coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

फुपुल्हामुको पदक सपना

विश्वमणि पोखरेल/ कमल खत्री
फुकुल्हामुको किशोरावस्था काठमाडौंको नयाँ बजारमा बित्यो । त्यसबेला उनी भर्खर १२ वर्षकी थिइन र ठँहिटीको प्रभात स्कूलमा पढ्थिन । पर्यटन व्यवसायमा लागेका बुबा दोर्जे खत्री हिमालका काख र टुकुरा चहारिरहन्थे । आमा फुकुथाक्चे शेर्पाले त्यहीँ सानो रेस्टुराँ ‘ताप्लेजुङ्ग खाजा घर’ चलाएकी थिइन् । रेस्टुराँनजिकै बहुउद्देश्यीय कभर्ड हल थियो । हलमा मार्सल आर्टका प्रशिक्षण र प्रतियोगिताहरु भइरहन्थे । त्यहाँ जुडोको पनि प्रशिक्षण हुन्थ्यो । त्यहीँका प्रशिक्षक चन्द्र डंगोल  ताप्लेजुङ खाजा घरमा चिया, खाजा आउँदा फुकुको  चञ्चलतामा उनको आँखा गढ्यो । जतिखेर पनि चकचक गरिराख्ने, खेलिरहने, हाँसिरहने र मानिसहरूसँग बोलचाल गरिहाल्ने स्वभावकी फुकुमा चन्द्रले पोटेन्सियल देखे र बाबु दोर्जेलाई छोरीमा राम्रो सम्भावना भएको बताउँदै जुडोमा लगाउन हौसाए ।

नजिकै कभर्ड हल भएकोले फुकुल्हामु पनि बेलाबेला त्यहाँ खेल हेर्न जाने गर्थिन् । रहरले हेर्न जाँदाजाँदै जुडोप्रति उनको आकर्षण बढ्न थाल्यो भने चन्द्रको प्रयास र बाबुको प्रेरणाले उनलाई रिङमा ल्यायो । एक दसक अघिका कुरा सम्झँदै फुकुल्हामु भन्छिन्, ‘थाहै नपाई म यस क्षेत्रमा आएकी हुँ । कुनै योजना थिएन, कुनै तयारी थिएन । कसरी जुडोमा लागिन्छ भन्ने त थाहा नै थिएन ।’

२१ वर्षीय युवती फुकुल्हामु आफ्नो बाल्यकालबारे यसरी खुल्छिन्, ‘ म आफू जे मन लाग्यो त्यही गर्ने, अरुले भनेको नमान्ने खालकी थिएँ, चकचक गरिरहन्थेँ, खाली बस्दै नबस्ने मेरो बानी थियो ।’ कभर्ड हल बसोबासनजिकै भएकाले मौका पाउनासाथ उनी त्यहाँ पुगिहाल्थिन् । ‘

खेल भैरहन्थे, म हेर्न जान्थेँ, हेर्दाहेर्दे रुचि जाग्दै गयो,’ फुकुल्हामु भन्छिन्, ‘चन्द्र सरको कुरा सुनेपछि बुबाले मलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो । जुडोमा लाग्न आवश्यक सबै कुराको व्यवस्था पनि मिलाउनुभयो ।’ सुरुको अवस्थामा कति पटक जुडोको प्रशिक्षण बंक गरेको सम्झनासमेत उनमा छ । ‘सुरुमा त म कति पटक प्रशिक्षणमा जाँदै गइनँ, बुबाले जान भन्न्नुहुन्थो, म भागेर अन्यत्रै जान्थेँ,’ फुकुल्हामु भन्छिन्, ‘दुई वर्षपछि नियमित जान थालेँ, त्यसपछि अहिलेसम्म निरन्तर छ । जीवन नै जुडोमय बनेको छ ।’

