coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सिरानीमुनिको पैसा निकाल्दा...

विमल कोइराला
पूर्व मुख्यसचिव

मेरो कलेज लाइफ
म १३ वर्षकै उमेरमा मैले विराटनगरको जनता माविबाट २०२५ सालमा एसएलसी पास गरेँ । त्यसपछि मैले काठमाडौँको त्रिचन्द्र कलेजमा नाम लेखाएँ । मलाई कलेजको सुरुवाती दिनमा एकदमै अनौठो महसुस भएको थियो किनभने म साह्रै सानो थिएँ । मेरा सहपाठी निकै ठूला थिए । म आफूलाई एसएलसी पास गरेपछि निकै वयष्क भएको ठान्थेँ तर जब म कलेज भर्ना भएँ, आफूभन्दा ठूला मान्छेहरु देखेर अचम्ममा परेँ । साह्रै सानो भएकाले मलाई सबैले भाइ भनेर बोलाउँथे, माया गर्थे । बिएस्सी विराटनगरमा पढेँ भने स्नातकोत्तर कीर्तिपुरमा ।   
डेरा
काठमाडौँ बस्दाताका म ताहाचल क्याम्पसको होस्टेलमा बस्थेँ, मेरो रुम मेट स्नातक पढ्ने साथी हुनुहुन्थ्यो । पछि म र एक जना साथी मिलेर डेरा लिएर बस्यौँ । त्यतिबेला कोठा भाडा ६० रुपैयाँ थियो । मैले र साथीले आधा आधा तिथ्र्यौं ।

मेरो कलेजको नाम
मलाई सबैले ‘एटम’ भनेर बोलाउँथे । सानो मान्छेले छिट्टै क्याम्पस पढेको भएर मलाई यही नामले बोलाउँथे । मैले पनि एटमको अर्थ बुझेकाले होला साथीहरुले यस नामले बोलाउँदा रमाइलो लाग्थ्यो ।

लभ परेन
म कलेज पढ्दा निकै सानो थिएँ । त्यसैले मेरो प्रेमिका हुने सवालै भएन । हाम्रो कक्षामा जम्मा १० जना केटी थिए र ११५ जना केटा । म जान्ने विद्यार्थी भएका कारण केटीहरु नजिकिन्थे तर तिनीहरु उमेरमा मभन्दा धेरै ठूला भएका कारण भाइजस्तो व्यवहार गर्थे । खासमा भन्ने हो भने अहिले जस्तो केटीहरुले पनि पढ्ने चलन थिएन । कोही कोही मात्र पढ्थे, त्यसमाथि विज्ञान पढ्ने त साहै्र नै कम हुन्थे ।

सिनेमा
त्यतिबेला मनोरञ्जनको साधन भनेको त्यही फिल्म हेर्ने थियो । विश्वज्योति हल कलेजबाट नजिकै थियो । हामी साथीहरु मिलेर त्यहीँ फिल्म हेर्ने गथ्र्यौं । त्यतिबेला धेरै फिल्म हेरियो । त्यसमध्ये भारतीय फिल्म नवीन निश्चल र रेखा अभिनित ‘सावन भादो’ खुब याद आउँछ । त्यो फिल्म त्यहाँ २०÷२१ हप्ता चलेको थियो ।

काठमाडौँको बसाइ खर्च
महिनामा २५० रुपैयाँले पुर्याइन्थ्यो । १० रुपैयाँ कलेज शुल्क तिरिन्थ्यो । ९५ रुपैयाँमा एक महिनाका लागि होटलमा खान पुग्थ्यो र बाँकी पैसाले आफ्नो खर्च टारिन्थ्यो । मैले स्नातक विराटनगरमा पढेँ । स्नातकोत्तर पढ्दा १५ रुपैयाँ कलेज अनि १५० खानामा खर्च हुन्थ्यो । किताब, कापी गर्दा त्यही ३५० रुपैयाँ जति खर्च हुन्थ्यो ।  

