७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश राजधानी तोक्न ‘रचनात्मक’ दबाब

क्षेत्रीय प्रशासन कार्यालय दिपायलको गेटमा आयोजित दबाबमूलक रचना वाचन गर्दै साहित्यकारहरू । तस्बिर : अरूण बम

पानीमा जवानी कसरी हुनसक्छ ?

पैतलामा शिरानी कसरी हुनसक्छ ?

जहाँ छिमेकीले बन्दुक ताकिराख्छ 

त्यही गएर राजधानी कसरी हुनसक्छ ?

युवा गजलकार केशवचन्द्र महरा (पवन) मंगलबार क्षेत्रीय प्रशासन अघि यसरी कुर्लिए। उनका यी दुई शेरमा प्रदेश राजधानी तराईमा कसरी हुनसक्छ ? भन्ने ‘प्रश्नचिन्ह’ छ । उनले ७ नम्बर प्रदेशको राजधानी तराईमा राख्ने प्रस्तावको विरुद्धमा यो गजल लेखेका हुन। 

अहिले दिनानुदिन ७ नम्बर प्रदेशको राजधानी दिपायल कायम गर्नुपर्ने माग गर्दै दिपायलमा दबाबमूलक कार्यक्रमहरू भैरहेका  छन् । सोही क्रममा डोटी गजल मञ्चले मंगलबार क्षेत्रीय प्रशासन कार्यालय दिपायलको गेटमै दबाबमूलक रचना वाचन कार्यक्रमको आयोजना ग¥यो । जसमा करिब २३ जनाभन्दा बढी साहित्यकारहरुले रचना वाचन गरे। 

‘हरेक दृष्टिकोणबाट दिपायल नै ७ नम्बर प्रदेशको राजधानीका लागि उपयूक्त छ,’ डोटी गजल मञ्चका अध्यक्ष समेत रहेका युवा गजलकार महराले भने,‘तर, इतिहास मेटाउँदै अदूरदर्शी सोचले तराई राजधानी प्रस्ताव गर्दा सबैको भावनामा ठेस पुगेपछि हामी साहित्यकार पनि विरोधमा उत्रिन बाध्य भयौँ ।’ आन्दोलनलाई रचनात्मक तवरबाट अघि बढाउन साहित्यकारहरुले यो जमघटको आयोजना गरेको उनले बताए। 

सबै जिल्लाको मुटु, भौगोलिक केन्द्रबिन्दु, ऐतिहासिक निरन्तरता, प्रशासनिक केन्द्र, पूर्वाधारको उपलब्धता लगायत सबै मापदण्डमा उपयुक्त हुँदाहुँदै दिपायलको विकल्प खोज्नु दुर्भाग्य भएको अर्का युवा गजलकार गजल मञ्चका सचिव लक्ष्मण देउवाले बताए । ‘यो दुर्भाग्यपूर्ण कुरा छ। सरकारले समयमै चेत पुर्‍याउने होइन भने दुर्घटना निम्तने सम्भावना छ,’ उनले भने,‘त्यो दुर्भाग्यबाट जोगाउन र सरकारलाई सद्बुद्धी दिलाउन हामी रचनामार्फत दबाबमा उत्रिएका हौँ।’

साहित्यकारहरूले गजल, कविता, मुक्तक, गीत, देउडा गीत लगायतका माध्यमबाट तराईको प्रस्तावमा आपत्ती जनाउँदै दिपायलको समर्थनमा आफ्ना रचना प्रस्तुत गरेका थिए । अधिकांशमा आपत्ती र व्यंग्यात्मक भाव प्रस्तुत भएको थियो । 

‘हामी अझै सशक्त संघर्षमा उत्रिन चाहेका छैनौ । सरकारले सचेत भएर हाम्रो अधिकार दिन्छ भन्नेमा आशावादी छौ,’ संघर्ष समितिका संयोजक समेत रहेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘तरपनि सन्देश सन्तोषजनक छैन् । त्यसैले हामी रचनात्मक आन्दोलनमा छौ । आज(मंगलबार) साहित्यकारहरुले धेरै चोटिलो दबाब सिर्जना गर्नुभएको छ।’ 

दिपायलमा पछिल्लो एकसातायता रचनात्मक दबाबका कार्यक्रमहरु भए । सबैजसो गतिविधि रचनात्मक भएका छन्। माग सम्वोधित ‘प्लेकार्ड’ सहितको मौन जुलुस, शान्तिपूर्ण र्‍याली, दबाबमूलक कोणसभा, सांकेतिक चक्काजाम लगायतका गतिविधि संचालित छन् । मंगलबारै एउटा समूहले सडकमा तीनवटा टायर समेत बालेका छन्।

‘हाम्रो प्रयास रचनात्मक दबाबमै सरकारले न्याय गरोस भन्ने हो,’ अध्यक्ष खड्काले भने,‘यदी रचनात्मक दबाबले नपुगे सशक्त आन्दोलन गर्न सरकारले बाध्य नपारोस।’

मंगलबारै प्रधानमन्त्री एवम् मन्त्रीपरिषद्को कार्यालय तथा सहरी विकास मन्त्रालयले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोक्ने तयारी सहितको खाँका बनाइरहेको समाचार बाहिरिएको छ । सो समाचारपछि यहाँका बासिन्दा झन आक्रोशित देखिएका छन्।

 

प्रकाशित: १८ पुस २०७४ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App