बाबुको प्रेरणा
नेपाली जुडो स्टार फुकुल्हामु  खत्रीको आदर्श व्यक्ति अरु कोही नभएर आफ्ना बुबा स्व. दोर्जे खत्री हुन् । साहसी स्वभावका दोर्जे पर्वतारोही थिए । विश्वको सर्वोच्च शिखर सगरमाथामा पुगेर इतिहास बनाउनेलाई सहयोग गर्ने गर्थे दोर्जेले । सगरमाथाको शिखरमा चढने बानीले होला दोर्जेलाई आफ्ना छोराछोरीले पनि केही साहसिक काम गरून्, सफलताका शिखर चढून् भन्ने भावना थियो । त्यही भावनाले उनले आफ्ना सबै सन्तानलाई खेलकुदमा लाग्न प्रोत्साहन गरे । दोर्जेले धेरै पटक हात समातेर जुडोको म्याटसम्म लगेको सम्झना छ फुकुल्हामुलाई ।  बुबाको सपना थियो– छोरी नेपाली खेलकुदको स्टार खेलाडी बनोस्,  अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र गौरव बढाओस् । दोर्जे अहिले यस संसारमा छैनन् । २०७१ साल वैशाख पहिलो साता सगरमाथाको फेदीमा गएको हिम पहिरोमा परेर उनको निधन भयो । छोरी फुकुल्हामुले दोर्जेको सपना पूरा गरेकी छन्, जुडो स्टार बनेर । जुडोमा फुकुल्हामुका सफलता थपिँदैछन् र उनको सफलता हासिल गर्ने क्रम अहिले तीव्र गतिमा बढेको छ । खेलेको कुनै पनि प्रतियोगितामा फुकुल्हामुुले खाली हात फर्कनु पर्दैन । उनको कडा मिहिनेत र परिवारको सहयोगले थप सफलताका सिँढी चढिरहेकी छन् । त्यसका लागि उनले आफ्नो जीवन नै जुडोमा समर्पित गरेकी छन् । जुडो बाहेकको फुकुल्हामुको अरु कुनै लक्ष्य छैन ।उनको दैनिकी जुडोबाट सुरु हुन्छ र अन्त्य पनि जुडोकै गतिविधिबाट सकिन्छ । ‘म कहीँ पनि खेल्न जाँदा बुबाको अनुहार सम्झन्छु, उहाँका प्रेरणाप्रद क्षणहरू मनभरि आउँछन्, त्यसकै बलमा म भिँड्छु,’ फुकुल्हामु भन्छिन् । प्रतियोगिता खेल्न जाँदा उनले आफ्नो ब्याग मिलाउँदै गर्दा बुबाको सम्झनाले प्रत्येक पटक आँखा रसाउने गर्छ ।  फुकुल्हामु भन्छिन्, ‘हरेक पटक प्रतियोगिता खेल्न घरबाट निस्कँदा बाबुलाई सम्झन्छु । पहिला खेल्ने जाने भनेपछि बुबाले सबै कुरा मिलाइदिनु हुन्थ्यो । अहिले आफैँ मिलाउँछु । त्यो बेला बुबाको याद आउँछ । त्यतिबेला मनमनै म जुडोमा केही गर्छु, बुबाको सपना पूरा गर्छु भन्ने अठोट पलाउँछ ।’