कलेज क्यान्टिन
म बिएस्सी पढ्दा महेन्द्र मोरङ क्याम्पसमा क्यान्टिन नै थिएन । त्यसकारण अहिलेको जस्तो क्यान्टिन जाने भन्ने कुरा थिएन । घरबाट कलेज ४ किमि टाढा थियो । म साइकलबाट कलेज आउजाउ गर्थें । त्यतिबेला बुबाले मलाई दैनिक एक रुपैयाँ दिनुहुन्थ्यो । त्यति पैसाले २ वटा समोसा र १ कप चिया आउँथ्यो । हामी त्यस्तै खाजा खान्थ्यौँ । पछिपछि साथीहरुसँग पैसा उठाएर पनि खान्थ्यौँ । ७० पैसा हरेकले उठाएर धेरै बनाउँथ्यौँ अनि समोसा र छोयला खान्थ्यौँ ।  

साहित्य
कलेजहरुमा खेलकुद त हुन्थ्यो तर म खेलकुदमा सहभागी भइनँ । बरु मलाई साहित्यमा रुचि थियो । म कलेज पढ्दाताका कविता लेख्थेँ । अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थेँ । हाजिरजवाफ, वादविवादमा भाग लिएर पुरस्कार पनि जितेको छु । त्यतिबेला लेखिएका कविताहरु पञ्चायती शासनविरोधी हुन्थे । म कडा कडा कविता लेख्थेँ । त्यही बेलाको जगले गर्दा नै त हो मैले ४ वटा कविता संग्रह निकाल्न सकेँ ।

विद्यार्थी राजनीति
मैले कुनै पनि विद्यार्थी संगठनको झण्डा त बोकिनँ तर म प्रजातन्त्रप्रति आस्था राख्ने मानिस थिएँ । पञ्चायत कालमा म तीन महिना जेल पनि बसेको छु । जेलमा बसे पनि मैले पढाइ बिगारिनँ । हामीले हड्ताल गरेको सम्झिन्छु, वामपन्थी नेता रामराजाप्रसाद सिंहलाई जेल हालेको विषयलाई लिएर हामीले प्रदर्शन गरेका थियौँ ।

मेरो पढ्ने तरिका
म परीक्षा आउनुभन्दा तीन महिनाअघि धेरै राम्रोसँग पढ्थेँ । तीन महिना त म घरबाट कतै निस्कन्नथेँ । परीक्षा आउनुअघि मैले अन्य विषयका आफूलाई चाखलाग्ने किताबहरु पढ्थे । साथीहरुसँग कम्बाइन स्टडी पनि खुब गरियो । त्यतिबेला हामीसँग ‘कम्बाइन स्टडी’का लागि  १७÷१८ जनाको ठूलो समूह नै थियो ।  

त्यतिबेलाको सामाजिक परिवेश
त्यतिबेलाको सामाजिक परिवेश असमावेशी चरित्रको पुरातनवादी संस्कारले ग्रस्त आर्थिक अवस्था धेरै नउठेको र खेतीपातीमा मात्र आश्रित जीवन थियो । केही केटीहरु स्कुलसम्म त जान्थे तर क्याम्पस जाने साह्रै कम हुन्थे । छोरीलाई बाहिर पठाएर पढाउने चलनै थिएन । जातपात अति थियो त्यो बेला दलित, मधेसी, पिछडिएका वर्गको पढाइको दर अत्यन्तै नाजुक थियो । आर्थिक अवस्था प्रायः मानिसको धेरै कम थियो । त्यो बेला खान–लाउन धेरै समस्या थियो ।

व्यक्तित्व विकासमा कलेजको प्रभाव
क्याम्पस जीवन अत्यन्तै महत्वपूर्ण जीवन हो । जे सिकिन्छ त्यही बेला सिकिन्छ । त्यतिबेला निष्ठा, इमान, स्वाभिमान र आलोचनात्मक क्षमताको वृत्ति विकास भएको हुन्छ । त्यो क्षमता भनेको कालान्तरसम्म चाहिने कुरा हुन् । मलाई क्याम्पस पढ्दादेखि नै दुःखीगरिब जनताको सेवा गरौँ भन्ने भावना आउँथ्यो, जसको फलस्वरुप मलाई प्राध्यापन गर्ने पेसा मन पर्ने हुँदाहुँदै जनतासँग नजिक भएर काम गर्ने लोभले म शाखा अधिकृतमा जाँच दिएँ, नाम पनि निस्कियो । कलेज लाइफमा पढेको, जानेको, सिकेको कुरा काममा हुबहु लागू हुने भन्दा पनि क्षमता वृद्धिमा भने अहं भूमिका निर्वाह गरेको हुन्छ ।

