coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कांग्रेसका ‘हिरो’ संजु बाबु

फिस्स हाँस्ने र मिठो बोल्ने स्वभाव । सानादेखि ठूलासम्म गर्ने समान व्यवहार । नाता जोडेर बोल्ने सरल बानी । यही बानी र मिजास जनताको मन जित्ने एउटा आधार बन्यो । २०२० साल वैशाख १३ मा जन्मेका संजय गौतमले नेपाली कांगे्रसका तर्फबाट ‘लाल किल्ला’मा चार तारे झन्डा फहराए । २०३६ सालमा राजनीतिमा सक्रिय गौतमले छोटो समयमा हाइप्रोफाइल नेताको छवि बनाउन सफल भए ।

वाम गठबन्धनका सूत्रधार एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर उनी देशभरि चर्चित बने ।
‘पार्टीको जिल्ला सभापति हुँदै सभासद र मन्त्री हुँदासम्म बर्दियाको विकासमा लागिपरेकाले उहाँलाई जनताले चुनेका हुन्,’ उनी निकट विद्यार्थी नेता तथा स्ववियु उपसभापति विशेष गौतम भन्छन्, ‘विकासवादी चिन्तन देखेकाले जनताले उहाँलाई रियल ‘हिरो’ बनाएका छन् ।’ बर्दियाका जनताले दल होइन विकासप्रेमी ‘ब्रान्ड’ रोजेको एक कार्यकर्ता बताउँछन् । उनी सभासद हुँदा सुखदुःख दुवैमा जनताको घरमा पुग्ने काम गरेका थिए । एक दशकसम्म जनतासँग विकास र जिल्लाको समृद्धिको काम गरे ।

गौतमले चार वर्षको अवधिमा सांसद विकास कोष र पूर्वाधार कोषको रकम विकास निर्माण, मठ, मन्दिर, मस्जिद, विद्यालय निर्माणमा लगाएर गृह जिल्ला बर्दियाको अनुहार बदल्ने प्रयास गरेका थिए । यसले उनलाई विकासप्रेमीको रूपमा स्थापित गरायो । विकासे नारा लिएर अघि बढेका उनलाई विगतमा गरेका कामले जनतासमक्ष भरोसा दिलाउने काम गरेको हो । ‘विकासका लागि अन्य उम्मेदवारलाई जिताउन हुँदैन भन्ने विश्वास दिलाउन उहाँले सक्नु भयो,’ गुलरिया नगरपालिका ६ नम्बरका वडा अध्यक्ष निरज शर्माले भने, ‘विकासको सपना साकार नभएकाले उहाँलाई जनताले चुनेको हामीले बुझेका छाैं ।’ यस पटकको चुनावमा मौन मतदाता गौतमतिर ढल्किए । ‘पहिले न्यूटल मतदाता यताउती ढल्कन्थे,’ पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले भने, ‘सबै मतदाताले दलभन्दा मुख हेरेको भान भयो ।’ यस पटक गौतमको अनुहार पहाडी भए पनि पनि मधेसी र थारू मतदाताको रोजाइमा परेको उनले विश्लेषण गरे । यसपटक गौतम मुक्तकमैया र सुकुम्बासीबाट प्रिय भए ।

बर्दियाका सम्भ्रान्त वर्गका  संजय गौतम उनी संजु बाबुका नामले सम्बोधन गरिन्छन् । पार्टीका आन्दोलनमा लागेदेखि पत्नी सावित्रा गौतम उनीसँगै छिन् । हरेक जित र हारमा पत्नी सावित्रा गौतमको साथ छ उनलाई । पति गौतमको जितमा उनको ठूलो योगदानको चर्चा गर्छन् उनी । यहाँसम्म आइपुग्दा जे जति अप्ठ्यारा आए पनि त्यस्तो महसुस नगरेको पत्नी सावित्राले अनुभव साटिन् । सफल नेतृत्वका कारण बर्दिया जिल्लामा कम्युनिस्टको गढ भत्काउन सम्भव भएको उनी बताउँछिन् ।

संजुका सपना
आशा केन्द्रका रूपमा जनताले चुनेका संजुका सपना समुन्नत बर्दिया बनाउन चाहन्छन् । उनले अधिकांश थारू समुदाय बाहुल्य रहेको जिल्लामा कृषि विश्वविद्यालय वा पोलिटेक्निक कृषि प्राविधिक शिक्षाको उनले सपना देखेका छन् । प्रचुर सम्भावना रहेको जिल्लालाई पर्यटक र कृषि क्षेत्रमा फड्को मार्ने उनले देखेका सपनाभित्र पर्छन् । पर्यटक गन्तव्यका रूपमा रहेको ठाकुरद्वारा र कृष्णसार संरक्षण क्षेत्र लगायतका (बढैयाताल, ठाकुरबाबा मन्दिर) पर्यटकीय केन्द्रको पहुँच बढाउन पुलपुलेसा निर्माण उनको पहिलो प्राथमिकतामा परेको छ । उनले चुनावी जितपछि घरदैलो अभियानको क्रममा अर्कोपटक ग्रामीण सडक धुलोमुक्त हुने उनले गरेको वाचा हो ।
 