झण्डै छाडेको
बाबुको प्रेरणामा अगाडि बढ्दै गएकी फुकुल्हामुका लागि बुबाको निधन ब्रजपातभैmँ भयो । उनले झण्डै जुडो छाडेकी थिइन् तर जुडोकै खेलाडी दिदी डोमाको ढाडस र प्रेरणाले यात्रा रोकिएन । ‘मैले गिभअप गर्न खोजेकी थिएँ, तर दिदीले बुबाको प्रेरणाअनुसार अगाडि बढ्न मलाई हौसाउनुभयो र म आफ्नो ठाउँमा फर्कन सकेकी हुँ । यसमा दिदीको भूमिका छ ।’ जब प्रतियोगिता खेलिरहेको बेला अन्तिम समयमा अब सक्दिनँ भन्ने बेलामा झट्ट बुबाको याद आउँछ उनलाई । ‘अन्तिम समयसम्म आफ्नो शक्ति बढाउने कोसिस गर्छु,’ फुकुल्हामु भन्छिन्, ‘बुबाको सम्झनाले पनि म खेलमा सहजै हार स्वीकार गर्दिनँ ।’
नयाँ बजार कभर्ड हलबाट सुरु गरेको फुकुल्हामुको जुडो करियर राष्ट्रिय स्तरमा अगाडि बढ्दै छ र नयाँ–नयाँ उचाई पाउँदै छ । राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आफूलाई नेपाली जुडोको स्टार खेलाडीका रुपमा परिचित गराउने खत्रीको परिवार जुडोमय छ । जुडो खेललाई परिवारका सदस्यले बुझेका छन् । फुकुल्हामुलाई सफलता हासिल गर्नमा परिवारको उत्प्रेरणा र साथले सहयोग गरिरहेको छ । फुकुल्हामु भन्छिन्, ‘परिवार मेरो शक्ति हो । जुडो बुझेकाले मलाई खेलमा सधैँ ऊर्जा मिल्छ । केही कठिनाई र समस्यालाई पन्छाउन परिवारले साथ दिन्छ ।’ परिवारलाई जुडोमय बनाउने सोच थियो फुकुल्हामुका बुबा दोर्जेको । उनले फुकुल्हामुलाई मात्र होइन, जेठी छोरी डोमा र छोरा छिरिङ दोर्जे खत्रीलाई पनि जुडो खेल्न प्रेरणा दिने गरेका थिए । दिदीले पाखुराको समस्या भएपछि खेल्न छाडिन् । भाइले पनि स्वास्थ्यले साथ नदिएपछि जुडो खेललाई अगाडि बढाउन सकेनन् तर फुकुल्हामुले भने जुडोबाट आफ्नो पहिचान बनाएरै छाडिन्, स्टार खेलाडीका रुपमा ।   

केटासँग प्रतिस्पर्धा
दैनिक प्रशिक्षणमा फुकुले केटीभन्दा केटा साथीलाई अभ्यास गर्ने साथीका रुपमा रोज्ने गर्छिन् । केटाको मुभमेन्ट र पावर हुने भएकाले खेलमा स्पिड बढ्ने उनको बुझाइ छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दा विपक्षी खेलाडीको स्पिड केटाहरुकै स्तरमा हुन्छ । उनीहरुलाई कडा टक्कर दिन शारीरिक रुपमा बलियो, स्पिड, लचकता र टेक्निकमा चलाख हुनु पर्छ । केटाहरुसँग अभ्यास गर्दा फाइदा हुने फुकु बताउँछिन् । त्यसले उनलाई खेलमा राम्रो गर्न सहयोग गरिरहेको छ । विदेशका केटीहरूले केटाहरूसँग अभ्यास गर्ने र उनीहरू निकै दर्हो हुने भएकाले आफूले पनि त्यही बाटो अँगालेको उनी बताउँछिन् । ‘विदेशी केटीहरू केटीजस्ता हुँदैनन्, केटीहरूले खेलेजस्तै लाग्दैन,’ फुकु भन्छिन्, ‘नेपालका कोही कोही केटीहरू मात्र हो, अरु त त्यत्तिकै लडिहाल्छन् ।’

सकिराजस्तै हिप हल्दाउँदा
अमेरिकाकी चर्चित गायिका सकिराले गीत गाउँदा कम्मर र हिप हल्लाउँदा देखिने दृश्यजस्तै ठान्दछन्, फुकुल्हामु जुडो खेल्दाको दृश्य । ‘मेलै जुडो खेल्दाको दृश्य देखेर प्रतिक्षकहरू सकिराको नृत्यजस्तै हुने गरेको बताउँछन्,’ फुकुल्हामु हाँस्दै भन्छिन्, ‘म खेलको अवस्था, सिचुएसन, खेलाडीले अपनाएको टेक्निकका आधारमा आफ्नो ज्यानलाई लचिलो बनाउँछु, शरीर मर्काउँछु र त्यसै आधारमा खेल्छु, त्यसैले मैले खेल्दा सकिराको नृत्यजस्तो खेल देख्दारहेछन् ।’

