७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

सोलुखुम्बुको परिवर्तित नाम माप्या दुधकोसी गाउँपालिकाको कार्यलयमा कर्मचारी काम गर्दै ।  तस्बिर: राधा/नागरिक

सोलुखुम्बु–सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

खालिङ शब्द नामकरणमा गैर खालिङ समुदाय नमानेपछि विकल्पको रुपमा खालिङ शब्द ‘माप्य’ मा सहमति जुटेको हो । गैर खालिङ जनप्रतिनिधिले सहमति जनाएको विषयमा गैर खालिङ समुदायका अन्य व्यक्तिहरुले भने विरोध जनाएका छन् ।  नामको विषयमा विरोध भएपछि पुनः गाउँपालिका प्रमुख बुद्धिकिरण राई र असन्तुष्ट पक्षबीच छलफल भएको थियो । छलफलमा प्रमुख राईले नाम स्विकृती स्विकृतिको समयमा ‘दुधकोशी माप्य’ गाउँपालिकामा आफू लचक रहेको र पहल गर्ने बचन दिएपछि अहिलेका लागि विवाद साम्य भएको छ । 

यस अघि नामकरणमा दुधकोशी र खालिङ दुधकोशीमा सहमती खोज्न बसेको कार्यपालिकाको वैठकले मापे दुधकोशी नाममा सहमती गरिएपछि खालिङ समुदाय वाहेकका अन्य १० जातिले आपत्ति जनाएका थिए । कार्यपालिकाको वैठकमा निर्णय गरि जनप्रतिनिधि लाखापाखा लाग्ने क्रममा १० जातिका प्रतिनिधिहरुले रोकेका थिए । खालिङ समुदायको जनघनत्व र उद्गम स्थल भएकाले पनि गाउँपालिकाको नाम खालिङ दुधकोशी हुनुपर्ने माग राखिदै आएको थियो भने गैरखालिङहरुले १० जातिलाई पाखा लगाएर एक जाति विशेषलाई प्राथमिकता दिन नमिल्ने र साझा नामको रुपमा दुधकोशीलाई नै यथावत राख्नुपर्ने माग राख्दै आएका थिए । लामो समयको कसरतपछि आईतबारबाट नामाङ्कनको विषयमा विवाद सुल्झीएको हो । गाउँपालिकामा राई (खालिङ) वाहेक ब्रामण, क्षेत्री, नेवार, तामाङ, मगर, शेर्पा, दलितसमुदाय गरि ११ जातिको बसोबास रहेको छ ।
 
साथै, गाउँपालिकाको केन्द्र वडा नं ३ क्षेत्रमा राख्ने सहमति गरिएको छ । गाउँपालिका वडा नं ३ भित्र उचित स्थान खोजेर कार्यालय स्थापना गर्ने गरि निर्णय गरिएको स्रोतले बताएको छ । अहिले बासाको दाम्कुमा अस्थायी कार्यालय स्थापना गरि सेवा प्रवाह गरिरहेको गाउँपालिकाले ५० रोपनी जग्गा उपलब्ध हुने, सडकको नजिक, भँैतिक पुर्वाधार भएको स्थानमा केन्द्र राखिने गरि निर्णय गरिएको छ । 
 

प्रकाशित: १८ पुस २०७४ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App