coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

धिमेले दिलाएको नाम र दाम

रेणु त्वानाबासु
अचेल पैसा कमाउनका लागि नयाँ–नयाँ प्रविधि सिक्ने चलन बढेको छ । प्राविधिक विषयमा पैसा बढी भएकाले यस्ता विषय सिक्ने कुरामा आकर्षण बढेको छ । पुरानो काम तथा विधिहरुले पैसा कमाउन सकिँदैन भन्ने मान्यता छ तर भक्तपुरकी एक महिलाले भने पुरानो सांस्कृतिक बाजा बजाएर लाखौं कमाइरहेकी छन् । धिमे बाजाबाटै उनले नाम र दाम दुवै कमाएकी छन् । उनले सायद अरु पेसामा लागेका मान्छेले नपाएको सम्मान पाइराखेकी छन् । उनले त्यही पुरानो प्रविधिको धिमे बाजा बजाएर नै देशविदेशमा आफ्नो नाम राखेकी छन् ।

उनको नाम इन्दिरा लासिमस्यू हो । उनी भक्तपुरको पहिलो धिमे बाजा बजाउने महिला हुन् । उनले नौ वर्षको उमेरदेखि बाजा बजाउन सुरु गरेकी हुन् । उनले धिमे बाजा बजाउन पहिला आफैँले सुनेर मात्र सिकेको बताउँछिन् । उनको घरमा नै केटाहरुलाई धिमे बाजा सिकाउने गरिन्थ्यो ।त्यतिबेला केटाहरुले सिकिरहेको ठाउँमा केटीहरुले हेर्न पनि हुँदैन भनिन्थ्यो । उनी भन्छिन्, ‘भाग्य भन्ने कि संयोग म बसेको सँगैको कोठामा नै बाजा बाजाउन सिकाइथ्यो । म त्यही सुनेर हातको कुहिनोमा बजाएर अभ्यास गर्ने गर्थें । यसरी नै मैले बाजाको तालबारे सिकेँ ।

पछि एकदिन घरमा कोही नभएको बेला जे पर्ला पर्ला भनेर उनी बाजा सिकाउने ठाउँमा गएर बाजा बजाइन् । त्यति नै बेला बाजा बजाउन सिकाउने गुरु टुप्लुक्क आइपुगे । गुरुले उनलाई भने, ‘तिमीले यति राम्रो बाजा बजाउन कसरी सिक्यौ ?’ ‘तपार्इंले सिकाएको देखेर,’ मैले भनेँ । त्यसपछि त के थियो, गुरु अति खुसी भएर अझै परिस्कृत हुन हौसला दिन थाले । इन्दिराले पहिलो पल्ट बाजा बजाउँदै सडकमा निस्कँदा धेरै मान्छेले कुरा काटेका थिए । केटी मान्छेले बाजा बजाएर के गर्ने ? के हुन्छ यो बाजा बजाएर ? भनेर आलोचना गर्थे । कतिले त कलियुग आएकाले यस्तो उपद्रव देख्नु पर्योसमेत भने ।

पहिला बाजा बजाउनु एउटा सोखको विषय थियो, यसैबाट कुनै महिलाले जीवनयापन गर्न सम्भव छैन भन्ने सोचिन्थ्यो । हिजोआज भने त्यही बाजाले उनलाई देशविदेशमा चिनाएको छ । ‘जुन दिनदेखि मैले सार्वजनिक रुपमा बाजा बजाएँ, त्यो दिनदेखि म यही बाजाका कारण चिनिएकी छु ।

त्यतिबेला बाजा नसिकेको भए आज म यो ठाउँमा हुने थिइनँ होला,’ उनी भन्छिन् । उनले बाजा बजाउन सिकिसकेपछि धेरै स्कुल तथा सांस्कृतिक कार्यक्रममा बाजा बजाउन थालिन् । त्यति बेला धिमे बाजा बजाउने महिलामा उनी मात्र थिइन् । धिमे बजाउने एक्ली महिलाको पहिचान बनाएका कारण पनि उनलाई बाजा बजाउन निम्तो दिनेको कमी थिएन । राम्रो धिमे बजाएका कारण पनि धैरेको आलोचना कम हुँदै पछि त निमिट्यान्नै भयो ।