आफूले कुनै खालको तनाव र प्रेसर नलिइकन म्याटमा उत्रने उनी बताउँछिन् । ‘मेरो आफ्नै खालको तरिका छ,’ उनी भन्छिन्, ‘पहिला अरुको टेक्निक थाहा पाउने अनि त्यसैअनुसार आफूलाई ढाल्ने बानी छ । खेलाडीले कहिल्यै एउटै टेक्निकबाट खेल्नु हुँदैन । त्यसो भयो भने अर्काले आफ्नो कुरा थाहा पाइहाल्छ ।’ खेल र आफ्नो प्रतिस्पर्धी खेलाडीको अवस्थामा आधारमा टेक्निक अपनाउनुपर्ने उनको बुझाइ छ । ‘नेपालका खेलाडी को कस्तो खेल्छन् त्यो त थाहा छ,’ फुकु भन्छिन्, ‘विदेशका खेलाडीको हकमा भने खेलको टाइसिट आइसकेपछि खेलाडीहरूको खेल युट्युबमा हेरेर आफूलाई तयारी गर्ने हो ।’

हँगेरीमा रुनुपर्यो
साफ गेममा प्रतिस्पर्धामा गर्नुअघि फुकुल्हामु हंगेरीबाट सोझै साफ च्याम्पियनसिप भैरहेको भारतको आसाम पुगेकी थिइन् । करिब ५ महिना लामो हंगेरीको प्रशिक्षण सम्झिएर अहिले पनि उनको मन ढक्क हुन्छ । त्यसबेला पाएको दुःख, कष्ट र लगातारको प्रशिक्षणबाट कहिलेकाहीँ दिक्क हुने गरेकी थिइन् । घरमा आमा अनि गुरुहरूसँग फोनमा रुँदै आफू यहाँ टिक्न नसक्ने भनी गनगन गर्थिन् । ‘आफ्नो देशका कोही साथी थिएनन्, एक छिन फुर्सद नपाइने, कडा मिहिनेतका कारण दिनदिनै तनाव हुन्थ्यो,’ हंगेरीका ती दिन सम्झदै फुकुल्हामुले भनिन्, ‘खानपिन भेष, भाषा केही नमिल्ने भएकाले म निकै तनावमा थिएँ तर प्रशिक्षण भने गिभअप गरिनँ, रोइरोई पनि प्रशिक्षण गरेँ ।’
हंगेरीको प्रशिक्षणले खेलमा निखार ल्याएको उनको विश्लेषण छ । ‘म हंगेरीमा छँदा साफ च्याम्पियनसिपमा नेपालले उसुमा स्वर्ण पदक ल्यायो भन्ने समाचार थाहा पाएकी थिएँ,’ फुकु भन्छिन्, ‘त्यो समाचार पढेपछि मैले पनि जुडोमा ल्याउनु पर्छ भन्ने भयो । त्यही स्पिरिटमा खेलेको त पदक पो आयो ! म त हेरेको हेर्यै भएँ, साफमा स्वर्ण जित्दा ।’

