coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

काठमाडौं- वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।

सरकारले उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गठित छानबिन समितिले स्थलगत अनुसन्धान गरेर यस्तो निचोड सार्वजनिक गरेको हो ।

ग्यास उद्योगमा दमकलबाटै आगलागी हुँदा तीन जनाको ज्यान जानुका साथै करिब आठ करोड रुपैयाँको क्षति भएको थियो ।


पुस ५ गते उद्योगमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको थियो । आगोले जलेर करिब आठ करोड रुपैयाँको क्षति भएको थियो । उद्योगका चारवटा बुलेट, प्लान्ट, दुईवटा ट्रक, सिलिन्डरमा क्षति पुगेको थियो ।
अपरेटरको उपस्थितिबिना नै प्राविधिक ज्ञान नभएका बुलेटका ड्राइभरले ग्यास अनलोड गर्दा दुर्घटना भएको छानबिन समितिका संयोजक दाहालले बताए । ‘ग्यासजस्तो प्रज्वलनशील वस्तु अनलोड गर्दा अपरेटर पनि छैन,’ दाहालले नागरिकसँग भने, ‘उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले सुरक्षा नअपनाउँदा ठूलो दुर्घटना भयो ।’
ड्राइभरले स्टोरेज (भण्डारण) प्लान्टमा जाने पाइप जोडे पनि स्टोरेज ट्यांकको भल्ब नखोली बुलेटको कनेक्सन खोलेर छाडेपछि ग्यास लिकेज (चुहावट) भएको अनुसन्धान टोलीले जनाएको छ । छानबिन टोली स्थलगत अध्ययन गरेर राजधानी फर्किएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ग्यास लिएर आएको बुलेटबाट ड्राइभरले सुपर ग्यासको प्लान्टमा ग्यास अनलोड गर्दा लिकेज भएर ग्यास फैलिएपछि आगो लागेको थियो ।
बुलेटबाट ग्यास लिकेज भएर उद्योग परिसरमा फैलिएपछि त्यहाँ पुगेको दमकलको साइलेन्सर पाइपबाट निस्केको झिल्कोले ग्यासमा टिपेको पाइएको छ । ‘१७ टन ग्यास लिकेज हुँदा पनि केही थाहा नपाउने कस्तो उद्योग व्यवस्थापन हो ?’ दाहालले प्रतिप्रश्न गर्दै भने, ‘सबै उद्योगले यस्तै लापरबाही गर्ने हो भने भयावह अवस्था आउँछ ।’
पुस ५ गते उद्योगमा बिहान साढे ५ बजेतिरबाट ग्यास लिकेज भए पनि साढे ६ बजेमात्र दमकल पुगेको दाहालले बताए । ‘दमकलबाट आगो सुरु भए पनि मुख्य दोष ग्यास अनलोडमै भएको हो,’ दाहालले भने, ‘एक सय मिटरसम्म ग्यास फैलिएको रहेछ । त्यसबाटै आगलागी सुरु भयो ।’
बुलेटमा भएका प्रायः सबै ग्यास लिकेज भएर सहतमा फैलिएपछि  उद्योगका सुरक्षा गार्डले थाहा पाएका थिए । उद्योग परिसरको तल्लो तहमा ग्यास फैलिएपछि आगलागी हुन सक्ने भन्दै  प्रहरी र दमकललाई खबर गरेका थिए । त्यसपछि उद्योगमा दमकल पुगेको थियो ।
उद्योगका कर्मचारीले प्रहरी र सर्वसाधारणलाई तीन सय मिटर टाढै बस्न भने पनि दमकमल सीधै गेटतर्फ जाँदा आगो लागेको छानबिन समितिको ठहर छ । समितिले केही दिनमा सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ । समितिले ग्यास उद्योगहरुलाई मापदण्ड तोकेर कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिने तयारी गरेको छ ।
