coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकछेउ चारपांग्रे पार्किङ निषेध

ललितपुर- ललितपुरको जावलाखेल–लगनखेल सडक किनारमा चारपांग्रे सवारीसाधन पार्किङ निषेध गरिएको छ। बढ्दो सवारी दुर्घटना र सडक जाम मध्यनजर गर्दै ललितपुर ट्राफिक प्रहरी कार्यालयले त्यस क्षेत्रमा चारपांग्रे सवारीसाधनलाई पार्किङ निषेध गरेको हो।

जावलाखेल, मानभवन, कुमारीपाटी क्षेत्रमा कार, जिप, भ्यानलगायत चारपांग्रे सवारी पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले ५ सयदेखि हजारसम्म जरिवाना तिराउने ललितपुर ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेंथुले जानकारी दिए। उनका अनुसार चारपांग्रे सवारी साधनले सबैभन्दा बढी दुर्घटना निम्त्याएका छन्। चारपांग्रे सवारीको जथाभावि पार्किङ गर्ने प्रवृतिले एक महिनामा करिब १६ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाउनु परेको ट्राफिक पहरीको निष्कर्ष छ। त्यस क्षेत्रमा ३ दिनयता चारपांग्रे सवारी पार्किङ निषेध गरिएको हो।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथको निर्देशन अनुसार उक्त क्षेत्रमा पार्किङ निषेध गरिएको हाछेंथुले जानकारी दिए। जावलाखेलदेखि लगनखेलसम्म १४ वटा स्कुल/कलेज, १६ वटा बैंक, २ सय ३३ वटा ठूला पसलहरु छन्।

सबैभन्दा बढी शैक्षिक संस्था र कार्यालयहरु भएको स्थानमा वाहिरी सवारीले गर्दा अत्यन्तै समस्या निम्त्याएका छन्। साथै ती संस्थाका चारपांग्रे सवारी साधन पनि अब सडक किनारमा पार्किङ गर्न पाउने छैनन्। सवारी पार्किङ गर्दा पैदल यात्रुहरुलाई आवतजावत गर्न धौधौ परेको ट्राफिक प्रहरीले जनाएको छ।

यसअघि उक्त क्षेत्रमा पार्किङ भएका चारपांग्रे सवारी बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म पार्किङमै रहने गरेको ट्राफिक प्रहरी बताउँछन्। पार्किङमा रहेको एउटा सवारीले १७ फिट सडक ओगट्दा सडक साँघुरो र जाम हुने गरेको थियो।

त्यस्तै कतिपय सडक छेउका घरनजिकै पार्किङ गरिएका सवारी साधनले गर्दा स्थानीयले आफ्नो घर भित्र छिर्ने बाटो समेत नपाएको स्थानीयको भनाई छ। सवारी चालकले घर अगाडिको सडकमा जथाभावि पार्किङ गरेपछि आफ्नो सवारी आफ्नो स्थानमा लग्न नसकेको गुनासो गर्छन मानभवन घर भएका स्थानीय सुजित शाक्य। उनीमात्र होइन यस्तो समस्या प्रायः घरघनि हुने गरेको थियो।

ट्राफिक प्रहरीले ल्याएको यस्तो नियमले भने स्थानीय सहज हुन्छ भने सवारी दुर्घटनालाई कम गर्ने आकलन गरिएको छ। लगनखेलदेखि जावलाखेलसम्म करिब १ कि.मी ३ सय मिटर सडक छ। यसअघि सवारी चालकले विहानै आएर सडक किनारमा पार्किङ गरेर जाने र साझँ ७ बजेमात्र सवारी लिन आउँने हुँदा यस्ताबाट आम नागरिकले सास्ती भोग्दै आएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा जावलखेल क्षेत्रमा पार्किङ निषेध गरिएको हाछेंथुले बताए। उनी भन्छन्, 'हामीले पहिलो चरणमा जावलाखेलदेखि लगनखेलसम्म पार्किङ निषेध गरेका छौं, आवश्यक परे अन्य स्थानमा पनि निषेध गर्दै जानेछौँ।'

त्यस्तै २०४९ सालको सवारी ऐनमा पनि सकड किनारमा पार्किङ गर्न नपाउने व्यवस्था छ। तर सवारी चालकको गैर जिम्मेवारी र चुस्त र दुरुस्त ट्राफिक व्यवस्था नहुँदा नियमले तोकेको व्यवस्था काठमाडौंका अधिंकाश सडक क्षेत्रमा लागु हुन सकेको छैन। जसले गर्दा आम नागरिकले सास्ती व्यर्होनु परेको छ।   

प्रकाशित: २५ श्रावण २०७३ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App