खेल करियरमा खुसीभन्दा चुनौती धेरै भएको फुकुको बुझाइ छ तर ती चुनौतीलाई पार गर्नु नै जीवनको सफलता हो भन्ने उनी ठान्छिन् । ‘अन्तर्राष्ट्रिय खेल भनेको त राष्ट्रको गौरव बढाउने कुरा हो, त्यस्ता प्रतियोगिता खेल्दा फुकु होइन नेपालले खेलिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘सफलता पाउन जति सहज छ त्यसलाई जोगाइराख्न उत्तिकै कठिन ।’ ‘म जुडोबिना आफ्नो जीवन कल्पना पनि गर्न सक्दिनँ, जुडो नै मेरो जीवन हो’ फुकु निष्कर्ष सुनाइन्,  ‘जुडोमा प्राप्त उपलब्धिलाई जोगाइराख्नु मेरो लक्ष्य हो ।’

आगामी बाटो
खेल करियरमा सफलता थप्दै गएकी फुकुको अबको सपना भनेको ओलम्पिकमा सोझै छनोट हुने हो । उनी भन्छिन्, ‘अब मेरो लक्ष्य ओलम्पिकमा प्रतिस्पर्धा गरेर छनोट हुने हो । यसका लागि मिहिनेत गरिरहेकी छु ।’ यसअघि नेपाली खेलकुदमा तेक्वान्दोकी संगीना वैद्य छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी हुन् । फुकुका लागि अर्को चुनौती भनेको आफूले पाएका सफलतालाई जोगाइराख्नु पनि हो । नेपाल १३ औँ साग खेलकुद प्रतियोगिता गर्ने तयारी गरिरहेको छ । नेपालले सागमा स्वर्ण जित्ने खेलाडीको सूचीको अग्रपंक्तिमा पर्ने खेलाडी हुन्, उनी । साग होस् या अन्य प्रतियोगिता, जुडोमा फुकुले पदक जित्न सक्छिन् भन्ने नेपाली खेलकर्मीको विश्वास छ । आम खेलकर्मीको विश्वासलाई जोगाइराख्नु पनि फुकुका लागि भविष्यको चुनौती हो तर उनी कुनै दबाब र तनाब नलिई आफ्नो योजनाअनुसार अभ्यास गरिरहेकी हुन्छिन् । ‘हो, मलाई धेरैले पदक जित्छ भन्ने विश्वास गर्नु हुन्छ । संघले पनि ममाथि धेरै विश्वास गरेर लगानी गरेको हुन्छ । म सतप्रतिसत नतिजा निकाल्ने प्रयास गर्छु । म्याटमा पुगेपछि म राम्रो गर्न सक्छु भनेर लड्छु । पदक जित्छु भन्ने कुरा सोच्दिनँ ।’

दैनिकी
काठमाडौंको जरखुं वसन्तनगरबाट फुकुको बिहानी सुरु हुन्छ । बिहान ५ बजे उठेर उनी दैनिक प्रशिक्षणका लागि तयारी गर्छिन् । करिव १५ किमि टाढा सातदोबाटो आउनु पर्छ दैनिक अभ्यासका लागि । प्रशिक्षण गरेर फर्केपछि केही घण्टा आराम गरेपछि अपराह्न उनी महाराजगंजको जिममा बिताउँछिन् । ‘जिमपछि आफ्नो व्यक्तिगत अभ्यासबाट दिनको अन्त्य हुन्छ । हरेक दिन प्रशिक्षण, जिम, प्रतियोगिताको तयारीमैे ध्यान केन्द्रित हुन्छ,’ फुकु भन्छिन्, ‘बचेको थोरै  समय परिवार र साथीसँग रमाएर बताउने गर्छु ।’
कडा मिहिनेत नगरेर खेलमा टिक्न गा¥हो हुन्छ । फुकु भन्छिन्, ‘मिहिनेत गरेन भने जित हासिल गर्न कहाँ सकिन्छ । मिहिनेत पनि आत्मदेखि गर्नु पर्छ । शरीरलाई हरेक समय फिट राख्नु पर्छ । आत्मविश्वास बलियो बनाएर प्रतियोगिताका लागि तयार बन्नु पर्छ ।’
जुडोजस्तै फुकुको दैनिक अनुशासित छ । उनको पूरा समय खेल सुधार गर्न र सफलता हासिल गर्ने माध्यम अभ्यासमा बित्छ ।

