८ वैशाख २०८१ शनिबार
समाज

आजदेखि नारायणगढ-मुग्लिन सडक छ घण्टा बन्द

चितवन– निर्माणाधन नारायणगढ–मुग्लिन सडक आजदेखि रातमा छ घण्टा बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले दिएको जानकारीअनुसार राति १० बजेदेखि बिहानपख चार बजेसम्म सो सडक खण्डमा कुनै पनि गाडी चल्ने छैनन् । यो समयमा पहाड काट्ने लगायतका गर्न मिल्ने कामहरु ठेकेदारहरुले गर्नुपर्ने हुन्छ ।

‘कालोपत्रे लगायतका कामहरु दिउँसोमा गर्ने र पहाड काट्ने लगायतका ठूला कामहरु रातमा गर्ने सहमति अनुसार आजबाट राति १० बजेदेखि छ घण्टा बाटो पूर्णरुपमा बन्द हुनेछ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । दिउँसो पनि आशिंकरूपमा सडक बन्द हुन सक्ने अवस्था रहनेछ ।

‘कालोपत्रे गर्दा गाडी पूरै रोक्नुपर्ने आवश्यकता देखिएन । एकतर्फीरूपमा गाडी बन्द गरेर कालोपत्रे गर्न सकिने सम्भावना छ । त्यसैले दिउँसो पनि केहीबेर गाडी रोकिन सक्ने छन्,’ सूचना अधिकारी खनालले भने । राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग रहेको सो सडक खण्ड हुँदै दैनिक १० हजारको हाराहारीमा गाडी ओहर दोहर गर्छन् ।

यात्रु बोकेका गाडी मात्र नभएर राजधानीलाई आवश्यक हुने खाद्यन्न, इन्धनलगायतका हर प्रकारका आवश्यक वस्तु बोकेका ठूला मालबाहक ट्रक, कन्टेनरहरु गुड्ने मिल्ने फराकिलो सडक हालसम्म योबाहेक अन्य छैनन् । त्यसैले यो सडकलाई राजधानीको जिवन रेखा अर्थात लाइफलाईन भन्ने गरिन्छ । सन् २०१५ को अप्रिलमा सम्झौता भएर विस्तारको काम सुरु भएको सो सडक खण्डमा रफ्तारमा काम हुन सकेको छैन ।

सम्झौताअनुसार सन् २०१७ को अप्रिलमै काम सकिनुपर्ने थियो । तर अहिलेसम्म जम्मा ६८ प्रतिशतको हाराहारीमा काम सकिएको छ । सडक आयोजनाका अनुसार आज रातिदेखि नारायणगढ तर्फबाट जाँदै गरेका गाडीहरुलाई १० बजेपछि ट्रक हुन् भने रामनगर भतेरी जंगल वा अन्य अनुकूल स्थानमा र यात्रु बसहरुलाई जुगेडी दासखोला पुल वा अन्य अनुकूल स्थानमा रोकिने सूचना अधिकारी बनालले बताए ।

त्यस्तै काठमाडौंबाट आउँदै गरेकामध्ये यात्रु बस र अन्य साना गाडीलाई मुग्लिन बजार र पोखराबाट आउनेहरुलाई बेनीटारमा राति १० बजे रोकेर बिहानपख चार बजे छाडिनेछ । त्यस्तै काठमाडौंबाट आउने मालबाहक गाडीहरुलाई लेबरटारमा र पोखराबाट आउनेलाई खैरहनीमा रोकिने व्यवस्था मिलाएको आयोजनाले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । हालः साढे पाँच मिटर चौडा सो सडक विस्तारको काम सकिएपछि नौदेखि ११ मिटर फराकिलो हुनेछ । तर विस्तारको काम चाडै नसकिँदा र यातायात सञ्चालन व्यवस्थित न हुँदा ३६ किलो मिटर लम्बाइको सो सडक पार गर्न घण्टौं लाग्ने गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सो सडक हुँदै गुड्ने गाडीहरुले सकेसम्म अन्य वैकल्पिक बाटो अपनाउन उपयुक्त हुने सुझाव दिएको छ । ठूला यात्रु बस र मालबाहक ट्रक कन्टेनरहरुबाहेक अन्य साना र मझौला यात्रु बसहरु सिन्धुली हुँदै वीपी राजमार्ग प्रयोग गरेर पूर्व निस्कन सक्नेछन् । त्यस्तै धादिङ नौबिसे हुँदै त्रिभुवन राजपथ र फर्पिङ हुँदै हेटौंडा निस्कने विकल्प पनि छ ।

पश्चिम जाने गाडीहरु मुग्लिनबाट पृथ्वीराजमार्ग हुँदै पोखरा पुगेर सिद्धार्थ राजमार्गको स्याङ्जा पाल्पा हुँदै बुटवल निस्कने विकल्प पनि छ । तर यो विकल्प दूरी र बाटोको अवस्थाका हिसाबले खासै राम्रो भने नभएको भुक्तभोगीहरु बताउँछन् । मुग्लिन–नारायणगढ बाटो समयमै नबन्दा बाटोमा हुने घण्टां जामको पीडाका साथै पहिरोको जोखिम पनि छ । वर्षामा मात्रै नभएर सुख्खा याममा पनि पहिरो गएर यात्रुको ज्यान गएको छ ।

प्रकाशित: १८ पुस २०७४ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App