coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जाडो याममा छालाको हेरचाह कसरी गर्ने ?

डा. अनुपमा कार्की
सहप्राध्यापक, वीर अस्पताल तथा नेपाल स्किन केयर सेन्टर

जाडोको समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुँदा छाला फुस्रो, सुख्खा, खस्रो, फाट्ने हुन्छ । त्यसैले छालालाई मुलायम तथा नरम राख्नका लागि मोस्चराइजिङ क्रिम तथा लोसनको समयसमयमा राम्रो तरिकाले प्रयोग गर्नुपर्छ । सकेसम्म जाडोयाममा साबुनको प्रयोग कम गर्नुपर्छ । साबुन प्रयोग गर्दा छाला फुस्रो, कडा, चिलाउने र एलर्जीजस्ता समस्या देखापर्छ ।
जाडोयाममा हाम्रो शरीरमा कस्ता प्रकारका समस्या देखा पर्छन् ?
सुख्खापन
जाडोयाममा हावा चिसो, रुखो र हावाको सापेक्षिक आद्र्रता पनि घट्छ । जसले छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यसकारण हात, खुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ । फुस्रो छाला बढी चिलाउँछ र यसमा एक्जिमको मात्रा बढी हुँदा एलर्जी हुने गर्छ ।
चिलब्लियन्स
यस प्रकारको एलर्जी चिसो मौसममा बढी हुन्छ । यो प्रायः चिसोमा हिँड्ने, चिसोमा काम गर्ने व्यक्तिलाई हुन्छ । यो एलर्जीबाट बच्न चिसोबाट बच्नुपर्छ । चिसोबाट बच्नका लागि शरीरलाई तातो पारेर राखिरहनु पर्छ । सकेसम्म चिसोमा काम  कम गर्दा राम्रो हुन्छ । त्यस्तै छाला तथा चर्म रोग विशेषज्ञसँग परामर्श लिई औषधिको प्रयोग गर्न सकिन्छ ।
घामबाट हुने एलर्जी
जाडोयाममा हामी सबैलाई घाम प्यारो हुन्छ । सिधै घाममा बस्दा हामीलाई घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ । यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नु पर्छ ।
सोरियासिस अर्थात् कत्ले रोग
यस प्रकारको रोग जाडो याममा बढी देखा पर्ने हुन्छ । घामको किरण जाडो याममा शरीरमा कम पर्दा कत्ला देखा परेको अनुमान गर्न सकिन्छ । यो रोगको उपचारका लागि चिकित्सकको सल्लाह लिनु पर्छ ।
सिबोरिक डर्माटाइटिस
जाडो याममा चायाको रोगले पनि सताउँछ । चिसो भई हामी राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ अनि यो रोग लाग्छ । यस रोगका लागि चिकित्सकको सल्लाह लिनुपर्छ । यो रोग सबैलाई एकै कारणले भएको हो भन्न सकिन्न ।
लुतो  
चिसो मौसममा मानिस प्रायः ननुहाउने, मैलो कपडा लगाउने गर्छन् जसले गर्दा शरीरमा लुतो हुन्छ । लुतो कीटाणुबाट सर्छ ।

छालालाई हेरचाह गर्न निम्न उपाय अपनाउन सकिन्छ :
–    छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।  
–    साबुनको प्रयोग कम गर्ने । मोस्चराइजिङ साबुन तथा फेस वास प्रयोग गर्ने  ।
–    ओठ चिल्लो राख्न भ्यासलिन तथा लिप बाम प्रयोग गर्ने ।
–    घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने ।
–    बढी चिसो पानीमा काम नगर्ने ।
–    बढी तातो पानीले ननुहाउने ।
–    शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
–    केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।

प्रकाशित: १८ पुस २०७४ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App