श्रींलकाको जस्तै नीति
नेपालले पनि श्रीलंकाले जस्तै जुडो लगायतका खेललाई उच्च प्राथमिकता दिनुपर्ने फुकुको धारणा छ । नेपालले खेल क्षेत्रका लागि खासै ध्यान नदिएको, प्रशस्त बजेटहरू उपलब्ध नगराउने गरेको उनको बुझाइ छ । ‘नेपालीले दालभात खाएकै भरमा कतिपय मेडलहरू ल्याएका छन् । राज्यले त्यसमा लगानी गर्ने हो भने नेपालीले धेरै गर्ने थिए,’ फुकु भन्छिन्, ‘खेलाडी एक्लैले गरेर मात्र हुँदैन, त्यसमा राज्य पनि लाग्नुपर्छ, खेल क्षेत्रलाई पुग्दो बजेट दिनुपर्छ ।’

मेडल टचले उत्साह
फुकुको लामो व्यक्तिगत विवरणमा दुइटा पाटा छन् । एउटा एचिभमेन्ट र अर्को स्पेसल एचिभमेन्ट । स्पेसल एचिभमेन्टमा उनले नेसनल ब्ल्याकबेल्ट, थाइल्यान्डको स्पेसल तालिम, नेपाल नेसनल एन्ड इन्टरनेसनल प्लेयर्स एसोसिएसन अवार्ड, बजाज पल्सर स्पोर्टस अवार्ड २०६७, रियो स्कलरसिप, हंगेरी र दुर्नाभर्सरीको २०१६ को टेनिङ, बजाज पल्सर स्पोर्टस अवार्ड २०७२ को महिला वर्ष खेलाडीको पुरस्कार उनले जितेकी छन् ।

उता एचिभमेन्टहरुमा विभिन्न खाले करिब ३ दर्जन प्रतियोगिता उल्लेख छ । जसमा उनले ४ वटामा स्वर्ण, ८ वटा प्रथम, ५ वटामा दोस्रो, ५ वटा तेस्रो, ३ वटा चौथौ स्थान र सहभागी मात्र भएका करिब एक दर्जन प्रतियोगिताको विवरण छ । उनले भारतमा सन् २०१० मा भएको राजीव गान्धी अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा कास्य पदक जितेर अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने क्रमको सुरुआत गरेकी थिइन् । त्यसपछि फुकुले थाइल्यान्डमा सोही वर्ष भएको एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा कास्य, पाकिस्तानमा आयोजित साउथ एसिया जुडो च्याम्पियनसिपमा रजत, सातौँ साउथ एसियन जुडोमा रजत, हङकङमा भएको जेयुए क्याडेट एन्ड जुनियर जेयुडीओमा कास्य र रजत, भारतमा भएको १७ औं एसियन जुनियर जुडोमा स्वर्ण जितेकी छन् । यसबाहेक अन्य थुप्रै घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा फुकुले पदक जितेर आफूलाई सफल खेलाडीको सूचीमा उभ्याएकी छन् ।मार्सल आर्टमा जुडो अनुशासित खेलमा पर्छ । आत्मरक्षाका लागि परम्परागत रुपमा जुडो खेलको विकास भएको इतिहास छ । नेपाली जुडोमा अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने थोरै खेलाडीमा पर्छिन् फुकु । अहिलेको युवापुस्तामा फुकु शीर्ष खेलाडीमा पर्छिन् । पछिल्ला दिनमा नेपाललाई दिलाएका सफलताले फुकुलाई नेपाली जुडोमा कीर्तिमान पदक दिलाउन सक्ने खेलाडीको रुपमा लिइन्छ । अर्थात्, नेपालले अन्तर्राष्ट्रिय स्तरमा केही चमत्कार गर्न सक्छ भने त्यो फुकुले नै गर्न सक्छिन् भन्ने विश्वास मौलाउँदै जान थालेको छ । सो कुरा रियो ओलम्पिक र भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदको नतिजाले प्रस्ट पारिसकेको छ ।

