७ वैशाख २०८१ शुक्रबार
खेल

ढोरपाटन भलिबललाई रेडबुलको साथ

काठमाडौं– ढोरपाटन महिला भलिबल प्रतियोगिताको १३औं संकरणलाई गोर्खा ब्रुअरीको रेडबुलले मुख्य प्रायोजन गर्ने भएको छ । 

गोंगबुस्थित नयाँ बसपार्कमा ‘डबल लिग’ प्रणालीमा हुने प्रतियोगितालाई रेडबुलले प्रत्येक वर्ष ११ लाखसहित तीन वर्षका लागि प्रायोजन गरेको ढोरपाटन भलिबल क्लबका अध्यक्ष महावीर छन्त्यालले बताए । मंगलबार क्लबका अध्यक्ष छन्त्याल र गोर्खा ब्रुअरीका बजार व्यवस्थापन प्रमुख इन्द्र रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यससँगै अब प्रतियोगिता ‘रेडबुल ढोरपाटन युएम वुमन्स भलिबल डबल लिग च्याम्पियनसिप’ का नाममा सञ्चालन हुनेछ । त्यसबापत गोर्खा ब्रुअरीले ढोरपाटन भलिबल क्लबलाई वार्षिक ११ लाखका दरले ३ वर्षसम्म ३३ लाख रुपैयाँ नगद प्रदान गर्नेछ ।

‘सानो पुरस्कार राशिबाट सुरु गरिएको यस प्रतियोगितामा आज रेडबुललाई मुख्य प्रायोजक बनाउन पाउँदा गर्व लागेको छ,’ ढोरपाटन भलिबल क्लबका अध्यक्ष छन्त्यालले भने, ‘प्रतियोगिताको नामबाटै प्रायोजकहरूले विश्वास गर्ने वातावरण निर्माण भएको छ । यो हाम्रो ठूलो उपलब्धि हो ।’

सोह्र दिनसम्म चल्ने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जनाए । प्रतियोगितामा एक टोलीले तीन जना मात्र विदेशी खेलाडी खेलाउन पाउनेछन् । प्रतियोगतालाई आइएमई अटोमोटिभस् प्रालि र सामाखुसी इङ्लिस बोर्डिङ स्कुलले सह–प्रायोजन गर्नेछन् । ‘टाइटल स्पोन्सर’ गरेको आइएमई अटोमोटिभ्सले पाँच युएम पावर म्याक्स स्कुटर उपलब्ध गराउनेछ । 
सशत्र प्रहरी बल (एपिएफ), न्यु डाइमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डाइमन्ड स्पोटर््स क्लब, टप्स उच्च मावि, पूर्वाञ्चल भलिबल संघ, पारामाउन्ट उच्च मावि, स्प्रिङ्डेल इङ्लिस स्कुल, श्रीगाउँ खेल विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडेमीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोस्रोले १ लाख ७० हजार तथा तेस्रोले ८० हजार रुपौयाँ नगद पुरस्कार जित्नेछन् । चौथो हुनेले ५० हजार, पाँचौं हुनेले ४० हजार, छैटौं हुनेले ३० हजार र सातौं स्थानमा रहने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी र प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार जित्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट लिफ्टर, स्पाइकर, ब्लकर, क्विकर, डिफेन्डर र सर्भरले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको एक जना भाग्यशाली दर्शकले पनि स्कुटर पाउनेछन् । 

 

 

प्रकाशित: १९ पुस २०७४ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App