वाम गठबन्धनबाट भोट
२०६४ मा पहिलो संविधान सभामा नेपाली कांग्रेसका उम्मेदवार बनेका गौतम देशभर माओवादी लहरको बेला चेपुवामा परेर पराजय भोगेका थिए । पहिलो संविधान सभा माओवादीसँग पराजय भोग्दा उनी विचलित भएनन् । त्यति नै बेलादेखि जनताको विकासको भावना बुझेका उनले विकास र कृषि क्रान्तिका लागि अग्रणि भूमिका खेल्न चाहन्थे तर परिणाम उनको पक्षमा आइदिएन ।

त्यो अवसर पाउन २०७० सालसम्म कुर्नु प¥यो । त्यसअघि नै पार्टी सभापतिमा उनी निर्वाचित भइसकेका थिए । दोस्रो संविधान सभाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका साविक क्षेत्र नं. २ बाट निर्वाचित भए । त्यति बेला पार्टी जिल्ला सभापतिको र सभासदको भूमिकामा तल्लीन भए । जिल्ला पार्टी सभापति हुँदादेखि नै पूर्वाधार विकास योजना निर्माणमा ध्यान दिए र उनले राष्ट्रिय राजनीतिमा पहुँच राख्ने भएकाले सभापदबाट जनताको मन जित्न सफल भए । उनले सभासद हुँदै जनताको मन जित्न अनेकौँ काम गरे । नदी नियन्त्रण, हुलाकी सडक निर्माणको सिलान्यास, नेपाल र भारतको नाका व्यवस्थापनको काम अघि बढ्दा त्यसैबेला उनी जनतामैत्री देखिए । मन्त्री भएपछि बर्दिया जिल्लाको समस्या नदी नियन्त्रण, नेपाल–भारतको नाका व्यवस्थापन, सडक निर्माणमा भरपुर प्रयास गरी जनतालाई बुझाए । विकास निर्माणमा गौतम दत्तचित्त भएर लागेको स्थानीय स्मरण गर्छन् । उनले नदी नियन्त्रणका लागि बजेट ल्याएको, हुलाकी सडक निर्माण र नाका व्यवस्थापनका लागि गरेको कामले उनलाई विकासप्रेमी राजनीतिक ब्रान्डको रूपमा स्थापित गर्यो ।

कसरी जिते चुनाव
आइतबार सम्पन्न भएको चुनावी नतिजाले बर्दिया प्रतिनिधि सभा क्षेत्र नं. १ बाट विजयी बनाएर संजुलाई प्रतिनिधि सभा हाउसमा पुनः प्रवेश गराएको छ । देशभर नै वाम गठबन्धनका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई हराइरहेको बेला जनताले उनलाई पुनः चुनेका छन् ।
सुरुको मत परिणाममा अग्रस्थानमा रहेका वाम गठबन्धनका सूत्रधार उपाध्यक्ष गौतमलाई उछिन्दै नेपाली कांग्रेसका गौतम विजयी भएपछि कांग्रेसले उत्सवको रूपमा लिएको छ । कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ र उपाध्यक्ष गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका गौतमले प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष गौतमलाई ७ सय ५३ मत बढी ल्याएर विजयी भए ।

कांग्रेसका उम्मेदवारसमेत रहेका मन्त्री गौतम आफ्नो गृहनगरको मत संख्याबाट अग्रस्थानमा पुगेका थिए । एमालेका उपाध्यक्ष गौतम गढबाट राम्रो मत प्राप्त गरे । उपाध्यक्ष गौतमको गृहनगर वासगढी ४, ५, ८, ९, १० बाटै उनले बढी बराबरीमा मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनमा बर्दिया, वासगढी, बढैयाताल नगरपालिकाको मेयरमा वामगठबन्धनले जितेको थियो । कांग्रेसका गौतमले जितेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा वामगठबन्धनको स्थानीय तहमा राम्रो पकड भएको क्षेत्र हो । प्रतिनिधिसभा १ मा वामगठबन्धनको पकड क्षेत्र मानिएको स्थानीय तहको मतसंख्या जोड्दा २८ हजार मत वामगठबन्धन पक्षमा थियो ।

तर, गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले २ हजार ८ सय ९३ मतले उपाध्यक्ष गौतमलाई पछाडि पार्न सफल भए । वामगठबन्धन हावी भएको ठाउँमा दुई गौतमबीच जित हार झिनो मतले भए पनि कांग्रेसले ऐतिहासिक विजय ठानेकोे विद्यार्थी नेता शोभाकान्त पौडेलले बताए । ‘कांगे्रसको जितलाई हामीले सामान्य रूपमा लिएका छैनौँ,’ उनले भने, ‘कम्युनिस्टको गढ भत्काएको ठानेका छाँै ।’
चुनावी नतिजाले वाम गठबन्धनको पकेट क्षेत्रमा यहाँका मतदाताले कांग्रेसलाई रोजेको देखिन्छ । चुनावमा एकै खाले परिणाम नआउनुमा यहाँका जनताले विकासप्रति अपेक्षा गरेको भल्किन्छ । पार्टीभन्दा पनि काम गर्ने व्यक्तित्व र काम गर्ने विश्वास हेरेर जनप्रतिनिधि छनोट गरेको अघिल्ला चुनावले पनि देखाएको छ ।

प्रकाशित: १८ पुस २०७४ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App