रियो ओलम्पिक बिदाइका बेला उनले एउटा वाचा गरेकी थिइन्, ओलम्पिकमा पूरा समय खेलेर फर्कन्छु । ओलम्पिक अनुभव नेपाली खेलाडीका लागि सहभागी हुनु मात्र पनि ठूलो उपलब्धि हो । अहिले ओलम्पिकमा नेपाली खेलाडीले व्यक्तिगत प्रदर्शन  र राष्ट्रिय कीर्तिमानलाई सुधार गर्ने लक्ष्य लिएर जाने गरेका छन् । वाचा गरेअनुसार फुकुले ब्राजिलमा भएको रियो ओलम्पिकमा पूरा गरिन् । उनले निर्धारित ४ मिनेट टिकेर राष्ट्रिय कीर्तिमान पनि बनाइन् । उनले क्युबाकी इस्पिनोसा मारिसेटसँग अन्तिम समयसम्म प्रतिस्पर्धा गर्दै आफ्नो लक्ष्यलाई पूरा गरिन् ।

पूरा समय विपक्षीलाई चुनौती दिएकी फुकुको नेपाली जुडोमा कीर्तिमानसमेत बन्यो, पूरा समय ओलम्पिकमा विपक्षीसँग खेल्ने खेलाडीका रुपमा । ओलम्पिकमा नेपाली जुडो खेलाडी पूरा समय म्याटमा टिक्न सकेका थिएनन् । तर फुकुले पूरा समय टिक्दै घरेलु जुडोमा कीर्तिमान प्रदर्शन गरी आफ्नो नाम लेखाइन् । जुडोबाट ओलम्पिक खेल्ने फुकु नेपालको चौथो खेलाडी हुन् । उनीअघि सन् १९८८ मा भएको २४ औं सियोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले प्रतिस्पर्धा गरेका थिए । २००८ मा देबु थापाले बेइजिङमा भएको ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् र ब्राजिलमा देबु फुकुको प्रशिक्षकको रुपमा सहभागी भएकी थिइन् । साग र ओलम्पिकको प्रदर्शनले फुकुलाई नेपाली खेलकुदमा चर्चित खेलाडीको सूचीमा उभ्याइदिएको थियो । रियो ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्ति पाएकी फुपुले हंगेरीमा करिब एक वर्ष प्रशिक्षण गर्ने अवसर पाएकी थिइन् । प्रशिक्षणको दौरान उनले हंगेरी ओपन जुडो च्याम्पियनसिपमा कास्य जितेकी थिइन् । ‘उनको क्षमताका कारण नेपाल जुडो संघले पनि फुकुलाई अन्तर्राष्ट्रिय प्रशिक्षणमा अवसर दिइरहेको छ,’ फुकुकी प्रशिक्षक देवु भन्छिन्, ‘संघको आशा हुन् उनी । भविष्यमा फुकुले नेपाली जुडोलाई अहिलेसम्मकै ठूलो उपलब्धि दिलाउने विश्वास छ नेपाली जुडोकर्मीमा ।’
नेपाली जुडो इतिहासमा सफलता थप्न फुकु विश्वासिलो खेलाडी भएको देवुको बुझाइ छ । फुकुको मिहिनेत, खेल्ने शैली र आत्मविश्वासले जुडोमा एकपछि अर्को सफलता पाउने देवुको विश्वास छ ।

