकुदमा चियर लिडर्सको प्रयोग भएको यो पहिलो पटक भने होइन । झन्डै एक दशकअघि दशरथ रंगशालाको कभर्ड हलमा भएको बास्केटबल प्रतियोगितामा पनि चियर लिडरको प्रयोग गरिएको थियो । त्यसयता विभिन्न प्रतियोगितामा आकर्षक पहिरनमा सजिएका सुन्दर युवती हातमा ‘पोम–पोम्स’ हल्लाउँदै नाचेका थिए ।

नेपालमा चियर लिडरहरूको प्रयोग हुन थालेको केही समय मात्र बिते पनि अझै यो कुनै पनि खेलको अभिन्न हिस्सा बनिसकेको छैन । इच्छुक मोडलहरूका लागि चियर लिडिङ छुट्टै पेसाका रूपमा स्थापित भइसकेको छैन । त्यसैले आर्थिक पक्ष यसमा खास महत्वपूर्ण भइनसकेको विशाखा बताउँछिन् । ‘अहिलेलाई यो हाम्रा लागि पनि एउटा एक्सप्लोरिङ फिल्ड हो । पैसाभन्दा पनि यसलाई भरपर्दो पेसाका रूपमा स्थापित गर्न सक्यौं भने त्यसपछि डिमान्ड गर्न सकिन्छ,’ पारिश्रमिक सोध्दा उनी तर्किइन्, ‘प्रत्येक छक्का, चौका र विकेटमा नाचिरहनु गाह्रो त हुन्छ । तर हाम्रो काम नै भएपछि गाह्रो मान्न त भएन नि । आफंैलाई पनि छक्का, चौका र विकेट हुँदा दर्शकजस्तै जोस आउँछ । आयोजकले गरेको प्रोफेसनल व्यवहार अरूले पनि गरिदिए अझ राम्रो हुने थियो ।’

प्रकाशित: १९ पुस २०७४ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App