पुस्तान्तर
हामी अभावै अभावले हुर्किएको पुस्ता हौँ । जेमा पनि एडजस्ट हुन सक्नुपथ्र्यो तर छोराछोरी–नातिनातिनीलाई केही कुराको अभाव हुन पाएन ।
उनीहरुमा भविष्यको चिन्ता र चासो हाम्रो तुलनामा बढी पाएँ । उनीहरुलाई यो पढ्छु र यस्तो बन्छु भन्ने उद्देश्य सानै उमेरमा लिन्छन् । हाम्रो पालामा त्यस्तो थिएन ।
हाम्रो पालामा सामाजिक कुरीतिले जरो गाडेको थियो तर अहिलेको पुस्तालाई जातभात भन्ने कुरा कमै थाहा छ, जुन सकारात्मक कुरा हो ।
हाम्रो पालामा केटीहरुसँग बोल्ने, हिँड्ने अनि केटीहरु पनि केटासँगै घुम्ने भन्ने कुरा सोच्न पनि सकिन्नथ्यो । यो कुरा कल्पनाबाहिर थियो तर अचेल सँगै घुम्नु, बाहिर जानु सामान्य बनिसक्यो । अहिले विस्तारै लैंगिक विभेद हट्दै गएको छ ।

मेरो पालाको पढाइ
हाम्रो पालामा मुलुकमा पञ्चायती शासन व्यवस्था थियो । पञ्चायत शासन व्यवस्थाको विरोध गर्ने, लेख्ने, बोल्ने गर्न पाइन्नथ्यो । पढाइ भने राम्रै हुन्थ्यो । त्यति बेला अंग्रेजी पढाउने भारतीय शिक्षक हुन्थे । सकेसम्म प्रयोगात्मक गराइन्थ्यो । पढाइलाई महत्वपूर्ण ठान्ने बेला थियो, त्यो ।

मेरो सफलताको सूत्र
निष्ठा, इमान र कामप्रतिको लगन नै मेरो सफलताको सूत्र हो ।

सापटी दिन कान समातेँ
काठमाडौँमा पढ्दाताका म उमेरमा अलि कच्चै थिएँ । एक जना मभन्दा सिनियर साथीले पैसा सापट माग्नु भयो । मैले पनि दिएँ । त्यस बेला ज्यादै सीमित पैसाले गर्जो टार्नु पथ्र्यो । जुन बेला उहाँले पैसा फिर्ता दिन्छु भन्नु भएको थियो, त्यो बेला फिर्ता आएन । अब आउला, तब आउला भन्दाभन्दै समय बित्यो । विद्यार्थी कालमा त्यसै पनि कम पैसा हुन्छ । एकै चोटि सबै पैसा सापटी दिँदा मलाई पर्नु अप्ठेरो पर्यो । मैले त्यो बेला नै सापट दिनु हुँदैन भन्ने त सोचेको थिएँ तर पछि फेरि अर्को पटक पनि त्यस्तै समस्या आइपर्यो र सापटी दिएँ ।
यस पटक पनि भनेको बेला पैसा फिर्ता पाइनँ । यस पटक त झनै अप्ठेरोमा परेँ । त्यसपछि म त सापटी दिन यति काब्बु भएँ कि कानै समातेँ । भो अब आइन्दा कसैलाई पनि सापटी दिनुभन्दा अगाडि १० चोटि सोच्छु भन्ने लाग्यो । त्यसैले हिजोआज पनि पैसा सापटी दिनुपर्दा धेरै पटक सोच्ने गर्छु ।

प्रस्तुतिः प्रजु पन्त ।  

प्रकाशित: १८ पुस २०७४ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App