भारतमा भएको सागमा फुकुले जितेको स्वर्ण नेपाली जुडोले जितेको एक मात्र स्वर्ण पदक थियो । सागमा स्वर्ण जित्दा दक्षिण एसियाका बलिया राष्ट्रलाई पनि फुकुले चुनौती दिएकी थिइन् । जुडोमा राम्रो सुविधा र लगानी गरेको छ भारतले । भारतीय खेलाडीलाई उसैको घरेलु कोर्टमा हराउन सहज थिएन । त्यो पनि फाइनलमा तर फुकुले भारतीय खेलाडीलाई नै हराउँदै स्वर्ण जितिन् । भारतीय खेलाडीलाई हराएपछि फुकुको खेल्ने शैली देखेर सकिरा भनेर बोलाउने गरेका थिए । उनको विपक्षी खेलाडीलाई लडाउन सक्ने क्षमतामा लचकता भएर नै उनलाई मार्सल आर्टकी सकिरा नाउँ राखिएको थियो ।

रियो ओलम्पिकमा फुकुले नेपालको राष्ट्रिय झन्डा बोकेर मार्च पास गर्ने टोलीको नेतृत्व गरेकी थिइन् । त्यो अवसर धेरै कम खेलाडीले पाउने गर्छन् । रियो ओलम्पिकले फुकुको परिचयलाई फरक ढंगले चिनाइदिएको छ । ओलम्पिकका लागि त्रिपुरेश्वरको रंगशालाबाट बिदाइ हुँदा नेपाली खेलकर्मी र मिडियासमक्ष फुकुले पदक होइन पूरा समय खेलेर फर्कने कोसिस गर्छु भनेकी थिइन । ओलम्पिकमा नेपाली जुडो खेलाडीले पूरा समय म्याट टिक्नु पनि कीर्तिमान थियो । त्यो कीर्तिमान फुकुले बनाइन् । चार मिनेट म्याटमा विपक्षी खेलाडीको सामना गरेर । मार्सल आर्टको लोकप्रिय खेलमा पर्ने जुडोमा फुकुले एकपछि अर्को सफलता हासिल गरिरहेकी छन् । ओलम्पिकमा चार नेपाली जुडो खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् तर चार जनाले खेलाडीले पूरा समय म्याटमा टिक्न नसकेर फर्किएका थिए । फुकुले विगतको नतिजालाई पर्वाह गरिनन्, हिम्मत हारिनन् र आफ्नो लक्ष्य पूरा गरेर फर्किइन् ब्राजिलबाट ।

२१ वर्षे फुकुले २०७२ सालमा पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्दा नेपाली खेलका अन्य थुप्रै स्टार खेलाडीलाई पछि पारेर उत्कृष्ट महिला खेलाडी बन्न सफल भएकी थिइन् । त्यस बापत उनले बजारको पल्सर बाइक पनि जितेकी थिइन् । त्यसैगरी उनले स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितिसकेकी छन । साथै फुकु स्पोर्टस अवार्डको लोकप्रिय विधाको मनोनयनमा परेकी खेलाडी पनि थिइन् । यसबाहेक उनले सागमा स्वर्ण जितेको भन्दै उनले राष्ट्रपतिदेखि लिएर युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कार पाएकी छन् ।फुकुले जितेको महत्वपूर्ण पदकमा हङकङमा भएको ओलम्पिक र्याङकिङ जुडोमा रजत, मकाउमा भएको जेयुए क्याडेट जुनियर च्याम्पियनसिपमा कांस्य, १२औ सागको स्वर्णमा पर्छ । सागमा स्वर्ण जित्दा उनले श्रीलंकाका डिभाइएल वाजेवद्र्धने, बंगलादेशकी कान्ता र पाकिस्तानकी अब्रिन मसिहलाई इप्पोन (नकआउट) पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । फाइनलमा फुकुले भारतकी सुनीवाला देवीलाई हराउँदै स्वर्ण हासिल गरेकी थिइन् । सागमा स्वर्ण जित्नुअघि फुकुले जुडोमा दर्जन बढी पदक हासिल गरेकी थिइन् । राष्ट्रिय प्रतियोगितामा अहिले फुकुलाई हराउने खेलाडी छैनन् ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १८ पुस २०७४ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App