‘बाजा बजाएर पहिलो पल्ट कमाएको भनेको एउटा गणेश सानो उपहार थियो,’ उनले सुरुवाती क्षण सम्झँदै भनिन् । त्यसपछि उनले त यसलाई व्यवसायकै रुपमा अँगालिन् । यसपछि हेटौँडामा एउटा कार्यक्रमका लागि बोलाइयो । ‘त्यहाँ मैले धिमे बाजा बजाएको राम्रो लाग्यो भन्दै पुरस्कारस्वरुप एक जना व्यक्तिले १०,००० रुपैयाँ हातैमा दियो,’ उनले आश्चर्यको कुरा सुनाउँदै भनिन्, ‘मलाई त्यतिबेला एकदम खुसी तथा गर्व लाग्यो र मैले सही काम गरेकी रहिछु भन्ने लाग्यो ।’ उनले धेरैजसो कन्सर्ट तथा विविध किसिमका कार्यक्रममा धिमे बाजा बजाउने गरेकी छन् । त्यस्तै होटल तथा पार्टी प्यालेसमा पनि बाजा बजाउन जाने गरेकी छन् ।

उनको एउटा समूह पनि छ । समूहमा बाजा बजाउन निम्त्याएका खण्डमा उनले २० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन् । एक्लै निम्त्याइएका बेला भने पारिश्रमिक पाँच हजारसम्म लिने गरेकी छन् । उनी बाजा मात्र बजाउँदिनन्, विभिन्न सांस्कृतिक नृत्य पनि प्रदर्शन गर्ने हुँदा उनी आफैँमा प्याकेज भएकाले अधिकांशतः उनलाई निम्तो आउने गरेको इन्दिरा बताउँछिन् । ‘यही बाजाकै कृपाका कारण विदेशसम्म घुम्न पाएँ,’ उनले सुनाइन्, ‘हामी २०५६ सालमा २६ दिनका लागि इटाली गयौँ । घुम्न पनि पाइने, पैसा पनि पाइने, यस्तो फाइदा अरु केहीमा हुन्छ त ?’ यति मात्र होइन, उनले सन् २००८ मा जर्मनी, सन् २०१२ मा अस्ट्रिया र सन् २०१६ मा भारतका सिक्किम तथा दार्जिलिङमा आफ्नो वाद्य कौशलसमेत देखाइसकेकी छन् ।

इन्दिराले हिजोआज कार्यक्रममा बाजा बजाउने मात्र होइन, नयाँ पिँढीलाई बजाउन पनि सिकाउन थालेकी छन् । ‘नेपालको चर्चित ब्याड कुटुम्बलाई मैले धिमे सिकाएँ,’ उनले गर्वका साथ भनिन् । अहिले पनि म भक्तपुरको एभरेस्ट स्कुलमा र लुभुको क्वय् छे दाफा खललाई हप्ताको एक दिन बाजा बजाउन सिकाउने गरेकी छन् । कतिपय इच्छुकलाई घरैमा गएर सिकाउने गरेको समेत उनले जनाइन् । उनले कतिपय व्यक्तिलाई बाजा सिकाए बापत घण्टाको ५०० रुपैयाँ लिने गरेकी छन् । नेपालीलाई मात्र नभई विदेशीलाई पनि उनले धिमे बजाउन सिकाउने गरेकी छन् । विदेशीलाई सिकाएबापत घण्टाको एक हजार रुपैयाँ लिने गरेको उनी बताउँछिन् ।

यति मात्र नभई हरेक वर्ष हुने भक्तपुर नगरपालिकाद्वारा आयोजना हुने गाईजात्रा मूल्याङ्कन कार्यक्रममा पनि उनी निर्णायकको दायित्व निर्वाह गर्ने गरेकी छन् । यस्ता कार्यक्रममा सहभागी भएबापत उनले शुल्क लिने गरेकी छन् । ‘यसरी एउटा बाजा बजाउन सक्षम भएयता मैले न त खाली बस्नु परेको छ न त यसबाट जीवन कसरी चलाउने होला भनेर चिन्ता नै,’ उनको भनाइ छ । धिमेबाट वाद्यवादन कर्म सुरु भए पनि उनी नौ बाजाका नौ वटा बाजा नै बजाउन सिद्ध भइसकेकी छन् ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App