चालकलाई प्राविधिक ज्ञान नहुँदा तीन सय मिटरको दुरीमा बस्नुपर्नेमा दमकल उद्योगको गेटनजिकै पुगेपछि एक्कासि आगलागी सुरु भएको भेटिएको छ । ‘दमकल टाढै बसेको भए पनि आगो लाग्ने रहेनछ,’ नेपाल आयल निगम एलपिजी विभागका निर्देशक दीपक बरालले भने, ‘दमकल चालकको अज्ञानता र असावधानीले उद्योगमा फैलिएको ग्यासमा आगो टिप्यो ।’
व्यवस्थापकीय कमजोरी भएको सुपर ग्यासका मेनेजर दिवाकर झाले पनि स्वीकार गरे । ‘हाम्रो अपरेटरको उपस्थितिबिना नै ड्राइभरले पाइप जोडेर खोल्दा दुर्घटना भएको हो,’ झाले भने, ‘ड्राइभरले हामीलाई पनि जानकारी नदिई ग्यास खनाउन खोजेछ ।’ बुलेटका चालक भने फरार छन् । ‘नौ बजे अपरेटर आएपछि अनलोड गर्ने सेड्युल थियो,’ झाले भने, ‘ड्राइभरले एकाबिहानै प्लान्टमा जोडेर बदमासी गरेछ ।’ उद्योग सञ्चालकले यस्तो बताए पनि अन्य उद्योगमा पनि अपरेटर नभएपछि ड्राइभरले प्लान्टमा ग्यास खन्याउने गरेका छन् । बुलेटका चालकले उद्योगको अपरेटरलाई पनि जानकारी नै नदिई बुलेटबाट प्लान्टमा पाइप जोडेको झाले बताए ।
वीरगन्जको दुर्घटनापछि उद्योगहरु थप सचेत भएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘सबै उद्योगलाई कडाइका साथ सुरक्षाका मापदण्ड पूरा गर्न दबाब दिन्छौं,’ भण्डारीले भने, ‘सबै उद्योगमा अनुगमन गर्ने योजना बनाएका छौं ।’
उद्योग परिसरमा पाँच लाख लिटरको पानीपोखरी, पानी तान्ने पम्प, जेनेरेटर, बोटलिङ गर्ने ठाउँमा वाटर स्प्रिंकल, ड्राई केमिकल पाउडर, बालुवा, फायर मोनिटरको व्यवस्था गर्न पनि उद्योगले त्यति चासो दिने गरेका छैनन् ।
नेपालका ग्यास उद्योगहरुले सुरक्षाका मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गरेको भन्दै आलोचना हुँदै आएको छ । ग्यास उद्योग सञ्चालन गर्दा गाउँबस्तीभन्दा पाँच किलोमिटरको दुरीमा हुनुपर्ने कानुनी व्यवस्थालाई बेवास्ता गरेका छन् । नेपालमा ५५ ग्यास प्लान्ट छन् ।
निगमले जारी गरको ‘एलपी ग्यास विनियमावली–२०६५’ (संशोधन सहित) को नियमउपनियम (३) (घ) मा ग्यास उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति दिँदा उद्योग ‘गाउँबस्तीभन्दा पाँच किलोमिटर दुरीमा स्थापना गर्ने’ उल्लेख गरिएको भए पनि उद्योगले यो मापदण्ड पूरा गरेका छैनन् । बोटलिङ प्लान्टको डिजानिङदेखि पूर्वाधार निर्माणमा पनि सावधानी नअपनाएको सरोकारावाला बताउँछन् । अधिकांश उद्योगले सुरक्षाका मापदण्ड पूरा नगरेको नापतौल तथा गुणस्तर विभागले जनाएको छ । हरेक उद्योगमा सम्भावित दुर्घटनाबाट बच्न इमरजेन्सी प्लान हुनुपर्ने भए पनि कुनै योजना छैन ।

 

 

प्रकाशित: १८ पुस २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App